
बितेको वर्ष समग्र राजनीतिमै यति उथलपुथल भइदियो कि पुरानो दल नेपाली कांग्रेसमा भएको पुस्तान्तरण ओझेलमा प¥यो । कांग्रेसमा अकल्पनीय विद्रोहबाट नेतृत्वमा हस्तक्षेप गर्ने नेता हुन्, गगन थापा । कांग्रेसको आन्तरिक किचलो सुल्झिसकेको त छैन, तर कांग्रेसको ठूलो पङ्तीले सभापति थापालाई स्वीकारिसकेको छ ।
२०६२/०६३ को जनआन्दोलनबाट उदाएका नेता हुन्, थापा । यसबीच उनी चार पटक सांसद भए । एकपटक मन्त्री भए । पछिल्लो निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका सभापति थापा पराजित हुन पुगे । तर, राजनीतिको केन्द्रमा जर्बजस्त उदाएका छन् ।
लामो विवाद र तत्कालीन संस्थापन पक्षको बहिस्कारका बीच गत पुस २७ देखि माघ १ गतेसम्म भएको विशेष महाधिवेशनबाट उनी सभापति निर्वाचित भए । भलै, तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष वैधानिकताको दाबी गर्दै अहिले पनि अदालत धाइरहेको छ । तत्कालीन संस्थापन पक्षको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णयसहित प्रतिनिधिसभा निर्वाचनको तयारी गरेका थिए । तर, गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताले बोलाएको विशेष महाधिवेशनमा ५७ प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएर पार्टीको नीति र नेतृत्व दुवै फेरे । विशेष महाधिवेशनबाट पुरानो नेतृत्वलाई एकाएक पाखा लगाएर पार्टीको मूल नेतृत्व आफ्नो हातमा लिएका थापाको राजनीतिक चर्चा चुलियो । उनको यो अभियानले रूपान्तरित कांग्रेस पार्टीप्रति आमरूपमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
कांग्रेसजस्तो लोकतान्त्रिक दलको सभापति बन्न कम्ती चुुनौती थिएन । आफूभन्दा दुई पुस्ता पुराना सबै नेतालाई पाखा लगाएर सभापतिको आसनमा पुगेका थापाले विशेष महाधिवेशन हुनुभन्दा केही समयअघिदेखि भन्दै आएका थिए– ‘म जहाँ उभिएँ, त्यही मेरो समूह हो ।’ विशेष महाधिवेशनमार्फत उनले आफ्नो अभिव्यक्तिलाई पुष्टि नै गरिदिए । यद्यपि उनले पार्टीलाई गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित सफलता दिलाउन सकेनन् । सभापति थापा आफैं सर्लाही ४ बाट रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए । तर पछिल्लो राजनीतिक बजारमा उनको चर्चा बहुत भयो । थापा सकभर पार्टीलाई पहिलो बनाउने, नत्र कम्तीमा गत निर्वाचन सिट ल्याउने विश्वाससहित चुनावमा होमिएका थिए । रास्वपाको लहरले देशव्यापी चुनावी सुनामी ल्याएपछि उनको केही चलेन ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध १ पुस २०६०मा भएको विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेका थापाले २०५९ देखि नै गणतन्त्रको मुद्दा बोकेर राजनीतिमा स्थापित नेता बनेका हुन् ।
२०७८ मंसिरको अन्तिम साता भएको कांग्रेसको १४औं महाधिवेशनमा नेता शेखर कोइराला समूहमा उभिएर महामन्त्री बनेका थापा पछिल्लोपटक आफ्नै समूह बनार सभापति बन्न सफल भए । त्यसबेला कोइराला शेरबहादुर देउवासँग सभापतिमा पराजित भए पनि गगन महामन्त्रीमा करिब ६३ प्रतिशत मत ल्याएर निर्वाचित भएका थिए । उनको त्यो मत कुनै समूह विशेषको नभई आममहाधिवेशन प्रतिनिधिले स्वस्फूर्त दिएको मत थियो । थापा महामन्त्री भएर २०७९को आमनिर्वाचनसम्म ठिकै थियो । संसदीय निर्वाचनमा कोइराला समूहबाट संसदीय दलको नेता उठेका थापाले आफ्नै समूहका सांसदरूबाट समेत धोका पाए । ८८ सिट प्राप्त कांग्रेसमा ३२ सिट रहेको कोइराला समूहका सांसदमध्ये दलको नेतामा गगनलाई २५ जनाले मात्रै भोट हाले भने बाँकी ७ जनाले देउवाकै पक्षमा मतदान गरेका थिए । त्यसपश्चात् नेताहरूबीच विस्तारै सम्बन्ध चिसिँदै जाँदा कोइरालासँगको सम्बन्ध फितलो हुँदै र अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बाक्लिँदै गयो । शर्मासहितको बलमा विशेष महाधिवेशन गराएर पार्टीको मूल नेतृत्वमा पुगेपछि उनको कद उँचो भएको छ ।