२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रवि वेगले ल्याएको पुस्तान्तरण

जो २०८२ भर राष्ट्रिय राजनीतिको केन्द्रमा रहे । उनीहरूकै वरपर राजनीति घुम्यो । उथलपुथल, नयाँ तरंग र पुस्तान्तरणको प्रत्यक्ष–परोक्ष कारण बन्न पुगे । जसले एउटा लयमा हिडेको देशको राजनीतिलाई अर्को लय दिए । सत्तामा रहेकाहरू सडकमा ओर्लिए, अनि सडकमा भएकाहरू सत्तामा पुगे । मध्यान्ह दैनिकको राजनीतिक ब्युरोले राष्ट्रिय जीवनमा खास अर्थ राखेका त्यस्ता पात्रहरूबारे विश्लेषण गरेको छ । र, तयार पारेको छ, राजनीतिका टपटेन व्यक्ति ।

Nada
दिवाकर अधिकारी
२०८२ चैत २७ गते ०६:४०
Shares
रवि वेगले ल्याएको पुस्तान्तरण

काठमाडौं : बिहीबार २६ वर्षीया रुबीकुमारी ठाकुरले उपसभामुख पदमा उम्मेदवार दिइन् । श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद् बनेकी उनी उपसभामुख हुने पक्का भएको छ । किनभने, उनको पक्षमा दुईतिहाइ मत पुग्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने भनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ जना सांसद छन् । बाँकी अन्य दलका सांसद छन् । बिहीबारको यो घटनामा दुईवटा तथ्य भेटिन्छ । 

ncell

पहिलो : रास्वपाको शक्ति 
दोस्रो : उपसभामुखजस्तो पदमा जेनजी उम्मेदवार । 

यी दुवै तथ्य निर्माणकर्ता हुन्– रवि लामिछाने । रास्वपाका संस्थापक लामिछानेको राजनीतिमा बदलाव ल्याउने वेग यति तीव्र भयो कि पार्टी गठनको तीन वर्षमै रास्वपा मुलुकको इतिहासकै शक्तिशाली दल बनेको छ । एकल बहुमतमा दुईतिहाइ नजिकको सरकार बनाएको छ । यो वेगले राजनीतिमा उल्लेखनीय रूपमा पुस्तान्तरण गरिदिएको छ । ३६ वर्षीय बालेन्द्र शाह बालेन प्रधानमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषद्मा पाका भनेकै ५१ वर्षीय स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । व्यवस्थापिकाको नेतृत्वमा पनि ५१ वर्षीय डोलप्रसाद अर्याल आएका छन् भने २६ वर्षीया रुबीकुमारी उपसभामुख बन्दै छिन् । 

अपत्यारिलो लाग्ने यो दृष्य नेपालको संसद्मा देखिँदै छ । जो पछिल्ला केही वर्षहरूमा भएको अद्वितीय परिवर्तनको वास्तविक उदाहरण हो । अद्वितीय परिवर्तनको केन्द्रविन्दु रवि लामिछाने आफैं भने ५० वर्षका छन् ।

सञ्चारकर्ममा रहेका लामिछाने २०७९ असारमा रास्वपा स्थापना गरेर राजनीतिमा आएका छन् । पार्टी गठनको तीन वर्षमै नेपाली राजनीतिमा यो सबैभन्दा ठुलो दल बन्न पुगेको छ । 

२०७९को प्रतिनिधिसभा निर्वाचन रास्वपा प्रतिनिधिसभामा पहिलोपटकमै चौथो दलको रूपमा उदाएको थियो । त्यसबेलै जनताले रास्वपालाई राष्ट्रिय वैधता दिलाएका थिए । त्यसबेला सहरी केन्द्रहरूमा बलियो प्रदर्शन, नयाँ मतदाताको समावेश, र स्थानीय तहमा संगठन विस्तारले पार्टीलाई राष्ट्रिय शक्तिशाली बनायो । जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको गत २१ फागुनको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमतले रास्वपालाई निर्णायक शक्ति बनाएको छ । योसँगै मुलुक रास्वपाकै नेतृत्वमा अगाडि बढिसकेको छ । 

रवि लामिछानेले गत २१ फागुनको निर्वाचनअगाडि युवामाझ लोकप्रिय युवा बालेन्द्र शाह (बालेन)लाई पार्टीमा ल्याए । प्रधानमन्त्रीको उम्मेदवार बनाए । युवा पुस्ताले के चाहेका छन् भनेर बेलैमा ख्याल गर्न सकेका कारण रास्वपाले दुईतिहाइ नजिकको मत पाउन सकेको हो । 

योसँगै राज्य संरचनामा युवापुस्ताको उपस्थिति पनि ह् वात्तै बढेको हो । अर्थात्, रास्वपाको उदय केवल नयाँ दलको सफलतामात्र होइन, राजनीतिमा आएको पुस्तान्तरणको उदाहरण पनि हो । युवा नेतृत्व, प्रत्यक्ष शैली, र डिजिटल प्रयोगले पुराना दलहरूको शैलीलाई चुनौती दिएर उदाएको रास्वपाले राजनीतिक संरचनामा नयाँ शक्ति सन्तुलन सिर्जना गरेको छ । 

समाज सुँघ्ने नेता 

नेपालमा संविधान जारी भएसँगै नागरिकमा अवस्था परिवर्तनको तीव्र आकांक्षा थियो । त्यसअनुसार पुराना दलहरूले काम गर्ने वाचा गरे । तर, व्यवहार त्यस्तो हुन सकेन । बारम्बारको सरकार परिवर्तन, बेथिति, भ्रष्टाचार र संस्थागत कमजोरीका कारण जनतामा निराशा बढ्दै थियो । 

यस्तैमा रवि लामिछाने राजनीतिमा आएका हुन् । युवा, सहरी मध्यमवर्ग, र विदेशबाट फर्किएका नेपालीले परिवर्तन खोजिरहेका थिए । तिनलाई लामिछानेले समेटे । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले राजनीतिमा पुस्तान्तरणको आवश्यकतालाई द्रुत रूपमा फैलाउन सहयोग गर्दै थियो । यस वातावरणमा रास्वपाको उदय भयो । 

रास्वपाको निर्माणमा रविको व्यक्तिगत प्रभाव त निर्णायक छँदै छ, अगाडि बढाउने सन्दर्भमा पनि उनले रणनीतिक कदमहरू चाले । सञ्चारकर्मीको पृष्ठभूमि र जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले उनलाई लोकप्रिय बनायो । उक्त लोकप्रियतालाई उनले राजनीतिमा व्यक्तिगत ब्रान्ड बनाए । लामिछानेको सार्वजनिक छवि, भ्रष्टाचारविरुद्धको दह्रो आवाज, स्पष्ट शैलीले मतदातामा विश्वास निर्माण ग¥यो । यो व्यक्तिगत ब्रान्डले पार्टीको ब्रान्डलाई मजबुत बनायो । रास्वपाको मुख्य आर्कषण नै व्यावहारिक समस्या समाधानमा केन्द्रित छ । भ्रष्टाचार कम गर्ने, प्रशासनिक सुधार गर्ने, र जनसेवा सहज बनाउने मुद्दाले जनताको मत प्रत्यक्ष तानेको छ ।

यसका साथै युवाहरू कता छन् भनेर रास्वपाले त्यसमा नीति केन्द्रित गर्‍यो । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग ग¥यो । जसले रास्वपालाई सीमित स्रोतमै व्यापक प्रचारको मौका दियो । डिजिटल नेटवर्कमार्फत पार्टीले धेरैलाई छिटो पुग्ने तरिका अपनायो । 

साथै, विदेशमा काम गरेर फर्किएका नेपालीहरूले शासन र सेवा प्रवाहमा फरक अनुभव चाहेका थिए । उनीहरू परिवर्तनका लागि रास्वपामा सक्रिय भए । राज्य संस्थाहरू कमजोर हुँदा सुधारवादी एजेन्डाले बल पायो । यसलाई रास्वपाले समायो । योसँगै रास्वपाले इतिहासकै ठुलो अवसर प्राप्त गरेको छ । अब रास्वपाको तीव्र उकालोले निरन्तरता पाउन सक्छ कि सक्दैन भन्ने थाहा पाउन उसको भूमिका कस्तो रहन्छ भनेर हेर्नुपर्छ । 

सम्बन्धित खबर