
जेनजी आन्दोलनअघिसम्म पनि काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह दलीय राजनीतिमा आउने कुनै टुंगो थिएन । प्रशंसकहरूले बालेनलाई प्रधानमन्त्री देख्न चाहेको इच्छा सामाजिक सञ्जालमार्फत पोखिरहेका थिए । २३–२४ भदौको जेनजी आन्दोलनले राष्ट्रिय राजनीतिमा यस्तो उथलपुथल ल्याइदियो, त्यसपछिको राजनीति बालेनको वरिपरि घुमिरहेको छ ।
जेनजी आन्दोलनको अघिल्लो दिन उनले आफ्नो उमेरहदका कारण जान नमिल्ने भन्दै र्यालीप्रति भरपुर समर्थन जनाएका थिए । प्रदर्शन हिंसात्मक भई १९ युवा मारिएपछि उत्तेजक प्रतिक्रिया जनाए । भोलिपल्ट आन्दोलन भड्किएर देशैभर आगजनी, तोडफोड र लुटपाट भयो, बालेनले रोक्न आह्वान गरे । सँगै, संसद् विघटन गर्न र सेना प्रमुखसँग वार्ता गर्न जेनजी आन्दोलनकारीलाई अपिल गरे । उनले भनेझैं जेनजी अगुवाले प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गरे । अर्को दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा अघि सारे । त्यो पनि सदर भयो । उनै कार्कीले प्रतिनिधिसभा विघटन गरिन् । अन्तरिम मन्त्रिपरिषद्मा बालेनले नै चाहेका पात्रहरू मन्त्री भए । यसरी महानगरका एउटा मेयर रातारात राष्ट्रिय राजनीतिको केन्द्रमा पुगे ।
२४ भदौको दिउँसो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका थिए । देशैभर सरकारी कार्यालय आगजनी भइरहेको थियो । नेपाल प्रहरीले प्रदर्शनकारीसँग आत्मसमर्पण गरिसकेको थियो । राज्यविहीनताको त्यो अवस्था सम्हाल्न आन्दोलनकारीले बालेनको खोजी गरे । चाहेको भए उनी त्यतिबेलै प्रधानमन्त्री हुन्थे । तर, उनले जननिर्वाचित कार्यकारीको बाटो रोजे ।
कुनैबेला दलीय राजनीतिप्रति नै घृणा गर्ने बालेन तीव्र गतिमा दलीय राजनीतिमा कुदे । प्रधानमन्त्री बन्ने सर्तमा रास्वपासँग सहमति गरेका उनी ४ माघमा काठमाडौं महानगरको मेयरबाट राजीनामा गरेर चुनावी अभियानका लागि जनकपुर पुगे । ५ माघको जनकपुरसभा उनका लागि मात्र नभई रास्वपाका लागि पनि ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । उनको मैथिली भाषणले सिंगो मधेसमा तरंग ल्याइदियो । पहिलो मधेसी प्रधानमन्त्रीको नाराले सिंगो मधेसलाई बालेनमय बनाइदियो ।
बालेनको चुनावी लहर मधेसमा मात्र सीमित रहेन । मधेसबाट सुरु भएको उनको चुनावी यात्रा पूर्वी पहाडदेखि सुदूरपश्चिमसम्मै लोकप्रिय बन्यो । मधेसको मैथिली भाषण होस् वा सुदूरपहाड पुगेर लेखेको ‘सुदूर अब दूर नहीँ, झिकै–झिकै माया तम्लाई’ जनजिब्रोमा पुगिसकेको थियो । उनलाई भेट्न सबै उमेरका मतदाता पर्खेर बसिरहेका हुन्थे । राष्ट्रिय राजनीतिमा अपूर्व लोकप्रियता पाएका बालेनले चुनावी चुनौती पनि ठुलै उठाएका थिए । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा–५ बाट झन्डै ४८ हजार मतान्तरले चुनाव जित्दै उनले वैकल्पिक राजनीतिलाई मूलप्रवाहीकरण मात्र गरेनन्, संसद्देखि सिंहदरबारसम्म पुस्तान्तरण गरिदिए । त्यस अर्थमा बालेन यस वर्षका सर्वाधिक चर्चित, सफल र लोकप्रिय नेता हुन् ।
मधेस आन्दोलनपछि काठमाडौंमा दबाब बढाएका मधेसकेन्द्रित दलहरू सत्तास्वार्थले अन्ततः पतन हुन पुगे । मधेस आन्दोलनपछि पनि उनीहरू क्षेत्रीय राजनीतिबाट माथि उठ्न सकेनन् । उनीहरूमाथि मधेस–पहाडबीच दूरी राखेरै मधेसीको मत बटुलेको आरोप लाग्यो । अशोक राई र डा. बाबुराम भट्टराईसँग पार्टी एकता गर्दै नेता उपेन्द्र यादवले पहाड उक्लिने कोसिस गरेका पनि हुन् । राजेन्द्र महतोले जनजातिको पनि मुद्दा बोके । तर, पहाडले मधेसका यी नेतालाई पत्याएन ।
ठिकविपरीत महोत्तरीबाट काठमाडौं छिरेको मैथिलीभाषी परिवारबाट बालेन्द्र शाह सुरुमा देशकै सबैभन्दा ठुलो महानगरको मेयर बने । बिनाकुनै राजनीतिक पृष्ठभूमि अति दलीयकरणविरुद्ध स्वतन्त्र उठेका उनलाई आममतदाताले रुचाए । अनि, पूर्व–पश्चिम, मधेस–पहाड, गाउँ–सहर जोडेर देशको प्रधानमन्त्री बने । पुराना दल र नेतृत्वप्रति जुन असन्तुष्टि र आक्रोश नेपाली समाजमा फैलिएको छ, त्यहीबीचबाट नयाँ नायकका रूपमा बालेन उदाएका छन् । गैरराजनीतिक चरित्रको एउटा इन्जिनियर, एउटा र्यापरलाई आमनागरिकले अन्ततः देशको कार्यकारी प्रमुख बनाएका छन् । सिंहदरबारले इतिहासमै पहिलोपटक ३६ वर्षीय युवालाई जननिर्वाचित प्रधानमन्त्रीका रूपमा भित्र्याएको छ ।