
काठमाडौँ : नेपाली कांग्रेससँग सम्बन्धित दुई फरक विवादित विषयहरूमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
पार्टीको आधिकारिकता सम्बन्धी प्रश्न तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको मागसहित दायर दुवै मुद्दा एकै इजलासमा पेसीमा चढेका हुन् ।
सर्वोच्च अदालतको कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा दुवै मुद्दाको सुनुवाइ तोकिएको छ ।
पहिलो मुद्दा निर्वाचन आयोगले गगन थापा नेतृत्वमा भएको भनिएको निर्वाचन प्रक्रियाबाट उत्पन्न निर्णयलाई मान्यता दिने विषयसँग सम्बन्धित छ । आयोगको उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले आधिकारिकता विवाद उठाउँदै रिट निवेदन दायर गरेको थियो ।
त्यस्तै, सोही विवाद न्यायिक प्रक्रियामा रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खोल्ने निर्णयसमेत गरिएको भन्दै अर्को छुट्टै रिट दायर भएको छ । उक्त निवेदन तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबाट पेश गरिएको हो, जसमा महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय स्थगनको माग गरिएको छ ।