
काठमाडौँ : नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पछिल्लो प्रतिनिधि सभा निर्वाचनको परिणामलाई वामपन्थी आन्दोलनका लागि प्रतिकूल भएको मूल्यांकन गरेका छन् । नेकपा संयुक्तको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा प्रस्तुत प्रतिवेदनमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भुसालका अनुसार पार्टीले अपेक्षा गरेभन्दा निकै कम मत प्राप्त गरेको छ, जसले समग्र कम्युनिस्ट धारका दलहरूको अवस्था कमजोर बन्दै गएको संकेत गर्छ । उनले ठूला भनिएका वाम दलहरू सत्ताबाहिर रहन नसक्ने प्रवृत्तिका कारण वर्तमान नतिजा आएको विश्लेषण प्रस्तुत गरेका छन् ।
प्रतिवेदनमा बेरोजगारी, भ्रष्टाचार तथा कुशासनविरुद्ध प्रभावकारी रूपमा उभिन नसक्नुका साथै बिचौलिया र दलाल पुँजीवादी शक्तिसँग नजिकिने प्रवृत्तिप्रति जनस्तरमा असन्तुष्टि बढेको उल्लेख गरिएको छ । यसले कम्युनिस्ट विचारधाराबाट विचलन हुँदै जनसमुदायसँग दूरी बढ्दै गएको निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।
यसैगरी, पछिल्ला राजनीतिक घटनाक्रम, सडक आन्दोलन तथा त्यसपछिका परिस्थितिहरूको समुचित मूल्यांकन नगरी निर्वाचनमा प्रवेश गर्दा अपेक्षित परिणाम हासिल हुन नसकेको प्रतिवेदनमा औँल्याइएको छ । पार्टी पुनर्गठन र सुधारका अवसरसमेत प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको उल्लेख गरिएको छ ।
उम्मेदवार छनोट, आर्थिक व्यवस्थापन तथा प्रचार-प्रसार रणनीतिमा देखिएका कमजोरीहरूलाई पनि हारको कारणका रूपमा प्रतिवेदनले औँल्याएको छ । साथै, संगठनात्मक संरचना निर्माण र परिचालनमा समेत पर्याप्त सक्रियता नदेखिएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
प्रतिवेदनमा वर्तमान सरकारको कार्यसम्पादनप्रति निरन्तर निगरानी र खबरदारी जारी राख्ने नीति लिइने उल्लेख गरिएको छ ।