
रुकुम पश्चिम : नेपाल विद्यार्थी संघ (नेविसंघ) बाँफिकोटले बाँफिकोट गाउँपालिकालाई सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहसमक्ष नेविसंघ बाँफिकोट गाउँपालिका कार्यसमितिले उक्त ज्ञापनपत्र पेश गरेको हो ।
ज्ञापनपत्रमार्फत गाउँपालिकाभित्र रहेका विभिन्न जनजीविकासँग सम्बन्धित समस्याहरू उठाइएको नेविसंघले जनाएको छ । सो अवसरमा स्थानीय मुद्दा र विकाससँग जोडिएका विषयमा विस्तृत छलफल समेत भएको थियो ।
नेविसंघका नेता दिपेन्द्रराज कुसारीका अनुसार शुक्रबार सम्पन्न गाउँसभामा पनि जनताका समस्यासम्बन्धी केही सकारात्मक विषयहरू उठान भएको जानकारी दिए ।
त्यस्तै, गाउँपालिकाभित्र प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेटमार्फत सञ्चालन भइरहेका योजनाहरूको कार्यान्वयन अवस्थाबारे चासो व्यक्त गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम तथा पशु सेवा कार्यालयमा समेत बाख्रा तथा भैंसी पालन कार्यक्रमसँग सम्बन्धित विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको जनाइएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ जिल्ला कार्यसमिति संगठन संयोजक दिपेन्द्रराज कुसारी, नेविसंघ बाँफिकोट गाउँपालिका अध्यक्ष विजय कुसारीलगायतका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।