२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

निर्माणाधीन प्रदेश रंगशालाको काम तीव्र बनाउन मुख्यमन्त्री कँडेलको निर्देशन

Nada
२०८२ चैत २९ गते १३:५१
Shares
निर्माणाधीन प्रदेश रंगशालाको काम तीव्र बनाउन मुख्यमन्त्री कँडेलको निर्देशन

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रंगशालाको काम निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

ncell

प्रदेश खेलकुद विकास परिषद्को बैठकमा बोल्दै उनले रंगशाला निर्माणमा ढिलाइ नगरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई केन्द्रमा राखेर काम अगाडि बढाउन आग्रह गरेका छन् ।

रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बाँकी कार्यलाई समयमै सम्पन्न गरी हस्तान्तरण प्रक्रिया अघि बढाउन निर्माण व्यवसायी र सरोकारवाला पक्षबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले स्वीकृत कार्यतालिका अनुसार निर्माण कार्य सञ्चालन गर्न र बाँकी कामहरू तोकिएको अवधिमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निर्माण कार्यको प्रभावकारी अनुगमन, समन्वय र जिम्मेवार निकायहरूको सक्रियता अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् । साथै, परियोजनाको प्रगति सन्तोषजनक बनाउन सम्बन्धित निकायहरू आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने बताएका छन् ।

रंगशाला सम्पन्न भएपछि प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गर्दै उनले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । खेलाडीको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण व्यवस्था, आवश्यक पूर्वाधार निर्माण र प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्न निर्देशन दिइएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीलाई प्राथमिकतामा राख्न उनले सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

यसैबीच, कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेल पूर्वाधार विकासका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न पनि निर्देशन दिइएको छ । हाल बजेट तयारीको चरणमा रहेकाले खेलकुदसम्बन्धी योजनाहरूलाई प्राथमिकतासहित समावेश गर्न उनले आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले परिषदबाट अनुमोदन भएका कार्यक्रम मात्रै कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारेका छन् । साथै, कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषयलाई चालु र आगामी आर्थिक वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
 

सम्बन्धित खबर