२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमालेबाट निर्वाचित देवाहीगोनाहीका मेयर साह आजपामा प्रवेश

Nada
२०८२ चैत २९ गते २१:०२
Shares
एमालेबाट निर्वाचित देवाहीगोनाहीका मेयर साह आजपामा प्रवेश

रौतहट : रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह नेकपा एमाले परित्याग गरी आम जनता पार्टीमा प्रवेश गरेका छन् । आइतबार नगरपालिकाको केन्द्र देवाहीगोनाहीमा आयोजित एक विशेष कार्यक्रमकाबीच मेयर साहले आफ्नो दलबलसहित आजपाको सदस्यता लिएका हुन् । 

ncell

मेयर साहसँगै नेकपा एमालेबाट निर्वाचित अन्य जनप्रतिनिधिहरू पनि आजपामा समाहित भएका छन् । जसमा वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेल र वडा नम्बर ९ का वडाध्यक्ष वीरबहादुर साह लगायतका प्रभावशाली नेता तथा कार्यकर्ताहरू रहेका छन् । 

नवप्रवेशी जनप्रतिनिधिहरूलाई आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर र माला लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा बोल्दै अध्यक्ष साहले मुलुकको विद्यमान राजनीतिक अवस्था र जनताका आधारभूत समस्या समाधानका लागि आजपाले चालेको कदममा साथ दिन आएका जनप्रतिनिधिहरूको निर्णयको प्रशंसा गरे । उनले पार्टीले उठाएका एजेन्डाहरू प्रति जनताको आकर्षण बढ्दै गएको दाबी समेत गरे । पछिल्लो समय आजपा अध्यक्ष प्रभु साह जिल्लाका विभिन्न गाउँगाउँमा पुगेर जनताका समस्या स्थानीय विकासका अवरोध र मुलुकको समसामयिक राजनीतिक बिषयमा प्रत्यक्ष छलफलमा जुटिरहेका छन् ।

सोही अभियानको क्रममा देवाहीगोनाही पुगेका अध्यक्ष साहले स्थानीयबासीका पीरमर्का बुझ्दै पार्टी विस्तारलाई तीव्रता दिएका हुन् । एमालेबाट निर्वाचित स्थानीय तहका मुख्य नेतृत्वनै आजपामा प्रवेश गरेपछि रौतहटको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । निर्वाचित मेयर र वडाध्यक्षहरूले पार्टी परिवर्तन गरेसँगै स्थानीय तहको शक्ति सन्तुलनमा पनि फेरबदल आउने संकेत देखिएको छ ।

कार्यक्रममा बोल्दै मेयर प्रेमलाल साहले जनताको सेवा र स्थानीय विकासका लागि आजपाको नीति र नेतृत्वसँग सहकार्य गर्न आफूहरू उत्साहित रहेको बताए। कार्यक्रममा आजपाका अन्य जिल्लास्तरीय नेता तथा स्थानीय कार्यकर्ताहरूको ठुलो उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर