
काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र मुलुकको गरिबी दर उल्लेख्य रूपमा घटाउने लक्ष्यसहित नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ ।
विभिन्न राजनीतिक दलका घोषणापत्रका साझा प्राथमिकतामा आधारित राष्ट्रिय प्रतिबद्धतामा गरिबी दरलाई हालको अवस्थाबाट आधा घटाउँदै करिब १० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको हो ।
हाल करिब २०.२७ प्रतिशत रहेको गरिबी दरलाई घटाउन निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच समन्वयात्मक तथा परिपूरक विकासको ढाँचा अपनाइने उल्लेख गरिएको छ ।
यसमार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै बहुआयामिक गरिबी घटाउने रणनीति अघि सारिएको छ ।
प्रतिबद्धतामा आर्थिक सूचक सुधारतर्फ पनि लक्ष्य निर्धारण गरिएको छ । आगामी पाँच वर्षमा औसत सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति आयलाई तीन हजार अमेरिकी डलरको हाराहारीमा पुर्याउने तथा कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर नजिक पुर्याउने उद्देश्य लिइएको छ ।