२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अवैधानिक समितिले स्पष्टीकरण सोध्ने निर्णय गर्नु हास्यास्पद र अर्थहीन : पूर्णबहादुर खड्का

Nada
२०८३ वैशाख २ गते १५:४०
Shares
अवैधानिक समितिले स्पष्टीकरण सोध्ने निर्णय गर्नु हास्यास्पद र अर्थहीन : पूर्णबहादुर खड्का

काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद र अर्थहीन बताएका छन् ।

ncell

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

खड्काले आफूले सक्कली लेटरहेड नै प्रयोग गरेको दाबी गर्दै उक्त निर्णयको औचित्यमाथि प्रश्न उठाए । उनले आफूले विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित कार्यसमितिलाई अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको स्मरण गराए ।

खड्काले भने, “अवैधानिक महाधिवेशनबाट बनेका संरचनाले स्पष्टीकरण सोध्ने निर्णय गर्नु निरर्थक, हास्यास्पद र अर्थहीन छ।”

उनका अनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णयअनुसार आफूलाई कार्यवाहक सभापतिको हैसियतमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने अख्तियारी दिइएको थियो । सोही आधारमा उनले विशेष महाधिवेशन संविधान, प्रचलित कानुन, राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधानविपरीत भएको जिकिर गर्दै अदालत पुगेको बताए ।

खड्काले उक्त विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा आफूले कार्यवाहक सभापतिको हैसियतमा गतिविधि जारी राखेको स्पष्ट पारे । साथै, अवैधानिक ठानेकै संरचनाबाट जारी टिकट लिएर निर्वाचनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने ठहर गर्दै आफू प्रतिनिधिसभा निर्वाचनमा नउत्रिएको उल्लेख गरे ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । तर तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी भएको थिएन ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको निर्णयविरुद्ध देउवा र खड्का सर्वोच्च अदालत पुगेका छन्, जहाँ मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

यता, खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक–पटक विज्ञप्ति जारी गर्दै आएपछि विशेष महाधिवेशनबाट बनेको कार्यसमिति असन्तुष्ट रहेको छ । यसअघि पनि अनुशासन समितिले उनलाई सचेत गराएको थियो । चैत ३० गते पुनः विज्ञप्ति जारी गरेपछि समितिले पुनः छलफल गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर