२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

१० विषयगत संसदीय समितिका सभापति निर्विरोध

दुई वटामा रास्वपासहित नेकपा र एमालेको पनि उम्मेदवारी

Nada
२०८३ वैशाख ३ गते १६:५१
Shares
१० विषयगत संसदीय समितिका सभापति निर्विरोध

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति निर्विरोध भएका छन् ।

ncell

बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको मनोनयनमा १० समितिमा एकल उम्मेदवारी परेपछि ती समितिका सभापति निर्विरोध भएका हुन् । सम्बन्धित समितिहरूको आगामी बैठकले औपचारिक रूपमा उनीहरूलाई सभापतिमा निर्विरोध घोषणा गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभाका ९ र संयुक्त १ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने र सार्वजनिक लेखा समिति सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।

रास्वपाबाट निर्विरोध हुनेहरूमा कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी रहेका छन् । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि निर्विरोध भएका छन् ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको नेतृत्व रास्वपाका बोधनारायण श्रेष्ठले सम्हाल्ने भएका छन् । सार्वजनिक लेखा समितिको सभापतिमा भने नेपाली कांग्रेसका भरतबहादुर खड्काको एकल उम्मेदवारी परेको छ, जसलाई रास्वपाले समेत समर्थन जनाएको छ ।

यद्यपि, सबै समितिमा निर्विरोध अवस्था भने बनेको छैन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाका ओजस्वी शेरचन र नेकपा एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ, जहाँ बराललाई कांग्रेसको समर्थन छ ।

त्यसैगरी, संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा पनि दुई उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र रास्वपाका गणेश कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित खबर