२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

डढेलोबाट वन जोगाउन रातभर गस्तीदेखि ड्रोनबाट निगरानी

Nada
सूर्यप्रसाद भुसाल
२०८३ वैशाख ९ गते २२:२६
Shares
डढेलोबाट वन जोगाउन रातभर गस्तीदेखि ड्रोनबाट निगरानी

अर्घाखाँची : गर्मी यामसँगै बढ्दो डढेलो जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँचीमा वन जोगाउन व्यापक तयारी थालिएको छ । डिभिजन वन कार्यालयसहित जिल्लाका सबै सरकारी निकाय, स्थानीय तह र सरोकारवाला संस्थाहरू संयुक्त रूपमा डढेलो नियन्त्रण तथा रोकथाममा जुटेका छन् । 

ncell

डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर डिभिजन वन अधिकृत नारायण देव भट्टराईका अनुसार वन क्षेत्रमा डढेलो फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।

‘हाल ड्रोन क्यामेरामार्फत निगरानी गरिरहेका छौं, साथै जनचेतनामूलक सन्देश दुई लाखभन्दा बढी नागरिकसम्म पु¥याइसकेका छौं,’उनले भने । 

डढेलो नियन्त्रणका लागि पातपतिङ्गर हटाउने मेसिन प्रयोगमा ल्याइएको, मिनी दमकल तयारी अवस्थामा राखिएको तथा वन क्षेत्रमा रहेका सडकहरूलाई अग्नि नियन्त्रण रेखाका रूपमा प्रयोग गर्दै सरसफाइ अभियान तीव्र पारिएको छ ।

यसैबीच, डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ भने सामुदायिक वन उपभोक्ता समूहहरूले पनि वन हेरालु तथा स्वयंसेवक परिचालन गरेका छन् ।  तालिमप्राप्त जनशक्तिलाई अधिकतम उपयोग गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शस्त्र प्रहरी, नेपाली सेना र ६ वटै स्थानीय तहबीच समन्वय गरी डढेलो नियन्त्रण कार्यलाई प्रभावकारी बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार डढेलो लागेको स्थानमा तत्काल दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेशमा आगलागी प्रमुख प्राकृतिक विपत्तिको रूपमा रहेको छ । वन क्षेत्रमा हुने आगलागीका कारण बर्सेनि वन, वन्यजन्तु तथा जैविक विविधतामा ठूलो क्षति पुग्ने गरेको छ । मानवीय लापरवाही, चट्याङ, सुख्खा मौसम तथा अन्य प्राकृतिक कारणले डढेलो फैलिने गरेको वन अधिकारीहरूले बताएका छन् । 

डढेलोबाट वन जोगाउन सम्बन्धित निकायहरूले संयुक्त प्रयास तीव्र बनाउँदै जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई प्राथमिकतामा राखेका छन् । 

ताजा खबर

सम्बन्धित खबर