२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्धन कार्यक्रम’ सम्पन्न

Nada
भरत प्रधान
२०८३ वैशाख १५ गते २०:४७
Shares
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्धन कार्यक्रम’ सम्पन्न

लिस्बन : स्पेनको बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवर्धन कार्यक्रम’ सम्पन्न भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागको सहकार्यमा आइतबार ‘नेपाल पर्यटन प्रवर्धन कार्यक्रम’ सम्पन्न भएको हो । 

ncell

विश्वप्रसिद्ध पर्यटकीय स्थल ‘साग्राडा फ्यामिलिया’ परिसरमा आयोजित कार्यक्रममा नेपाली झन्डा फहराउँदै दौरा–सुरुवाल, ढाका टोपी तथा भादगाउँले टोपीमा सजिएका नेपालीहरूले मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए ।

यस्तै चौबन्दी चोलो, गुन्यु–फरिया, हाकु पटासी, घलेक लगायतका नेपाली परम्परागत भेषभुषाका साथ नौगेडी, शिरफूल, तिलहरी, झुम्का र बुलाँकीजस्ता गहनामा सजिएका नेपालीहरूले नेपाली संस्कृति र पहिचान प्रस्तुत गरेका थिए । नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरूले मौलिक गीत–संगीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै स्पेनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पुरक अधिकारीले नेपाली समुदायबीचको एकता र सांस्कृतिक पहिचान संरक्षणको आवश्यकता औंल्याए । थोरै संख्यामा रहेको नेपाली समुदाय पछिल्लो समय ठुलो संख्यामा विस्तार भएको उल्लेख गर्दै उनले अब नेपाली समुदायबीचको एकता अझ आवश्यक रहेको बताए । क्याटालोनिया संसद्का सदस्य अर्नेस्टो क्यारियन साब्लिचले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता, सद्भाव र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले आप्रवासी नेपालीहरूको हितका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनको कामना गरे ।

मञ्चका अध्यक्ष विशाल ढुंगानाले कार्यक्रमले विश्वमाझ नेपाली कला, संस्कृति र पहिचानको प्रचार–प्रसार गरेको बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी सबै संघ–संस्था, नेपाल पर्यटन बोर्ड, नेपाली राजदूतावास परिवार, कलाकार तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र एकताको अपेक्षा गरे । 

मञ्चका युरोप उपाध्यक्ष एवं संगठन विभाग प्रमुख गंगा भुसालले प्रवासी नेपालीहरूको सक्रियताले नेपालको पर्यटन विकासमा योगदान पुगेको उल्लेख गरे । मञ्चका महासचिव धिरज शर्माले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए । सल्लाहकार दिनेश गिरीले कार्यक्रमले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए ।

मञ्चले सन् २०१७ देखि नयाँ वर्ष तथा दशैं–तिहारका अवसरमा वर्षमा दुई पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने ब्रोसर तथा सूचना केन्द्रसमेत राखिएको थियो । कार्यक्रममा तमु समाज, मगर समाज, मोना स्पेन, तामाङ समाज, नेवार समाज तथा नेपाली पाठशाला परिवारले आ–आफ्नो भेषभूषासहित सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रममा नेवारी कुमारीको उपस्थिति विशेष आकर्षणको केन्द्र बनेको थियो ।

सो अवसरमा नेपालीहरूको हक–हित र श्रम शोषणविरुद्धको अभियान तथा रोजगारी प्रवर्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरू मञ्चका उपाध्यक्ष केशवराज कँडेल, नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसरबहादुर थापा र सोनल पुनलाई विशेष सम्मान गरिएको थियो । 

कार्यक्रमका संयोजक गोविन्द अधिकारी, सल्लाहकार संयोजक कृष्णहरि कँडेल तथा संरक्षक श्यामप्रसाद खनालको संयोजनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्पेनवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम नेपाली जनप्रगतिशील मञ्चका संरक्षक तथा युरोप सचिव अर्जुन आचार्य र कलाकार समी गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर