
काठमाडौं : सानोठिमी भक्तपुरका जीवन सिंह हरेक बिहान ६ बजे पशुपतिनाथ मन्दिरको मुख्यद्वारको सडकमा आइपुग्छन् । उनी दर्शनका लागि होइन, सहयोग माग्नका लागि मन्दिर धाउने गर्छन् ।
काठमाडौं महानगरपालिकाले एक साताअघि सडकमा मागेर गुजारा चलाउनेहरूलाई उद्धार गर्ने अभियान चलाएको थियो । सोही क्रममा जीवनलाई पनि उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको थियो । तर उनी त्यहाँ बस्न मानेनन्, जिद्धी गरेर सडक किनारमै फर्किएर सहयोग माग्न थाले । उनी भन्छन्, ‘आश्रममा एक दिन बसेँ । खाने–बस्ने राम्रो व्यवस्था पनि छैन, फेरि मलाई आश्रममा राखेर छोराछोरीलाई कसले पढाइदिन्छ ? कसले पालनपोषण गर्छ ?
आफू रहरले नभएर बाध्यताले सडकमा माग्न बसेको उनी बताउँछन् । ‘बरु सरकारले लगानी गरिदिए केही व्यापार गर्थें होला, अथवा सीप सिकाइदिए आत्मनिर्भर हुने थिएँ होला,’ उनले भने, ‘लगानी गर्ने पैसा भएको भए यसरी मागेर बस्ने थिइनँ ।’
यस्तै, दृष्टिविहीन दुर्गा गौतमले पनि मागेरै आफ्नो र दुई छोरीको जीवन चलाउँदै आएकी छिन् । उनका दुईमध्ये एक छोरी पनि दृष्टिविहीन नै छिन् । पहिले उनी सडक किनारमा नङकट, काइँयोलगायत सामान बेच्थिन् । ‘जसोतसो घर खर्च चलाउँदै आएकी थिएँ,’ उनले भनिन्, ‘महानगर प्रहरीले उठाएर लगिदियो । त्यसपछि सडकमा माग्न निस्किएँ ।’
सडक किनारमा माग्न बस्दा अपमान महसुस हुने उनी बताउँछिन् । बरु, सिलाइबुनाइको सीप सिकाइदिए व्यवसाय गरेर बस्ने उनको चाहना छ । केही दिनपहिले उनलाई पनि आश्रममा लगिएको थियो । उनी पनि त्यहाँ बस्न मानिनन् । आश्रममा लग्नुभन्दा सीप दिन अनुरोध गरेर आएँ,’ उनी भन्छिन्, ‘परिवारमा कोही नभएकालाई हो आश्रममा लग्ने त, हामी परिवार भएका मान्छे हौं, क्षमताअनुसारको सीप दिनुपर्छ ।’
उनीजस्तै मन्दिरपरिसरमा बस्ने अधिकांश दृष्टिविहीनले क्षमताअनुसार सीप र लगानीको माग गरेका छन् । काठमाडौं महानगरपालिकाले मन्दिर क्षेत्रमा रहेका सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न ‘होल्डिङ सेन्टर’मा लगेको थियो । तर, त्यहाँ नबसेर उनीहरू सडकमै फर्किएका हुन् । यसरी पशुपति मन्दिर क्षेत्रमा माग्न बसेका दृष्टिविहीनको संख्या करिब एक सय हाराहारी छ ।
मागेर जीवन धान्नुु उनीहरूको रहर होइन, बाध्यता हो । मन्दिर क्षेत्रमा हातखुट्टा नचल्ने, अन्य अशक्तता भएकाहरू र वृद्धवृद्धा पनि माग्न बसेका छन् । आइतबार महानगर प्रहरीले उनीहरूलाई त्यहाँ नबस्न अनुरोध गरेको थियो । तर, मागेर बस्नुको विकल्प नभएकको उनीहरू बताउँछन् ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षीहरूलाई राखिएका आश्रम र होल्डिङ सेन्टर पुगेर उनीहरूको अवस्था बुझेकी थिइन् । त्यहाँ उनले पूर्वाधार सुविधा, व्यवस्थापन तथा सहयोगापेक्षीहरूको अपेक्षाबारे जानकारी लिएकी थिइन् । उनले काठमाडौंलाई सहयोगापेक्षीमुक्त बनाउने बताएकी छिन् । काम गर्न सक्ने व्यक्तिले श्रम गरेर जीवनयापन गर्नुपर्ने तर काम गर्न नसक्ने र हेरचाह गर्ने कोही नभएकाहरूलाई महानगरले व्यवस्था गर्ने बताएकी छन् ।
मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार ह्विलचेयर तथा वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको छ । उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखालगायत जिल्लाका रहेका छन् ।
आफन्त भएका र भारतका नागरिकलाई भने सेन्टरमा नराख्ने महानगरको नीति छ । महानगर र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई परिवारसँग सम्पर्क गराइसकेको छ । एक सयको हाराहारीमा रहेका दृष्टिविहीनहरूलाई भने व्यस्थापन गर्न चुनौती देखिएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार, धेरैजसो परिवार भएका सहयोगापेक्षी भएकाले उनीहरूको व्यवस्थापन गर्न काठमाडौं महानगर, पशुपति विकास कोष र दृष्टिविहीनबीच सम्झौता भइसकेको छ ।