
काठमाडौं : भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घर, सडक, पुल र बस्ती बगायो । थुप्रै मानिसको ज्यान गयो भने हजारौं परिवार प्रभावित भए । कसैले आफन्त गुमाए, कोही अझै बेपत्ता छन् । कसैको घर छैन, कसैको जीविकोपार्जनको आधार छैन । केही मिनेटमै बर्सौंको मिहिनेत माटोमा मिसियो । कतिपयले आफ्नै आँखाअगाडि घर, पसल, विद्यालय र आफन्तलाई भेलमा बगेको देखे । भौतिक क्षतिको हिसाब गर्न सकिन्छ, तर मानिसको मनमा परेको क्षतिको हिसाब निकाल्न त्यति सहज छैन ।
बाढी गएको आज १३ दिन भइसकेको छ । मृत्यु भएकाहरूको पहिचान हुन कठिन छ भने बेपत्ताको खोजी गर्न पनि त्यस्तै समस्या देखिएको छ । बाढी गएको १०औं दिनमा दुईजना र ११औं दिनमा दुईजना गरी चारजनाको जीवित उद्धार भएपछि भने बेपत्ता व्यक्तिहरू भेटिने आशा अझै जीवित छ । तर, लामो समयसम्म आफन्तको अवस्थाबारे जानकारी नहुँदा परिवारजनमा चिन्ता र मानसिक तनाव बढ्दै गएको छ ।
परिवार र आफन्त भेटिने आशामा रहेकाहरू पनि बिस्तारै कमजोर हुँदै गइरहेको उनीहरूको विचारबाट प्रस्ट हुन्छ । आफन्तलाई आँखैअघि गुमाउनुको पीडा त छँदै छ, त्योभन्दा ठुलो मानसिक पीडा बाँचेकाहरूले भोग्नुपरेको छ ।
भोटेकोशी बाढीले नदीतटीय क्षेत्र तहसनहस बनाइरहेका बेला ९७ वर्षीया गुणमाया बोहरा देवीघाटस्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रमबाट बेपत्ता भएकी थिइन् । नेपाली सेना र नेपाल प्रहरीले उनलाई बेपत्ता भएको केही दिनमा उद्धार गरेको थियो । उमेरले ९७ वर्ष भए पनि उनलाई कुनै स्वास्थ्य समस्या थिएन । तर बाढीले बेपत्ता बनाएपछि भने उनमा मानसिक समस्या देखिएको चिकित्सकहरू बताउँछन् ।
८ वर्षमा विवाह, १६ वर्षमा विधवा भएर एकल जीवन बिताइरहेकी गुणमाया बोहरा ९७ वर्षसम्म तन्दुरुस्त थिइन् तर १० गतेको बाढीले उनलाई मानसिक आघात पु¥यायो ।
बाढीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरबाट सार्वजनिक भएका केही दृश्यमा मानिसहरू आत्तिएको र डराएको देखिन्छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित देखिएका छन् ।
उद्धारपछि सार्वजनिक भएको एउटा भिडियोमा एक बालकले आफ्नो अभिभावकबिना केही पनि नखाने भन्दै जिद्दी गरेको देखिन्छ । लामो समयसम्म उसले जिद्दी गरेपछि छेउका मानिसहरूले ‘ममी बजार जानुभएको छ, अहिले आउनुहुन्छ’ भन्दै सम्झाउने प्रयास गरेका थिए ।
बालबालिकाहरू अभिभावकको मामिलामा अत्यन्तै संवेदनशील हुने समाजशास्त्री किरण पन्थी बताउँछिन् । ‘केही समय उसलाई फकाउन सकिएला, तर उसले लामो समयसम्म पनि पर्खिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘ऊ हुर्किंदै जाँदा पनि अरू आफन्त वा परिवार गुमाउने चिन्ता उसको मनमा बसेको हुन्छ, जसले उसलाई गहिरो मानसिक पीडा दिन्छ ।’ विपद्का बेला अभिभावकबाट छुट्टिनु, घर तथा परिचित वातावरण गुमाउनु र मृत्यु तथा विनाश देख्नुले बालबालिकामा डर, चिन्ता र असुरक्षाको भावना बढाउने उनको भनाइ छ ।
पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीका अनुसार घरबारविहीन हुनु, आफन्त गुमाउनु, घाइते भएर बाँच्नु र फेरि विपद् दोहोरिने डरले मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । कसैमा सामान्य तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुनसक्ने उनको भनाइ छ ।
मनोचिकित्सक डा. ईश्वरी खनालले पनि राहत र उद्धारसँगै मनोसामाजिक परामर्श आवश्यक रहेको बताएका छन् । सामान्य समस्या भएकालाई मनोसामाजिक परामर्श र गम्भीर लक्षण देखिएकालाई विशेषज्ञ उपचार आवश्यक हुने उनको भनाइ छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरू अहिले तत्काल बाँच्नेमै केन्द्रित रहेको मनोविद् वासु आचार्य बताउँछन् ।
आफन्तको खोजी, परिवारको सुरक्षा र तत्काल आवश्यक पर्ने खाना, पानी तथा बासको व्यवस्थामै ध्यान केन्द्रित भएकाले घर–परिवार गुमाएकाहरू अहिले भविष्यबारे सोच्न वा आफ्ना भावनाबारे कुरा गर्नसमेत नसक्ने अवस्थामा रहेको उनको भनाइ छ । ‘बाढीले घर र सम्पत्ति मात्रै होइन, मानिसको गाउँ, संस्कृति, सामाजिक सम्बन्ध र पुरानो जीवनशैलीसमेत भत्काएको छ,’ आचार्य भन्छन् ।
आचार्यका अनुसार प्रभावितहरूमा शोकसँगै आफ्नो गाउँ फेरि पहिलेकै अवस्थामा फर्किन्छ कि फर्किंदैन भन्ने अन्योल र चिन्ता देखिएको छ । ‘बालबालिका बढी संवेदनशील देखिएका छन् । आमाबाबु वा आफन्त गुमाएका बालबालिकामा डर, चिन्ता, रुवाइ तथा भविष्यप्रतिको चिन्ता देखिन सक्छ,’ उनी भन्छन्, ‘कतिपयमा घटनाका लागि आफू जिम्मेवार भएको जस्तो दोषबोधसमेत उत्पन्न हुन सक्छ । ज्येष्ठ नागरिक भने आफ्नो पीडालाई भाग्य वा नियतिसँग जोडेर स्वीकार गर्ने प्रयास गरिरहेका छन् ।’
विपद्को मनोवैज्ञानिक असर सबैमा एउटै हुँदैन । भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढी देखेका बालबालिकामा डर र चिन्ता बढेको विवरण अन्तर्राष्ट्रिय संस्थाहरूले पनि दिएका छन् । केही बालबालिकाले आफ्ना साथीहरू बोकेका विद्यालय बस बगेको, घर डुबेको र आफ्ना सामान तथा परिचित संसार नै पानीले बगाएको देखेका छन् । मनोचिकित्सकहरूका अनुसार प्रभावितहरूलाई पहिले सुरक्षित महसुस गराउने, सुन्ने र आवश्यक परेको अवस्थामा विशेषज्ञ सेवासम्म जोड्नुपर्छ । भोटेकोशी बाढीपछि संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन र स्थानीय तह उद्धार, खोज तथा राहतमा केन्द्रित छन् ।
बाढीपीडितलाई मनोसामाजिक परामर्श सेवा
भोटेकोशी बाढीपछि विस्थापित पीडितहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्था सामान्य बनाउन सरकारले तीव्र रूपमा परामर्श सेवा सञ्चालन गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आपत्कालीन तथा विपद् व्यवस्थापन केन्द्रका अनुसार विभिन्न संघसंस्था र चिकित्सकको सहकार्यमा सञ्चालित परामर्श केन्द्रबाट हालसम्म ६ हजार २६८ जनाले मनोसामाजिक सेवा लिएका छन् । तीमध्ये ३ हजार ८१३ जनाले ‘साइकोलोजिकल फस्र्ट एड’ तथा एमएचपिएसएस सेवा पाएका छन् ।
प्रभावित क्षेत्रमा १५० जना विशेषज्ञ जनशक्ति परिचालन गरिएको छ । २४ घण्टा सञ्चालन हुने हेल्पलाइनमा हालसम्म ८१ वटा परामर्श कल आएको र आवश्यक सहयोग प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
होल्डिङ सेन्टरसहित प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको सेवामा विश्व स्वास्थ्य संगठन, युनिसेफ, टिपिओ नेपाल, सिएमसी नेपाल, नेपाल रेडक्रस सोसाइटी, कोसिस, सिडब्लुआइएनलगायत १४ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले सहकार्य गरिरहेका छन् ।