
रौतहट : उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणलाई ध्यानमा राख्दै रौतहटमा सञ्चालित मासु पसल तथा मासुजन्य उद्योगको आकस्मिक अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा शनिबार जिल्लाका प्रमुख बजार तथा ग्रामीण क्षेत्रका मासु पसलमा संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, पशु क्वारेन्टाइन कार्यालय, स्थानीय तहका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी थिए ।
टोलीले मासुको गुणस्तर, भण्डारणको अवस्था, पसल तथा उद्योग परिसरको सरसफाइ र व्यवसायीले पालना गर्नुपर्ने कानुनी तथा स्वास्थ्यसम्बन्धी मापदण्डबारे निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा व्यवसायीलाई मासु बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउन निर्देशन दिइएको छ । त्यस्तै, पसल तथा उद्योग परिसर स्वच्छ, व्यवस्थित र दुर्गन्धरहित राख्न आग्रह गरिएको छ ।

पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण गराउन तथा सरकारले तोकेको स्वास्थ्य र सरसफाइसम्बन्धी मापदण्ड पूरा गरेर मात्रै मासु बिक्री–वितरण गर्न व्यवसायीलाई सचेत गराइएको छ ।
अनुगमन टोलीका अनुसार अस्वस्थकर तथा मापदण्डविपरीत मासु बिक्री–वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको हो ।
नियम उल्लङ्घन गर्ने व्यवसायीलाई पहिलो चरणमा सचेत गराइएको छ । आगामी दिनमा पनि मापदण्ड पालना नगरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी टोलीले दिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार व्यवस्थापनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । प्रशासनले व्यवसायीलाई स्वच्छ, ताजा र गुणस्तरीय मासु मात्रै बिक्री–वितरण गर्न आग्रह गरेको छ ।