२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

बाढीले आफन्त लग्यो, अ‘सामाजिक’ टिप्पणीले चरित्र

Nada
भावना पाठक
२०८३ भदौ २१ गते ०६:२५
Shares
बाढीले आफन्त लग्यो, अ‘सामाजिक’ टिप्पणीले चरित्र

काठमाडौं : विपद्को समयमा नागरिकले राज्यसँग गर्ने पहिलो अपेक्षा हो–सुरक्षा, उद्धार र आफ्नाआफन्तको खोजी । तर भोटेकोशी नदिमा आएको बाढीले आफ्ना परिवार बेपत्ता भएपछि खोजी गरिदिन सरकारसँग गरेको आग्रहलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाइयो । विशेषगरी महिलाका भिडियोमा उनीहरूको चरित्रसँग जोडेर टीकाटिप्पणी गरिँदै आएको छ ।

ncell

बाढीले घर, परिवार, सम्पत्ति र आफन्त गुमाएका नागरिकका लागि यस्तो समय निकै पीडादायी हुन्छ । आफ्नो परिवार कहाँ छन्, जीवित छन् कि छैनन् भन्ने कुराले मानसिक रूपमा उनीहरूलाई कमजोर बनाइरहेको हुन्छ । अहिले सामाजिक सञ्जालमा राज्यसँग आफ्ना आफन्त खोजिदिन आग्रह गरेका थुप्रै भिडियोहरू देख्न सकिन्छ । यस्ता प्रतिक्रियाले सामाजिक सञ्जालमा मानवीय संवेदनामाथि प्रश्न उठाएको अधिकारकर्मी तथा सामाजिक मुद्दामा चासो राख्नेहरूको भनाइ छ ।

सार्वजनिक भएको एउटा भिडियोमा एक महिलाले राज्यसँग आफ्ना श्रीमानको खोजी गरिदिन आग्रह गरेको देखिन्छ । ‘ए सरकार मेरो श्रीमान् किन खोज्दिनस्’, ‘विदेशी आउँछु भनेको थियो किन आउन दिइनस्’, ‘मलाइ मेरो श्रीमान् चाहियो’ भनेर उनी रोइरहेकी छन् ।  उनले सानो बच्चा काखी च्यापेकी छन् । ‘मैले यो बच्चालाई कसरी हुर्काउने, न मेरो मान्छे छन् साथमा, म बिहान १० बजेदेखि बच्चा बोकेर यहाँ आएकी छु’ भन्दै उनले गरेको चित्कारलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खुलेर विरोध गरेका छन् ।

उनले सरकारलाई गरेको प्रश्नलाई धेरैले सरकारको विरोध गरेको भनेर बुझिरहेको देखिन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारलाई दोष नदिन आग्रह गरेका छन् । केहीले वर्तमान सरकार, विगतका सरकार वा राजनीतिक नेतृत्वलाई जोडेर व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । पीडित महिलाको पीडालाई नै उपहास गर्ने, उनको भावनालाई खिल्ली उडाउने र व्यक्तिगतरूपमै अपमानजनक भाषा प्रयोग गर्ने प्रयाससमेत भएको देखिन्छ ।

ति महिलाले आफ्नो श्रीमान् रसुवाको टिमुरेबाट काठमाडौँ आउँदै गर्दा बाढीमा परि बेपत्ता भएको बताएकी छन् । उनले बिलौला गर्दै – मेरो बाउआमा छैनन्, श्रीमान् पनि भेटिएका छैनन्, मेरो घर पनि छैन, मलाइ मेरो श्रीमानको सास लास जे भए पनि चाहियो भनेकी छन् ।

सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियाहरू भने निकै आपत्तिजनक र असंवेदनशील देखिन्छन् । पीडित महिलाको आग्रहमा प्रतिक्रिया दिँदै  प्रयोगकर्ताहरूले लेखेका छन्, ‘तेरो बा केपीले के गरेको हो र यो सरकारलाई दोष’, ‘बुढो सरकारले बेपत्ता बनाएको हैन होला दिदी, विपद्ले कता लग्यो लग्यो खोजतलास गर्नेले गरिरहेका छन्..’, ‘त कुकुर्नी मरेको मान्छेलाई कहाँबाट निकालिदिने होला, कति मुर्ख कुरा गरेको सरकारले मार्दिएको जस्तो ’...।

‘तेरो बुढा मात्र छ दुनियाँमा ’ ? भनेर गरेको अश्लील टिप्पणीले पीडितलाई मानसिक रूपमा झन् पिडा दिने भन्दै यस्ता शब्द प्रयोग नगर्न एकथरीले आग्रह गरिरहेका छन् ।

बाढी आएको तीनसम्म पनि आफ्नो आफ्नो श्रीमानको उद्धार नभएको भन्दै अर्की एक महिलाले सरकारको ढिलासुस्तीप्रति औंला उठाएकी थिइन् । आफ्नो श्रीमान् जलविद्युत आयोजनामा काम गर्ने र बाढीको कारण टनेलमा थुनिएको हुन सक्ने उनको आशंका थियो । उनले सरकारले छिटो खोजीकार्य सुरु गरे आफ्नो श्रीमान् बचाउन सकिने भन्दै उनले गरेको आग्रहलाई धेरैले सरकारको नै विरोध गरेको ठाने ।

उनको भिडियोमा आएको प्रतिक्रिया पनि त्यस्तै अश्लील र पचाउन नसकिने किसिमका छन् । ‘तँ त मान्छे पनि कालो, मन पनि कालो रहेछ’, ‘आफैं खोज्न जा न’, ‘तेरोमात्र लोग्ने बाढीमा परेको छ ?’, ‘सरकारले बाढी ल्याएको हो र ?’ जस्ता कमेन्टले हाम्रो मानवताप्रतिको सोचाई कति तल्लो स्तरको रहेछ भन्ने देखाउँछ ।

रसुवा नाकाबाट वेपत्ता भएका आफ्ना चालक श्रीमानको खोजीका लागी अर्की महिलाले गरेको पुकारलाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसैगरी नै गाली गरेका छन् ।  ‘लोग्ने हराएको मान्छेले ओठमा लिपिस्टिक लगाएर आइछे’, ‘लोग्ने हराएको खुसी होकी, दुख हो, मुखमा मेकअप त टन्नै छ’, जस्ता कमेन्ट गरेका छन् ।

मेरो श्रीमान् पनि भेटिएका छैनन्, मैले राहत पनि केही पाएको छैन भन्दै रुँदै गरेको अर्की एक महिलाको भिडियोमा आएको कमेन्ट पनि हेरिनसक्नु जस्तै छ । ‘अस्ति रत्नपार्कमा १०० –१०० भन्दै थि आज यता भुक्न आइपुगिछ’, ‘गुहु खाएर बोलिस्, लुट्ने दिन सकियो भनेर’ यीभन्दा पनि सुन्न र पढ्न नसकिने कमेन्ट उनको भिडियोमा आएको छ ।

केही समयअघि सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सिन्धुलीमा पुगेर सिडियो र प्रहरी अधिकृतलाई घिसार्ने धम्की दिए । हिरासतमा मृत्यु भएका कृष्ण विकको न्यायका लागि सिन्धुली पुगेका उनले दिएको यो अभिव्यक्तिलाई धेरैले विरोध गरे । तर सभापति रवि लामिछानेले सुनारको बचाउ गर्दै पीडाको स्वर मधुरो हुँदैन भन्ने जवाफ दिएका थिए । पीडा परेको बेला निस्किने आवाजमा पनि पीडा र आक्रोश हुने उनको अभिव्यक्ति थियो ।

तर उनकै दलको सरकारमाथि जनताले गरेको प्रश्नमा भने सरकार समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताले बेस्सरी गाली गरिरहेका छन् । सरकारलाई प्रश्न गरेकै आधारमा उनीहरूलाई पुरानो दलसँग जोडेर हेर्ने र झोलेको संज्ञा दिने क्रम बढेको छ । प्रश्न गर्नु भनेको सरकार विरोध गर्नु नभएको सरोकारवालाहरू बताउँछन् ।

बाढीपीडितले यतिबेला सर्वस्व गुमाएका छन् । यस्तो अवस्थामा उनीहरूको स्वर चर्को हुनु र प्रश्न कडा हुनु स्वाभाविक रहेको रास्वपाकी सांसद रन्जु दर्शना बताउँछिन् ।

‘काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन सरकारलाई बिलौना गरिरहनुभएको दिदीको भिडियो हेरेँ’ उनी भन्छिन्, ‘तर मलाई त्यो भिडियोमा आएको कमेन्टले नराम्रो लाग्यो, ति दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ । यस्तो बेला सरकारलाई गरेको प्रश्नलाई स्वाभाविक लिनुपर्छ ।’ पीडितको पीडालाई खिसिट्यूरी गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ थियो ।

‘उहाँले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन तर त्यो गालीभन्दा माथि आफ्नो मान्छे फर्केर आउँनुहुन्छ भन्ने आशा छ । जीवनमा अकल्पनीय र अन्याय केही भयो भने भगवानसककंग त हामी रिसाउँछौ, झोकिन्छौं । यसरी कसैको पिडामाथि अशोभनीय टिप्पणी गर्नुहुँदैन’, उनले भनिन् ।

सामाजिक सञ्जालममा आएका महिलालक्षित तल्लो स्तरका प्रतिक्रियाहरूलाई महिलाअधिकारकर्मी, अभिनेत्री, अभियन्तालगायत सामाजिक मुद्दामा चासो राख्ने धेरै जनाले आवाज उठाएका छन् । महिलाहरूको भिडियोमा आएका प्रतिक्रियाहरूको स्क्रिनसट सेयर गर्दै धेरै जनाले यसको विरोध गरेका छन् ।  स्क्रिनसट सेयर गर्दै अभिनेत्री पूजा शर्माले ‘यस्तो समाज आउला भनेर सोचिएको पनि थिएन !’ भन्दै दुख व्यक्त गरेकी छन् । त्यस्तै अर्की अभिनेत्री सुरक्षा पन्तले ‘कुनै अर्को सेना बल आवश्यक छ भने यही अराजकतालाई अधिनमा राख्ने मात्र अब, यो हद पार हो’ भनेर लेखेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पनि महिलाको चरित्रमाथि गरिएको प्रश्नको विरोध गरेका छन् । पीडित महिलाले मेरो श्रीमान खोजिदेउ भनेर राज्यसँग गुहार माग्दा सामाजिक सञ्जालबाट आक्रमण गर्नु गलत भएको उनको धारणा थियो ।

‘विपद्मा श्रीमान् बेपत्ता भएपछि एउटी महिलाले राज्यसँग ‘मेरो श्रीमान् खोजिदिनुस्’ भनेर गरेको आग्रहमाथि सामाजिक सञ्जालमा गरिएको अशोभनीय टिप्पणी व्यक्तिमाथिको गाली होइन, यो हाम्रो सामाजिक चेतना र मानवीय संवेदनामाथिकै प्रश्न हो’ उनले भनेका छन् ।

‘हिजो केपी ओलीलाई ‘आई लभ यु केपी बा’ भन्दै देवत्वकरण गर्ने भीड होस् वा आज पीडित महिलाको आँसुमा समेत राजनीति खोज्ने जमात—चरित्र उस्तै देखिन्छ’ उनी भन्छन्, ‘व्यक्ति फेरिए पनि संस्कार फेरिएको छैन, श्रीमान् खोजिदिनुस् भनेर रोइरहेकी महिलालाई गाली गरेर कुनै सरकार बलियो हुँदैन ।’

‘हिजोको रावणले सीताको हरण गर्‍यो, तर उनको चीरहरण गरेन । आजका दुर्योधन–दुःशासनका चेलाचपेटाहरू भने श्रीमान् गुमाएकी एक महिलाको पीडामाथिसमेत शब्दको चीरहरण गर्न उद्यत छन्’, उनले भने ।

नेत्री उषाकिरण तिम्सेनाले सुरुङमा श्रीमान् फसेपछि एउटी महिलाले व्यक्त गरेको पीडामाथी आएको प्रतिक्रिया निकै लज्जाष्पद भएको टिप्पणी गरिन् । ‘जे हो, त्यही लेख्न र बोल्न पनि डर लाग्ने अवस्था बनेको छ’, उनले प्रश्न गरिन् – हामी कस्तो समाजतर्फ जाँदैछौँ ?

‘सायद जे देखिरहेका छौँ, त्यसलाई त्यही रूपमा लेख्न र बोल्न हामी डराइरहेका छौँ । तर समाजलाई चाहिने कुरा मौनता होइन, विवेकसहितको असहमति र मानवीय संवेदना हो’, उनले भनिन् ।

नेपालको संविधानअनुसार महिलाको चरित्रहत्या गर्नु कानुनी अपराध हो । तर यहाँ महिलाको चरित्रका साथै राज्यबाट नागरिकले गर्ने अपेक्षाको विषय पनि जोडिएको छ । विपद्को समयमा आफन्त बेपत्ता भएपछि राज्यसँग खोजी र उद्धारका लागि गुहार माग्नु नागरिकको स्वाभाविक अधिकार हो । पीडितले आफ्नो दुःख, आक्रोश र असन्तुष्टि व्यक्त गरेकै आधारमा उनीमाथि सामाजिक सञ्जालबाट चरित्रमाथि प्रहार गर्नु वा अपमानजनक टिप्पणी गर्नु उचित नहुने सरोकारवालाहरू बताउँछन् । विपद्मा सर्वस्व गुमाएका नागरिकका प्रश्नलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि राखेर सुन्नु र पीडितको आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्नु राज्य तथा समाज दुवैको दायित्व हो ।

uae

ताजा खबर

सम्बन्धित खबर