२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भाइरल 'डोनाल्ड ट्रम्प' राँगाले पायो पुनर्जीवन : बलि दिनबाट रोकियो, चिडियाखाना पठाइने

Nada
२०८३ जेठ १४ गते १३:४४
Shares
भाइरल 'डोनाल्ड ट्रम्प' राँगाले पायो पुनर्जीवन : बलि दिनबाट रोकियो, चिडियाखाना पठाइने

एजेन्सी : बंगलादेशमा इद-उल-अजहाको अवसरमा बलि दिन तयार पारिएको एउटा दुर्लभ 'अल्बिनो' (सेतो) राँगाले सामाजिक सञ्जालमा भाइरल भएपछि पुनर्जीवन पाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिने भएकाले यसको नाम 'डोनाल्ड ट्रम्प' राखिएको थियो ।

ncell

करिब ७०० केजी तौल भएको यो राँगाको टाउकोमा रहेको विशेष सुनौलो रङको रौंका झुप्पाका कारण यसलाई 'डोनाल्ड ट्रम्प' उपनाम दिइएको हो । बंगलादेशको नारायणगन्जस्थित एक एग्रो फार्ममा रहेको यो राँगाको भिडियो भाइरल भएपछि यसलाई हेर्न टाढा-टाढाबाट मानिसहरूको भिड लाग्न थालेको थियो । फार्म मालिक जियाउद्दीन मृधाका अनुसार यो राँगा निकै शान्त स्वभावको छ र यसलाई विशेष हेरचाहको आवश्यकता पर्दछ ।

बलिका लागि यो राँगा बिक्री भइसकेको भएता पनि, यसप्रति बढेको अत्यधिक जनचासो र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बंगलादेशको गृह मन्त्रालयले अन्तिम समयमा हस्तक्षेप गरेको छ । गृहमन्त्री सलाहुद्दीन अहमदको आदेश बमोजिम यो राँगालाई बलि नदिई सुरक्षित राखिने निर्णय गरिएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सरकारी निर्णय अनुसार राँगा खरिद गर्ने व्यक्तिलाई रकम फिर्ता गरिएको छ र अब यो चर्चित राँगालाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरिने भएको छ । बंगलादेशमा प्रायः गाईभैंसीहरू गाढा रङका हुने भएकाले यस्ता दुर्लभ अल्बिनो राँगाहरू निकै कम देखिन्छन् । यो राँगा आफ्नो दुर्लभ रङ र चर्चित उपनामका कारण देशव्यापी रूपमा चर्चाको विषय बनेको थियो ।

सम्बन्धित खबर