
काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जालमा एकपछि अर्को विवादित भिडियो भाइरल भइरहेका छन् । सुर्खेतमा सडकमा काफल फालिएको घटना, सिरहामा जफत गरिएका मोबाइल फोन नष्ट गरिएको दृश्य र कैलालीमा वन कर्मचारीले टेम्पोलाई भिरबाट धकेलेको भिडियोले व्यापक चर्चा पाएको छ । यी घटनाहरू फरक स्थान र परिस्थितिका भए पनि एउटा साझा प्रश्न उठाइरहेका छन्- के समाज कानुनी प्रक्रिया र संस्थाभन्दा भिडको प्रतिक्रिया र सामाजिक सञ्जालको दबाबतर्फ उन्मुख हुँदैछ ?
डिजिटल युगमा सामाजिक सञ्जालले नागरिकलाई आवाज उठाउने बलियो माध्यम दिएको छ । तर यही माध्यमले कहिलेकाहीँ तथ्यभन्दा भावना, प्रक्रिया भन्दा उत्तेजना र कानुनी व्यवस्थाभन्दा भिडको निर्णयलाई प्राथमिकता दिन थालेको देखिन्छ । ‘भ्युज’, ‘लाइक’ र ‘फलोअर’ को प्रतिस्पर्धाले समाजमा भाइरल हुन जे पनि गर्न सकिने मानसिकतालाई प्रोत्साहन गरिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
यही क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैंयुटारमा भएको एक जघन्य घटनाले पनि सामाजिक मनोविज्ञानमाथि प्रश्न उठाएको छ । ‘नेपाली ब्रो’ का नामले परिचित ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परे । हत्या जस्तो गम्भीर अपराधका बाबजुद सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको पक्षमा टिप्पणी गरिरहनु र मृतकप्रति नकारात्मक अभिव्यक्ति दिनु समाजमा बढ्दो संवेदनहीनताको संकेतका रूपमा हेरिएको छ ।
सार्वजनिक रूपमा महिलामाथि अपमानजनक व्यवहार गर्ने, खाद्यान्न खेर फाल्ने, सम्पत्ति नष्ट गर्ने वा सवारीसाधनमा क्षति पुर्याउने दृश्यहरू भाइरल बन्न थालेपछि त्यसले युवापुस्तामा कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने बहस पनि चर्किएको छ ।
समाजशास्त्री विद्या भट्टराईका अनुसार राजनीतिक तथा सामाजिक संरचनामा हुने परिवर्तनले व्यक्तिको व्यवहारलाई प्रत्यक्ष प्रभावित पार्छ । उनका अनुसार पछिल्लो समय राज्यका संस्थाप्रति जनविश्वास कमजोर हुँदै जाँदा सामाजिक सञ्जालमार्फत हुने प्रतिक्रिया र दबाबले बढी प्रभाव पार्न थालेको छ । सरकारको न्याय र सुरक्षा प्रणाली कति प्रभावकारी छ भन्ने अध्ययन गर्दै नागरिकलाई सुरक्षा दिने संयन्त्र बलियो बनाउनुपर्ने आवश्यकता उनले औंल्याएकी छन् ।
भट्टराई भन्छिन्, 'अहिलेको चुनौती एउटा भिडियो भाइरल हुनु मात्र होइन, समाजले कुन व्यवहारलाई स्वीकार गरिरहेको छ भन्ने हो ।'
उनका अनुसार सामाजिक सञ्जाल अभिव्यक्तिको लोकतान्त्रिक माध्यम भए पनि त्यसको प्रयोग जिम्मेवारीपूर्वक हुन नसके सिर्जनात्मकताभन्दा विनाशकारी प्रवृत्ति सामान्य बन्ने खतरा बढ्छ ।
मानवअधिकारकर्मी मोहना अन्सारी पनि समाजमा बढ्दो उत्तेजना र सामाजिक सञ्जालको प्रभावप्रति चिन्तित छिन् । उनका अनुसार कतिपय अवस्थामा मानसिक रूपमा असन्तुलित वा गैरजिम्मेवार व्यवहारलाई समेत ठूलो समर्थन प्राप्त भइरहेको छ । घटनाको तथ्य, कानुनी पक्ष र नैतिक आयामभन्दा ‘भ्युज’ र ‘फलोअर’ को आधारमा मूल्यांकन हुने प्रवृत्ति बढेको उनको भनाइ छ ।
'भाइरल हुन जे पनि गर्ने प्रवृत्ति विस्तार हुँदै जाँदा त्यसको असर सामाजिक अनुशासन, सार्वजनिक नैतिकता र कानुनी शासनमाथि पनि असर देखिएको छ,' अन्सारी भन्छिन् ।
जब सामाजिक सञ्जाल न्यायको माध्यम बन्छ
सामाजिक सञ्जालको प्रभाव सधैं नकारात्मक मात्र छैन । कतिपय घटनामा यही माध्यमले पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका खेलेको पनि छ ।
प्युठानको गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालिराम थापामगरले खेत जोतिरहेको गोरुमाथि अमानवीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले उनलाई नियन्त्रणमा लियो । गोरु हिँड्न नसकेपछि नाकमुख माटोमा गाडेर यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी कालिकोटको महाबै गाउँपालिका–४ निवासी धर्मिला अधिकारी चौलागाईंको काफल नगर प्रहरीले सडकमा फालिदिएको भिडियो भाइरल बनेपछि व्यापक आलोचना भयो । त्यसपछि वीरेन्द्रनगर नगरपालिकाले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै उनलाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्यो ।
कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पोलाई भिरबाट धकेलेको भिडियो पनि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । भिडियोमा बल प्रयोग गरी सवारी साधन नष्ट गरिएको भन्दै प्रयोगकर्ताले संलग्न कर्मचारीमाथि कारबाहीको माग गरे । घटनासँग सम्बन्धित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
त्यसैगरी, सिरहामा परीक्षा केन्द्रबाट जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी प्रशासनले पानीमा डुबाएर नष्ट गरेको दृश्य सार्वजनिक भएपछि त्यसको चर्को विरोध भयो । विद्यार्थीहरूले करिब एक करोड रुपैयाँ बराबरका उपकरण नष्ट गरिएको भन्दै सम्पत्तिको हकविपरीत भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा उठेको बहस सडकदेखि संसद्सम्म पुगेको छ ।
काफल उत्पादन गर्न किसानले गरेको मेहनत, मोबाइल खरिदका लागि खर्चिएको रकम वा एउटा टेम्पो सञ्चालन गर्न गरिएको लगानी केवल व्यक्तिगत सम्पत्ति मात्र होइनन् । ती श्रम, पसिना र आर्थिक संघर्षका प्रतीक पनि हुन् । यस्ता वस्तु नष्ट भएका दृश्यहरू मनोरञ्जन वा सनसनीका सामग्री बन्न थालेपछि समाज कुन दिशातर्फ जाँदैछ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
विज्ञहरूका अनुसार सामाजिक सञ्जालले अन्यायविरुद्ध आवाज उठाउने अवसर दिएको छ । तर, त्यसले कानुनी प्रक्रिया, प्रमाण र संस्थागत जिम्मेवारीलाई विस्थापित गर्ने माध्यम बन्नु खतरनाक हुन सक्छ । न्याय खोज्ने नागरिक चेतना र भिडको भावनात्मक फैसला बीचको सन्तुलन कायम राख्नु अहिलेको प्रमुख चुनौती बनेको छ ।