प्रस्तावनाः स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्दन गर्दै पत्रकारितामा पेशागत आचरण कायम राख्नका लागि मिडिया काउन्सिलको स्थापना गर्न प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले, संघीय संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१
प्रारम्भिक
१.संक्षिप्त नाम र प्रारम्भ ः (१) यस ऐनको नाम ‘नेपाल मिडिया काउन्सिल ऐन, २०७५’ रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) ‘अध्यक्ष’ भन्नाले काउन्सिलको अध्यक्ष सम्झनु पर्छ ।
(ख) ‘आमसञ्चार’ भन्नाले सूचना तथा सन्देश सम्प्रेषण गर्ने उद्देश्यले स्थापना भई प्रकाशन तथा प्रसारण हुने सरकारी, सामुदायिक वा निजी क्षेत्रबाट सञ्चालित विद्युतीय वा मुद्रणका सञ्चार माध्यम सम्झनु पर्छ र सो शब्दले आम सञ्चार माध्यम सञ्चालन गर्ने संस्थालाई समेत जनाउँछ ।
(ग) ‘काउन्सिल’ भन्नाले दफा ३ बमोजिमको मिडिया काउन्सिल सम्झनु पर्छ ।
(घ) ‘छापा पत्रकारिता’ भन्नाले समाचारपत्र, समाचारपत्रिका वा अन्य पत्र–पत्रिकालाई सम्झनु पर्छ ।
(ङ) ‘तोकिएको’ वा ‘तोकिए बमोजिम’ भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) ‘मन्त्रालय’ भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ ।
(छ) ‘विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता’ भन्नाले विद्युतीय अनलाइनको माध्यमबाट प्रकाशन तथा प्रसारण गरिने समाचार, लेख, अन्तर्वार्ता, टिप्पणी, श्रव्य दृश्य, सम्पादकीय, चलचित्र, लघु चलचित्र, वृत्तचित्रसमेतका समाचार सामग्री सम्झनु पर्छ ।
(ज) ‘सदस्य’ भन्नाले काउन्सिलको सदस्य सम्झनु पर्छ र सो शब्दले काउन्सिलको अध्यक्षलाई समेत जनाउँछ ।
(झ) ‘साहित्यिक पत्रकारिता’ भन्नाले विभिन्न साहित्यिक गतिविधि, समाचार तथा साहित्यिक सामग्री समेटी आमसञ्चार माध्यममार्फत प्रकाशन, प्रसारण, सम्प्रेषण गर्ने कार्य सम्झनु पर्छ ।
परिच्छेद‒२
काउन्सिलको स्थापना तथा काम, कर्तव्य र अधिकार
३.काउन्सिलको स्थापनाः (१) स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि स्वतन्त्र नियमनकारी भूमिका निर्वाह गर्न नेपाल मिडिया काउन्सिलको स्थापना गरिएको छ ।
(२) काउन्सिलको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
४) काउन्सिल स्वशासित र संगठित संस्था हुनेः (१) काउन्सिल अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) काउन्सिलको काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) काउन्सिलले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) काउन्सिलले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र काउन्सिल उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
५..काउन्सिलको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त काउन्सिलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
(क) काउन्सिलको नीति, वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
(ख) आमसञ्चार सम्बन्धी नीति निर्माणमा नेपाल सरकारलाई सुझाव दिने,
(ग) काउन्सिलले जारी गरेको आचार संहिता पालना भए नभएको विषयमा अनुगमन गर्ने तथा आचार संहिता उल्लंघनको विषयमा उजुरी लिने,
(घ) आचारसंहिता उल्लंघनको विषयमा परेका उजुरी उपर आवश्यक छानबिन गरी कारबाही गर्ने,
(ङ) सरकार, आमसञ्चार माध्यम तथा सर्वसाधारणबीचको सम्बन्धलाई सौहार्द्रपूर्ण बनाउन आवश्यक काम गर्ने,
(च) आमसञ्चार माध्यमका समग्र अवस्थाका सम्बन्धमा अध्ययन सहितको वार्षिक प्रतिवेदन पेश गर्ने,
(छ) आचार संहिता सम्बन्धी समसामयिक सामग्रीहरु प्रकाशन गर्ने,
(ज) आमसञ्चार माध्यमबाट प्रसारित तथा प्रकाशित आचार संहिता विपरीतका सामग्रीको सम्बन्धमा छानबिन र कारबाही गर्ने,
(झ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
६. आचार संहिता बनाई जारी गर्नेः (१) काउन्सिलले पत्रकारिताको पेशागत मर्यादा कायम राख्न आवश्यक आचार संहिता बनाई जारी गर्नेछ ।
(२) उपदफा (१) बमोजिम काउन्सिलले जारी गरेको आचार संहिताको अधीनमा रही प्रत्येक आम सञ्चार माध्यमले आ–आफ्नो लागि आचार संहिता बनाई लागू गर्नु पर्नेछ ।
(३) काउन्सिलले जारी गरेको आचार संहिताको पालना गर्नु प्रत्येक आमसञ्चार माध्यम, विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता, छापा पत्रकारिता र साहित्यिक पत्रकारिता, त्यसको प्रकाशक, सम्पादक, पत्रकार तथा संवाददाताको कर्तव्य हुनेछ ।
(४) आमसञ्चार माध्यम, विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता, छापा पत्रकारिता र साहित्यिक पत्रकारिता, त्यसको प्रकाशक, सम्पादक, पत्रकार तथा संवाददाताले यस ऐन बमोजिमको आचार संहिताको पालना गरे नगरेको सम्बन्धमा काउन्सिलले आवश्यक अनुगमन गर्नेछ र त्यसरी अनुगमन गर्दा आचार संहिताको पालनाको लागि आवश्यक निर्देशन दिन सक्नेछ ।
(५) उपदफा (४) बमोजिमको निर्देशनको पालना गर्नु सम्बन्धित आमसञ्चार माध्यम, विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता, छापा पत्रकारिता र साहित्यिक पत्रकारिता, त्यसको प्रकाशक, सम्पादक, पत्रकार तथा संवाददाताको कर्तव्य हुनेछ ।
परिच्छेद‒३
काउन्सिलको गठन, अध्यक्ष तथा सदस्यको योग्यता तथा बैठक
७..काउन्सिलको गठनः (१) काउन्सिलको गठन देहाय बमोजिम हुनेछः
(क) कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी पत्रकारिता क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित सो क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष
मन्त्रालयले तोकेको मन्त्रालयको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत सदस्य
अध्यक्ष, नेपाल पत्रकार महासंघ सदस्य
आमसञ्चार क्षेत्रका विभिन्न विधा, व्यवस्थापन, कानून, सूचना प्रविधि वा सामाजिक क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका कम्तीमा दुई जना महिलासहित मन्त्रालयले मनोनयन गरेको छ जना सदस्य
(२) काउन्सिलको बरिष्ठतम् कर्मचारीले काउन्सिलको सचिव भई काम गर्नेछ ।
(३) अध्यक्षको पदमा नियुक्तिको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ ।
क्)) मन्त्रालयको सचिव संयोजक
ख्) कानून, सूचना प्रविधि वा सामाजिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरू मध्येबाट मन्त्रालयले तोकेको व्यक्ति सदस्य
ग्) वरिष्ठ पत्रकारहरुमध्येबाट मन्त्रालयले तोकेको व्यक्ति सदस्य
(४) उपदफा (३) बमोजिमको सिफारिस समितिको बैठक, कार्य सञ्चालन तथा अध्यक्षको पदमा नियुक्तिको लागि सिफारिस गर्दा अवलम्बन गर्ने प्रक्रिया सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
८. अध्यक्ष तथा सदस्यको योग्यताः देहायको योग्यता पुगेको व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्ति वा मनोनयन हुन योग्य हुनेछः(
(क) नेपाली नागरिक,
(ख) अध्यक्षको हकमा दफा ७ को उपदफा (१) को खण्ड (क) बमोजिमको योग्यता भएको र दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिम मनोनयन हुने सदस्यको हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको,
(ग) पैंतीस वर्ष उमेर पूरा भएको, र
(घ) उच्च नैतिक चरित्र भएको ।
९. अध्यक्ष तथा सदस्यको अयोग्यताः देहायको व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्ति वा मनोनयनको लागि अयोग्य मानिनेछ
(क) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता लिएको,
(ख) दफा ८ बमोजिमको योग्यता नभएको वा नरहेको
(ग) भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण, लैङ्गिक हिंसा वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको,
(घ) नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य रहेको, वा
(ङ) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्ति वा मनोनयको लागि अयोग्य भएको ।
१०. अध्यक्ष तथा सदस्यको पदावधिः (१) काउन्सिलको अध्यक्ष र मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ । निजलाई पुनः एक कार्यकालको लागि नियुक्ति वा मनोनयन गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा नेपाल सरकारले अध्यक्ष वा सदस्यलाई निजको पदावधि सकिन अगावै पदबाट हटाउन सक्नेछः
(क) कार्यक्षमताको अभाव भएमा,
(ख) काम सन्तोषजनक नभएमा,
(ग) खराब आचरण भएमा,
(घ) इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेमा, वा
(ङ) मानसिक सन्तुलन ठीक नभएमा ।
(३) उपदफा (२) बमोजिम अध्यक्ष र मनोनीत सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
११.अध्यक्ष तथा सदस्यको पद रिक्त हुनेः देहायको अवस्थामा अध्यक्ष र मनोनीत सदस्यको पद रिक्त हुनेछः
(क) अध्यक्षले नेपाल सरकार र मनोनीत सदस्यले मन्त्रालय समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजमा दफा ९ बमोजिमको कुनै अयोग्यता सिर्जना भएमा,
(ग) दफा १० बमोजिम निजको पदावधि पूरा भएमा वा निजलाई पदबाट हटाइएमा,
(घ) निजको उमेर पैसठ्ठी वर्ष पूरा भएमा, वा
(ङ) निजको मृत्यु भएमा ।
१२. अध्यक्षको काम, कर्तव्य र अधिकारः अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) काउन्सिलको नीति तथा कार्यक्रमहरु तयार गर्ने, गराउने,
(ख) काउन्सिलको बैठकमा काउन्सिलको नीति, वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने,
(ग) काउन्सिलको बैठकका लागि कार्यसूची तयार गर्ने, गराउने,
(घ) काउन्सिलको बैठकका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,
(ङ) काउन्सिलले अधिकार प्रत्यायोजन गरेका अन्य कार्यहरु गर्ने, गराउने,
(च) तोकिए बमोजिमको अन्य काम गर्ने ।
१३. अध्यक्षको सेवाको शर्त तथा सुविधाः (१) अध्यक्ष काउन्सिलको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछन्।
१४.काउन्सिलको बैठकस् (१) काउन्सिलको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर, एक बैठक र अर्को बैठकवीचको अन्तर तीन महिना भन्दा बढी हुने छैन ।
(२) काउन्सिलको सचिवले काउन्सिलको बैठक बस्ने मिति, समय र स्थान तोकी बैठकमा छलफल हुने विषय सूची सहितको सूचना बैठक बस्ने समय भन्दा चौबीस घण्टा अगावै सबै सदस्यले पाउने गरी पठाउनु पर्नेछ ।
तर उचित र पर्याप्त कारण भएमा अध्यक्षले त्यस्तो कारण खुलाई चौबीस घण्टा अगावै काउन्सिलको बैठक बोलाउन बाधा पर्ने छैन ।
(३) कुनै सदस्यले उपदफा (२) बमोजिम बैठकमा छलफल हुने विषय सूचीमा उल्लिखित विषयको अतिरिक्त अन्य कुनै विषयमा छलफल गराउन चाहेमा त्यसरी छलफल गर्न चाहेको विषय र कारणसहितको सूचना बैठक बस्नु भन्दा अगावै काउन्सिलको सचिवलाई दिनु पर्नेछ । त्यसरी सूचना प्राप्त हुनासाथ काउन्सिलको सचिवले त्यसको जानकारी सदस्यलाई दिनुपर्नेछ ।
(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि काउन्सिलको बैठकमा उपस्थित सबै सदस्यको सहमतिले विषय सूचीमा नपरेको विषयमा पनि छलफल गरी निर्णय गर्न सकिनेछ ।
(५) काउन्सिलको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा काउन्सिलको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(६) काउन्सिलको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा दफा १५ बमोजिम कार्यवाहक तोकिएको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(७) काउन्सिलको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(८) काउन्सिलको सचिवले बैठकको निर्णय अध्यक्षबाट प्रमाणित गराई सुरक्षित रूपमा राख्नु पर्नेछ र निर्णयको प्रति सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ ।
(९) काउन्सिलको बैठक सम्बन्धी अन्य कार्य्विधि काउन्सिल आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
१५.कार्यवाहक अध्यक्ष तोक्न सक्नेः (१) अध्यक्षको पद रिक्त रहेको अवस्थामा मन्त्रालयले काउन्सिलका सदस्यहरू मध्येबाट कुनै सदस्यलाई कार्यवाहक अध्यक्ष तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको कार्यवाहक अध्यक्षले यस ऐन बमोजिम अध्यक्षलाई प्राप्त अधिकार प्रयोग गर्न सक्नेछ ।
परिच्छेद‒४
आचार संहिताको पालना, अनुगमन तथा कारबाही
१६.उजुरी दिन सकिनेः (१) कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले काउन्सिलले जारी गरेको आचार संहिता उल्लंघन गरेको विषयमा जुनसुकै व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको उजुरी लिखित रूपमा वा विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले काउन्सिलले जारी गरेको आचारसंहिता उल्लंघन गरेको सूचना वा जानकारी काउन्सिललाई कुनै स्रोतबाट प्राप्त भएमा काउन्सिलले यस ऐन बमोजिम कारबाही गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिमको उजुरीको दर्ता तथा तत् सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१७.उजुरी उपर जाँचबुझ र निर्णयः (१) दफा १६ बमोजिममा परेको उजुरी वा काउन्सिललाई कुनै स्रोतबाट प्राप्त आचार संहिता उल्लंघनको सूचना वा जानकारी उपर प्रारम्भिक जाँचबुझ गर्दा प्राप्त उजुरी, सूचना वा जानकारी काल्पनिक, आधारहीन वा झुट्टा देखिएमा काउन्सिलले आधार र कारण खुलाई त्यस्तो उजुरी, सूचना वा जानकारीलाई तामेलीमा राख्ने निर्णय गर्न सक्नेछ । त्यस्तो निर्णयको लिखित जानकारी उजुरीकर्तालाई दिनुपर्नेछ ।
(२) दफा १६ बमोजिम परेको उजुरी वा काउन्सिललाई कुनै स्रोतबाट प्राप्त आचार संहिता उल्लंघनको सूचना वा जानकारी उपर उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गर्दा आचार संहिता उल्लंघन गरेको देखिने आधार विद्यमान भएमा काउन्सिलले विस्तृत जाँचबुझ गर्नेछ । त्यसरी जाँचबुझ गर्दा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सोधपुछ गर्ने वा उजुरसँग सम्बन्धित प्रमाण बुझ्ने समेतका काम गर्न सक्नेछ ।
(३) काउन्सिलको विस्तृत जाँचबुझबाट आचार संहिता उल्लंघन गरेको देखिएमा आचार संहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई काउन्सिलले देहाय बमोजिम कारबाही गर्न सक्नेछ
(क) उजुरी गर्ने पक्षसँग आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई मेलमिलाप गराउने, निजको भनाई सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न लगाउने,
(ख) आचार संहिता उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई क्षमायाचना गर्न लगाउने वा काउन्सिलले निर्धारण गरे बमोजिमको संख्या, समय वा पृष्ठमा खण्डन प्रकाशन गर्न लगाउने,
(ग) काउन्सिलले दिएको निर्देशन वा आदेश अवज्ञा गर्ने तथा आचार संहिता पटक पटक उल्लंघन गर्ने आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई निजले सरकारबाट पाउने सहुलियत, लोक कल्याणकारी विज्ञापन वा सुविधा तोकिएको अवधिभरको लागि आंशिक वा पूरै रोक लगाउन मन्त्रालय समक्ष सिफारिस गर्ने,
(घ) काउन्सिलको निर्णय वा निर्देशन पालन नगर्ने आमसञ्चार माध्यम र त्यसमा संलग्न प्रकाशक, सम्पादक, पत्रकार, सम्वाददाताको नाम सहितको सूची तयार गरी काउन्सिलको आदेश, निर्देशन वा आचार संहिताको उल्लंघनकर्ताको रुपमा सार्वजनिक गर्ने,
(ङ) सम्पादक, पत्रकार वा सम्वाददाताको प्रेस पास निश्चित अवधिको लागि निलम्बन गर्ने,
(च) काउन्सिलले गरेको निर्णय वा आदेश सम्बन्धित आमसञ्चार माध्यममा प्रकाशन गर्न लगाउने, वा
(छ) छापाका पत्रपत्रिका भए वर्गिकरणमा निश्चित अवधिको लागि समावेश नगर्ने वा तल्लो स्तरको वर्गिकरणमा घटाउने ।
(४) उपदफा (३) बमोजिम कारबाही गर्ने निर्णय गर्नु अघि काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सफाइ पेश गर्ने मनासिब मौका दिनुपर्नेछ ।
(५) काउन्सिलमा प्राप्त उजुरी उपरको जाँचबुझ सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१८.जरिबाना गरी क्षतिपूर्ति भराइ दिन सक्नेः (१) काउन्सिलबाट जारी भएको आचार संहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्¥याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(२) काउन्सिलबाट जारी भएको आचार संहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट कुनै व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ ।
(३ उपदफा (२) बमोजिम क्षतिपूर्ति निर्धारणका आधार तोकिए बमोजिम हुनेछ ।
१९.प्रचलित कानून बमोजिम कारबाही गर्न बाधा नपर्नेः (१) कुनै आमसञ्चार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले गरेको आचार संहिता उल्लंघनसम्बन्धी कुनै काम अन्य प्रचलित कानून बमोजिम कसूर हुने रहेछ भने निज उपर त्यस्तो कानून बमोजिम आवश्यक कारबाही चलाउनका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(२) यस ऐन बमोजिम आचार संहिता उल्लंघन गरेको कुनै काम अन्य प्रचलित कानून बमोजिम कसूर हुने भएमा आचार संहिता उल्लंघनमा कारबाही भएको कारणबाट मात्रै त्यस्तो कसूरमा प्रचलित कानून बमोजिम कारबाही चलाउन र सजाय गर्न बाधा पर्ने छैन ।
२०. पुनरावेदन दिन सक्नेः दफा १७ वा १८ बमोजिम काउन्सिलले कारबाही गर्ने गरी गरेको निर्णय वा आदेशमा चित्त नबुझेमा चित्त नबुझ्ने पक्षले निर्णय वा आदेश भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
परिच्छेद –५
काउन्सिलको कोष तथा लेखा परीक्षण
२१.काउन्सिलको कोषः (१) काउन्सिलको एउटा छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्स्(
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै स्वदेशी व्यक्ति वा संघ संस्थाबाट आर्थिक अनुदान वा सहायता स्वरूप प्राप्त रकम ।
(३) काउन्सिलले विदेशी सरकार, व्यक्ति वा संघ संस्थाबाट कुनै पनि प्रकारको सहयोग लिन पाउने छैन ।
(४) उपदफा (१) बमोजिमको कोषमा प्राप्त रकम काउन्सिलले तोकेको प्रचलित कानून बमोजिम ‘क’ वर्गको इजाजत प्राप्त कुनै बैंक वा वित्तीय संस्थामा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(५) काउन्सिलको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।
(६) उपदफा (५) बमोजिम रकम खर्च गर्दा प्रत्येक आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम र बजेटको अधीनमा रही खर्च गर्नु पर्नेछ ।
(७) काउन्सिलको कोष र कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२२. लेखा र लेखा परीक्षणस् (१) काउन्सिलले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(२) काउन्सिलको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट र अन्तिम लेखा परीक्षण महालेखा परिक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले काउन्सिलको आय व्ययको लेखा, तत् सम्बन्धी कागजात र अन्य नगदी जिन्सी जुनसुकै बखत जाँच्न वा जँचाउन सक्नेछ ।
परिच्छेद‒६
विविध
२३. कर्मचारी सम्बन्धी व्यवस्थाः (१) काउन्सिलमा आवश्यक संख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) काउन्सिलका कर्मचारीहरुको नियुक्ति, सेवाका शर्त, पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२४.समिति वा उपसमिति गठन गर्न सकिनेः (१) काउन्सिलले आफ्नो कामकारबाही सूचारु रुपले सम्पादनमा सहयोग गर्न आवश्यकता अनुसार समिति वा उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित समिति वा उपसमितिको काम, कर्तव्य, अधिकार तथा कार्यावधि सो समिति वा उपसमिति गठन गर्दाको बखत काउन्सिलले तोके बमोजिम हुनेछ ।
२५ निजी स्वार्थ भएमा निर्णय प्रक्रियामा भाग लिन नहुनेः अध्यक्ष, सदस्य वा काउन्सिलका कर्मचारीले काउन्सिलको सम्बन्धमा निर्णय गर्दा कुनै विषयमा प्रत्यक्ष रुपमा आफ्नो कुनै हित, सरोकार वा स्वार्थ रहेको भएमा वा आफू वा आफ्नो परिवारका सदस्यलाई प्रत्यक्ष फाइदा पुग्ने गरी स्वार्थ बाझिने भएमा आफ्नो स्वार्थ रहेको काउन्सिललाई जानकारी गराई त्यस्तो निर्णयमा भाग लिनु हुँदैन ।
२६.अधिकार प्रत्यायोजनः (१) काउन्सिलले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार अध्यक्ष, सदस्य वा दफा २४ बमोजिम गठित समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर, काउन्सिलमा परेको उजुरी उपरको कारबाही गर्ने अधिकार प्रत्यायोजन हुन सक्ने छैन ।
(२) अध्यक्षले आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार कुनै अधिकार काउन्सिलका कुनै सदस्य वा अधिकृत स्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२७. शपथ लिनु पर्नेः अध्यक्षले आफ्नो पदको कार्य सम्हाल्नु अघि प्रधानन्यायाधीश समक्ष र सदस्यले आफ्नो पदको कार्य सम्हाल्नु अघि अध्यक्ष समक्ष तोकिए बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
२८.वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः काउन्सिलले प्रत्येक वर्ष आफूले सम्पादन गरेका कामकारबाहीको विवरण, कोषको अवस्था समेतका विवरण समावेश गरी त्यस्तो आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिना भित्र वार्षिक प्रतिवेदन मन्त्रालय मार्फत नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
२९.निर्देशन दिन सक्नेः (१) नेपाल सरकारले देशको आमसञ्चार नीति अनुकूल स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्दन गर्दै पेशागत आचरण कायम राख्नका लागि काउन्सिललाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशनको पालना गर्नु काउन्सिलको कर्तव्य हुनेछ ।
(३) काउन्सिलले आमसञ्चार माध्यमहरुलाई विपद्को अवस्थामा सार्वजनिक हित र पेशागत मर्यादाको निम्ति आवश्यक निर्देशन जारी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको निर्देशन पालना गर्नु आमसञ्चार माध्यमको कर्तव्य हुनेछ ।
३०. नेपाल सरकारसँग सम्पर्कः काउन्सिलले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालयमार्फत राख्नु पर्नेछ ।
३१.नियम तथा विनियम बनाउने अधिकारः (१) यस ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
(२) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही काउन्सिलले आवश्यक विनियमहरु बनाउन सक्नेछ र त्यस्ता विनियम लागू गर्नु अघि मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ ।
३२.खारेजी र बचाउः (१) प्रेस काउन्सिल ऐन, २०४८ खारेज गरिएको छ ।
(२) प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम भए गरेका कामकारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत प्रेस काउन्सिल ऐन, २०४८ बमोजिमको काउन्सिलमा रहेका पदाधिकारीहरु यो ऐन प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन ।
(४) प्रेस काउन्सिल ऐन, २०४८ बमोजिमको काउन्सिलमा कार्यरत स्थायी कर्मचारी यस ऐन बमोजिमको काउन्सिलको समान स्तर र तहको पदमा सरेको मानिनेछ ।
(५) प्रेस काउन्सिल ऐन, २०४८ बमोजिमको काउन्सिलको सम्पत्ति, दायित्व, अभिलेख तथा काउन्सिलमा परेका उजुरी यस ऐन बमोजिमको काउन्सिलमा सर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies