
संस्कृतमा एक श्लोक छ, ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । बन्धाय विषयासक्तं मुक्त्यै निर्विषयं मनः ।’ भनेजस्तै मनुष्यको बन्धन र मुक्तिको कारण मन नै हो । नकारात्मक र विषाक्त मनले बन्धनतर्फ लैजान्छ भने सकारात्मक, संयमित मनले उन्नति र मुक्तितर्फ लैजान्छ । तसर्थ, संगठनको सफलताका लागि सकारात्मक दृष्टिकोण जरुरी हुँदै गएको छ ।
संगठन कुनै पनि देशको आर्थिक, सामाजिक र प्रशासनिक विकासको आधारशिला हो । नेपालजस्तो विकासोन्मुख देशमा सरकारी कार्यालय, बैंक, विद्यालय, अस्पताल, गैरसरकारी संस्था तथा निजी क्षेत्रका संगठनले देशको समग्र प्रगति निर्धारण गर्दछन् । कुनै संगठनको सफलता केवल भौतिक स्रोत, प्रविधि वा संरचनामा मात्र निर्भर हुँदैन, बरु त्यस संगठनभित्र काम गर्ने मानव संसाधनको सकारात्मक दृष्टिकोण नै मुख्य निर्णायक तत्व हो ।
सकारात्मक दृष्टिकोण भनेको व्यक्ति वा कर्मचारीको कामप्रतिको उत्साह, आशावादी सोच, समस्या समाधान गर्ने क्षमता र जिम्मेवारी वहन गर्ने मनोवृत्तिलाई जनाउँछ । सकारात्मक दृष्टिकोण भनेको जीवन, काम र समस्यालाई आशावादी र समाधानमुखी दृष्टिले हेर्ने मानसिक अवस्था हो । संगठनात्मक सन्दर्भमा यसले कर्मचारीको कार्यप्रतिको व्यवहार, सहकर्मीसँगको सम्बन्ध, ग्राहक सेवा र निर्णय क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने हुँदा बैंकिङ क्षेत्रलगायत हरेक संगठनले कर्मचारी भर्ना गर्दा यो पक्षलाई राम्ररी मनन गर्नुपर्दछ भने कार्यरत कर्मचारीलाई पनि सकारात्मक दृष्टिकोण उन्मुख तालिमको व्यवस्था अपरिहार्य भइसकेको छ ।
नेपालमा जेनजी आन्दोलनपछि युवाहरूको सरकार स्थापित भएसँगै कर्मचारीमा डर, त्रास र विचलन देखिएको छ । अर्कोतर्फ संगठनात्मक संरचनामा सीमित स्रोत, राजनीतिक प्रभाव, प्रशासनिक जटिलता र प्रतिस्पर्धाजस्ता चुनौती रहेका कारण सकारात्मक दृष्टिकोणको भूमिका अझ महत्वपूर्ण देखिन्छ । विगतदेखि नै नेपालका सार्वजनिक संस्थान र सरकारी कार्यालयमा सकारात्मक दृष्टिकोणको कमीले कर्मचारीको कार्यसम्पादन र उत्पादकत्वमा अपेक्षित वृद्धि हुन सकेको छैन, जसले सेवाग्राही र संगठनात्मक कार्यदक्षतामा समेत असर पुर्याएको देखिन्छ ।
सकारात्मक दृष्टिकोण भएका कर्मचारीले समस्यालाई अवसरका रूपमा लिने गर्दछन् । कठिन परिस्थितिमा पनि समाधान खोज्दछन् । साथै, सहकार्य र टिमवर्कमा विश्वास गर्दछन् तथा संगठनप्रति वफादार हुन्छन् । नेपालका सफल बैंक तथा वित्तीय संस्था र अन्य संगठनमा सकारात्मक सोचलाई संगठनको संस्कृतिका रूपमा विकास गरिएको देखिन्छ ।
सकारात्मक दृष्टिकोणको आवश्यकता
नेपालका संगठनहरूमा सकारात्मक दृष्टिकोणको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ । सकारात्मक दृष्टिकोण विकासका लागि योग अभ्यास र तनाव व्यवस्थापनसम्बन्धी तालिम पनि कर्मचारीलाई दिने परिपाटी पछिल्लो समय बढिरहेको देखिन्छ । धेरै संगठनमा सीमित स्रोत रहेको छ । बजेटको अभाव, प्रविधि र जनशक्तिको कमी रहेको हुँदा यसको उच्चतम परिचालन गरी बढीभन्दा बढी नाफा आर्जन गर्नका लागि सकारात्मक सोच अपरिहार्य छ ।
विश्वविद्यालय, सरकारी कार्यालय र सरकारी संस्थामा राजनीतिक हस्तक्षेपले कार्यप्रणाली प्रभावित हुने गरेको छ । कर्मचारीलाई स्थिर र जिम्मेवार बनाउन पनि यसको आवश्यकता पर्दछ । हाल निजी क्षेत्र र बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिन्छ भने वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धनमा जोड दिएको बेलामा यसको आवश्यकता अझ बढेको छ ।
सकारात्मक दृष्टिकोणले संगठनलाई अगाडि बढाउन मद्दत गर्दछ । सकारात्मक सोचले कार्यसम्पादनमा सुधार ल्याउँछ । जब कर्मचारी उत्साहित र आशावादी हुन्छन्, त्यतिबेला काम छिटो र प्रभावकारी रूपमा गर्दछन् । गल्तीमा कमी आउने र समयमा जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्ने प्रवृत्तिको विकास हुन्छ । नेपालका बैंकहरू तथा सेवा क्षेत्रका अन्य संगठनहरूमा सकारात्मक दृष्टिकोण भएका कर्मचारीले ग्राहक सेवा गुणस्तरमा उल्लेखनीय सुधार गरेको पाइन्छ ।
कम स्रोत प्रयोग गरी अधिक नतिजा प्राप्त गर्नका लागि सकारात्मक सोचको आवश्यकता पर्दछ । कामप्रति रुचि बढाउने, आलस्य कम गर्ने र समय व्यवस्थापनमा सुधार ल्याउने मुख्य तत्व भनेको सकारात्मक सोच नै हो, जसले संगठनको समग्र उत्पादन र सेवाको गुणस्तरमा सुधार ल्याउने कार्य गर्दछ ।
नेपालका सेवा–आधारित संगठनहरू, जस्तै बैंक, अस्पताल र सरकारी कार्यालयमा ग्राहक सन्तुष्टि कमजोर हुँदै गएको गुनासो सुनिन्छ । तसर्थ, उक्त निकायहरूमा कार्यरत कर्मचारीले आफूमा सकारात्मक सोचको विकास गरी ग्राहकप्रति विनम्र व्यवहार गर्ने, समस्या छिटो समाधान गर्ने र सेवाग्राहीसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्दछ । जसबाट छोटो समयमा पनि संगठनको बजार प्रतिष्ठाले उचाइ लिने अपेक्षा गर्न सकिन्छ ।
आजभोलि नयाँ सरकारले काम गर्न थालेदेखि कर्मचारीमा कार्यस्थलको तनाव बढ्दो रूपमा देखिन्छ । यसको मुख्य कारण अधिक दबाब, स्रोत र साधनको अभाव एवं सीमित जनशक्तिलगायत हुन् । तसर्थ सकारात्मक दृष्टिकोणको विकास हुन सकेमा मानसिक दबाब कम हुने, कर्मचारीलाई शान्त र स्थिर बनाउने तथा द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ । सकारात्मक दृष्टिकोणले आपसी सम्मान, सहयोग, सहकार्य एवं अनुशासन कायम गर्नमा समेत सहयोग गर्दछ ।
नेतृत्व र सकारात्मक दृष्टिकोण
नेतृत्वले व्यक्ति वा समूहलाई निश्चित लक्ष्यतर्फ प्रेरित, मार्गदर्शन र परिचालन गर्दछ भने सकारात्मक दृष्टिकोणले चुनौतीलाई अवसरमा बदल्ने, आशावादी सोच र रचनात्मक व्यवहारको विकास गर्दछ । नेतृत्वमा सकारात्मक दृष्टिकोणको विकास भएमा अरूलाई प्रेरणा दिने, स्पष्ट लक्ष्य निर्धारण गर्न सक्ने, कर्मचारीका समस्या बुझ्ने र सबैलाई न्यायपूर्ण व्यवहार गर्न सकिन्छ ।
नेपालका अधिकांश सफल बैंक तथा अन्य संगठनको स्थायित्व, नाफादायकता एवं उत्पादकत्व यसैको परिणाम हो । सफल नेतृत्वका लागि सकारात्मक दृष्टिकोण अपरिहार्य छ । जे कुरालाई पनि नकारात्मक दृष्टिकोणले हेर्ने बानी त्यागी, चाहे त्यो कुनै वस्तु होस्, मानिस होस् वा कुनै परिवेश, सबैप्रति सकारात्मक भावनाको विकास गर्नुपर्दछ । यसले गर्दा कार्यरत कर्मचारी होस् वा समुदायका मानिस, उनीहरूको स्वास्थ्यसम्बन्धी समस्याको समेत एकातर्फ समाधान हुन्छ भने अर्कोतर्फ नेतृत्व क्षमताको विकास भई संगठनले सफलता हासिल गर्न सक्छ । त्यसैले सकारात्मक दृष्टिकोण र नेतृत्व एकअर्काका परिपूरक हुन् ।
सकारात्मक दृष्टिकोणको प्रभाव र चुनौती
सकारात्मक सोचले कर्मचारीलाई स्पष्ट र सही निर्णय लिन सहयोग गर्दछ । नयाँ सोच र सिर्जनशीलता सकारात्मक वातावरणमा मात्र निर्माण हुन्छ । सकारात्मक दृष्टिकोणले विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न सहयोग गर्दछ । त्यस्तै, कर्मचारी संगठनप्रति वफादार र प्रतिबद्ध हुन सक्ने वातावरण बन्दछ ।
चुनौतीका रूपमा रहेका तत्वहरूमा सकारात्मक सोच विकाससम्बन्धी तालिम पर्याप्त नभएको, अधिक दबाबमा कर्मचारीले काम गर्नुपरेको, अनुशासनको कमी, कमजोर व्यवस्थापनले नकारात्मक वातावरण सिर्जना गरेको, योग्यताभन्दा बाह्य राजनीतिक प्रभावले कर्मचारीको मनोबल कमजोर भएको, भेदभाव, पक्षपात एवं असमान व्यवहारले कर्मचारी उत्प्रेरित हुन नसकेको लगायत पर्दछन् ।
सकारात्मक दृष्टिकोण विकासका उपाय
सकारात्मक दृष्टिकोण विकास गर्न कर्मचारीलाई तालिम र विकासका अवसर दिने, उत्प्रेरणा तथा दृष्टिकोण विकाससम्बन्धी तालिम सञ्चालन गर्ने, नेतृत्व विकासमा जोड दिने, निष्पक्ष र पारदर्शी रूपमा कर्मचारी भर्ना, पदोन्नति एवं वृत्ति विकास गर्ने, कार्यसम्पादनका आधारमा पुरस्कार र प्रोत्साहनको व्यवस्था गर्ने, सकारात्मक संगठनात्मक संस्कृतिको विकास गर्ने, एकले अर्काको आदर र सम्मान गर्दै समूह निर्माणद्वारा कार्यसम्पादन गर्ने तथा सकारात्मक र नैतिकवान नेतृत्वको विकास गर्नेलगायत कार्य आवश्यक छन् ।
संगठनात्मक सफलतामा सकारात्मक दृष्टिकोण एक महत्वपूर्ण तत्व हो । नेपालका संगठनहरूमा सीमित स्रोत, प्रशासनिक चुनौती र प्रतिस्पर्धाको अवस्थाबीच सकारात्मक सोचले संगठनलाई स्थायित्व, उत्पादकत्व र प्रभावकारितातर्फ अघि बढाउँछ । सकारात्मक दृष्टिकोणले कर्मचारीलाई प्रेरित गर्नुका साथै ग्राहक सन्तुष्टिमा वृद्धि, नेतृत्वलाई प्रभावकारी बनाउने तथा समग्र संगठनात्मक संस्कृतिमा सुधार ल्याउने हुँदा दीर्घकालीन सफलता सुनिश्चित गर्नका लागि सकारात्मक दृष्टिकोणको विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो ।