
काठमाडौं : सन् २०१६ मा चिलीसँगको कोपा अमेरिका फाइनलमा पेनाल्टी मिस गरेपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गर्दा लियोनल मेस्सी भावुक बनेका थिए । उनले भनेका थिए, 'मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो ।' तर त्यो निर्णय फिर्ता लिएको १० वर्षपछि, ३९ वर्षको उमेरमा मेस्सीले फुटबल इतिहासमा आफ्नो नाम फेरि एकपटक स्वर्ण अक्षरले लेखेका छन् ।
अस्ट्रियाविरुद्धको पछिल्लो २-० को जितमा दुई गोल गर्दै अर्जेन्टिनी कप्तान मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
अस्ट्रियाविरुद्धको खेलको सुरुवात मेस्सीका लागि सुखद रहेन । खेलको आठौं मिनेटमा उनी पेनाल्टी प्रहार गर्न चुकेका थिए । तर खेलको ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै उनले विश्वकपमा आफ्नो १७औं गोल पूरा गरेर जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) को कीर्तिमानलाई उछिने ।
खेलको इन्जुरी समयमा मेस्सीले अस्ट्रियाका दुई डिफेन्डरको बीचबाट बल छिराउँदै १८औं विश्वकप गोल पूरा गरे । योसँगै उनले २८ विश्वकप खेलमा १८ गोलको आँकडा छोएका छन् । उनका १८ गोलमध्ये १२ गोल उनले ३५ वर्षको उमेर पार गरेपछि गरेका हुन् ।
यस खेलसँगै मेस्सीले अन्य धेरै कीर्तिमानहरू पनि आफ्नो नाममा गरेका छन् । मेस्सी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि फ्रान्सका जस्ट फोन्टेन (१९५८) र ब्राजिलका जाइरजिल्हो (१९७०) ले मात्र यो सफलता पाएका थिए ।
मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै अवसरहरू (७६ पटक) सिर्जना गर्ने कीर्तिमान पनि बनाएका छन् । मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै ७ पटक पेनाल्टी प्रहार गर्ने र ३ पटक मिस गर्ने अनावश्यक कीर्तिमान पनि बोकेका छन् ।
बिबिसी कमेन्टेटर स्टिभ बोवरले यसलाई 'अर्को एउटा अमर मेस्सी क्षण' भनेका छन् । पूर्ववेल्स डिफेन्डर एसले विलियम्सले मेस्सीलाई 'फुटबलले देखेको अहिलेसम्मकै महान खेलाडी'को संज्ञा दिएका छन् ।
फुटबल विशेषज्ञ टिम भिकेरीका अनुसार मेस्सीले पेनाल्टी मिस गरेर पछि गोल गर्नुमा एउटा संयोग छ । उनले भने, 'फुटबलका देवताहरूले मेस्सीले पेनाल्टीबाट होइन, बरु ओपन प्लेबाट विश्व कीर्तिमान तोडोस् भन्ने चाहेका थिए ।' स्पेनिस फुटबल पत्रकार गुइलेम बालेगले मेस्सी अहिले आफ्नो शरीरलाई राम्ररी बुझ्ने र बुद्धिमत्तापूर्वक खेल्ने भएकाले उनी अझै चार वर्ष खेल्न सक्ने दाबी गरेका छन् ।
सन् २०१६ को त्यो पीडादायी सन्यासको निर्णय फिर्ता लिएपछि मेस्सीले अर्जेन्टिनालाई लगातार दुईवटा कोपा अमेरिका र सन् २०२२ को विश्वकप उपाधि दिलाएका छन् । जारी २०२६ को विश्वकपमा पनि अर्जेन्टिनाले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
मेस्सीले पछिल्ला ६ विश्वकप खेलमा १२ गोलमा प्रत्यक्ष योगदान दिएका छन् (१० गोल र २ एसिस्ट) । अब उनको नजर म्याराडोनाको नाममा रहेको विश्वकपमा सर्वाधिक ८ एसिस्टको कीर्तिमान बराबरी गर्नमा रहनेछ । अर्जेन्टिनाले आफ्नो अर्को खेल जोर्डनविरुद्ध खेल्दैछ, जहाँ मेस्सीले थप नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।