
सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–२ मझौरामा आरसीसी ढलान सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । वर्षौंदेखि कच्ची सडकका कारण हिलो, धुलो तथा वर्षायाममा आवतजावतमा समस्या भोग्दै आएका बासिन्दाले सडक निर्माणसँगै सहज यातायातको सुविधा पाएका छन् ।
हरिदेव मुखियाको घरदेखि रामसेवक साहको खेतसम्मको सडक मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । योजना भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय तथा पूर्वाधार विकास कार्यालय, सिरहामार्फत कार्यान्वयन गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त सडकको कुल लागत २० लाख ५६ हजार ९११ रुपैयाँ रहेको छ । यसमध्ये १९ लाख ५० हजार रुपैयाँ प्रदेश सरकारको लगानी रहेको छ भने १ लाख ६ हजार ९११ रुपैयाँ स्थानीयको जनसहभागिता रहेको सम्बन्धित निकायले जनाएको छ ।
वैशाख १० गतेबाट सुरु गरिएको निर्माण कार्य असार १५ गतेभन्दा पहिले सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष मोहन चन्द्र साहले सडक निर्माण निर्धारित समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गरिएको बताए ।
स्थानीयवासीका अनुसार सडक ढलान भएपछि वर्षायाममा हुने सास्ती हटेको छ । स्थानीय राम पलाश साहले लामो समयदेखि समाधान हुन नसकेको सडक समस्याको अन्त्य प्रदेश सरकारको लगानीबाट सम्भव भएको प्रतिक्रिया दिए ।
त्यस्तै, स्थानीय दिपेन्द्र साहले सडक निर्माणपछि किसान, विद्यार्थी तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा उल्लेख्य सहजता पुगेको बताए । उनका अनुसार वर्षाको समयमा हिलोका कारण आवागमन प्रभावित हुने समस्या अब धेरै हदसम्म समाधान भएको छ ।
स्थानीय बासिन्दाले यस्ता पूर्वाधार विकासका योजनालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन सरकारसँग माग गरेका छन् । उनीहरूले सडक, खानेपानी, सिंचाइ तथा अन्य आधारभूत पूर्वाधारका क्षेत्रमा समेत थप लगानी आवश्यक रहेको बताएका छन् ।