२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुर्खेतमा रास्वपाको ‘क्लोज क्याम्प’ : सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित

ADV
कुलेन्द्र शाही
२०८१ साउन २६ गते १७:३५
सुर्खेतमा रास्वपाको ‘क्लोज क्याम्प’ : सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित

सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेतमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । कर्णाली प्रदेशस्तरीय दुईदिने क्याम्प शनिबार सम्पन्न भएको हो । पार्टीको कर्णाली प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको रास्वपा सुर्खेतका युवा नेता हरिप्रसाद अधिकारीले जानकारी दिए ।

सो कार्यशालामा कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लाका जिल्ला सभापति र पूर्वप्रदेश पदाधिकारी, बुद्धिजीवी, प्रतिष्ठित व्यापारी, प्रदेशभित्र रहेका गाउँ तथा नगरका प्रतिनिधिहरूको सहभागिता रहेको उनले बताए । कार्यशालामा करिब एक सय प्रतिनिधि सहभागी भएका थिए ।

रास्वपालाई राजनीतिक, वैचारिक एवम् सांगठनिकरुपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागिएको र त्यसका लागि सुर्खेतमा सम्पन्न कार्यशाला प्रभावकारी भएको केन्द्रीय प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले बताए । पार्टीले सरकारमा रहेर गरेका राम्रा कामहरूको प्रचार, पार्टीले लिएका असल नीति र सिद्धान्तको अभिलेखीकरण गर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए ।

सो अवसरमा पार्टीकी केन्द्रीय सदस्य विनीता कठायतले कर्णाली प्रदेशमा पार्टीलाई प्रभावकारीरूपमा सञ्चालन गर्न महिलाहरू सक्रिय रहने बताइन् । उनले प्रतिनिधिहरूले उठाएका विविध प्रश्नहरूको जवाफ दिएकी थिइन् ।

‘क्लोज क्याम्प’मा संसदीय मामिलाको नेतृत्व अधिकारी, विचार समूहको डा. गोविन्द आचार्य, संगठन निर्माणको प्रेम चन्द, लिडरसिप एकेडेमीको इन्जिनियर मानबहादुर शाही, अभियानको पवनराज देवकोटा, मूल्य मान्यताको पुस्तक चन्दले नेतृत्व गर्दै समूहगत निष्कर्ष प्रस्तुत गरेका थिए ।

जसमा जिल्ला समन्वय समिति हटाउनुपर्ने, राष्ट्रिय सभालाई विज्ञहरूको सभाका रूपमा पुनर्संरचना गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने, प्रदेश सरकारको प्रभाकारिता र उपयोगितामा गम्भीर समीक्षा गरेर केन्द्रीय सम्मेलनमा औचित्यको बारेमा बहस गर्ने, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको आगामी अभियान सञ्चालन गर्ने जस्ता सुझावहरू प्रस्तुत भएका छन् ।

यसैगरी प्रदेश र पालिका कमिटीहरू सानो आकारको बनाउनुपर्ने, केन्द्रीय कमिटी १२१ सदस्य बनाउनुपर्ने, जनजीविकाको विषयमा केन्द्रीय कमिटीमा छलफल गरी पार्टीले ठोसरूपमा किसान र जनताको पक्षमा काम गर्ने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा सुर्खेतका नेता अधिकारीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise