
काठमाडौं : ४१ वर्षको उमेरमा पनि क्रिस्टियानो रोनाल्डोको गोल गर्ने भोक र मैदानप्रतिको समर्पणमा कुनै कमी आएको छैन । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को सानदार जित निकाल्दा दुई गोल गरेपछि रोनाल्डोले टेलिभिजन क्यामेराको लेन्समा हेर्दै दृढताका साथ चिच्याएर भने 'आई एम ब्याक' । यो सन्देश ती आलोचकहरूका लागि एउटा कडा जवाफ थियो, जसले उनलाई पोर्चुगल टोलीको 'समस्या' भन्दै उनको खेल जीवन अब सकिएको टिप्पणी गरिरहेका थिए ।
यस खेलसँगै रोनाल्डोले फुटबल इतिहासमा एउटा यस्तो सुनौलो पाना थपेका छन्, जुन अहिलेसम्म कुनै पनि पुरुष वा महिला खेलाडीले हासिल गर्न सकेका छैनन् । उनी ६ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसअघि लियोनल मेस्सी, ब्राजिलकी मार्टा र क्यानडाकी क्रिस्टिन सिन्क्लेयरले ५ वटा विश्वकपमा गोल गरेका थिए ।
रोनाल्डो अब विश्वकप इतिहासकै दोस्रो सबैभन्दा पाको उमेरका गोलकर्ता समेत बनेका छन् । ४१ वर्ष १३८ दिनको उमेरमा गोल गरेका उनी सन् १९९४ मा ४२ वर्षको उमेरमा गोल गर्ने क्यामरुनका रोजर मिलाभन्दा मात्र पछाडि छन् ।
प्रतियोगिताको पहिलो खेलमा डिआर कंगोसँग १-१ को बराबरी खेल्दा पोर्चुगल र कप्तान रोनाल्डोको व्यापक आलोचना भएको थियो । मेस्सी, एमबाप्पे र हालान्ड जस्ता अन्य विश्वप्रसिद्ध स्टारहरूले गोल गरिरहँदा रोनाल्डो भने दबाबमा देखिएका थिए । तर उज्वेकिस्तानविरुद्धको खेलमा उनले केवल ६ मिनेटभित्रै जाओ कान्सेलोको क्रसमा उत्कृष्ट हाफ-भलीमार्फत गोल गर्दै आफ्नो उपस्थितिको संकेत दिए । त्यसपछि ब्रुनो फर्नान्डेजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल थपे ।
आफ्नो प्रदर्शनबारे बोल्दै रोनाल्डोले भने, 'म धेरै खुसी छु, तर सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीको काम र यसले हामीलाई दिएको आत्मविश्वास हो । व्यक्तिगत रेकर्डहरू राम्रा हुन्छन्, तर मेरो लक्ष्य सधैं टोलीलाई उसको उद्देश्य प्राप्त गर्न मद्दत गर्नु हो ।'
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई टोलीको 'आइकन' र 'रोल मोडल' को रूपमा व्याख्या गरे । उनले भने, 'रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाले नै दुवैलाई उत्कृष्ट बनाइराख्न मद्दत गरेको छ । उनी एक यस्तो खेलाडी हुन् जसले जस्तोसुकै परिस्थितिमा पनि कडा परिश्रम गर्ने भोक राख्छन् ।'
उज्वेकिस्तानका प्रशिक्षक तथा २००६ का विश्वकप विजेता फाबियो कानाभारोले पनि रोनाल्डोको प्रशंसा गर्दै उनलाई बक्स भित्रको सबैभन्दा खतरनाक खेलाडी बताए । कानाभारोले भने, 'यदि तपाईंले उनलाई बक्समा एक सेन्टिमिटर मात्र पनि ठाउँ छोड्नुभयो भने तपाईंको हार निश्चित छ ।' पूर्व सहकर्मी वेन रुनी र रोय किनले पनि ४१ वर्षको उमेरमा रोनाल्डोले देखाएको ऊर्जा र गोल गर्ने चाहनालाई 'अविश्वसनीय' र 'जिनियस' को संज्ञा दिएका छन् ।
पोर्चुगलले अब जुन २८ मा कोलम्बियासँग खेल्नेछ, जसले समूह 'के' को विजेता तय गर्नेछ । रोनाल्डोको यो पुनरागमनले पोर्चुगिज समर्थकहरूमा फेरि एक पटक विश्वकप उपाधिको आशा जगाएको छ ।