२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

फिफाद्वारा एन्फा निलम्बित

अन्तर्राष्ट्रिय खेल र बजेटमा पूर्ण प्रतिबन्ध

Nada
२०८३ असार ११ गते १३:१४
Shares
फिफाद्वारा एन्फा निलम्बित

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल लागू हुने गरी निलम्बन गरेको छ । फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै फिफाले एन्फालाई निलम्बन गरेको हो ।

ncell

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्ष (सरकार) को हस्तक्षेप भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरेको हो । एन्फा कार्यसमितिको कार्यकाल असार ६ गते नै समाप्त भइसकेको अवस्थामा नयाँ निर्वाचन र आन्तरिक विवादमा सरकारको संलग्नता बढेपछि फिफाले यो कठोर कदम चालेको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । साथै, मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईसहित २४ जना पदाधिकारीलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएपछि विवाद झनै चर्किएको थियो ।

अर्को सूचना नआएसम्मका लागि गरिएको यो निलम्बनसँगै नेपालले फिफा सदस्यताका सबै अधिकार गुमाएको छ । 

निलम्बनसँगै नेपालका कुनै पनि राष्ट्रिय टिम वा क्लबले अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा सहभागिता जनाउन पाउने छैनन् । फिफा र एएफसीबाट एन्फाले प्राप्त गर्दै आएको सबै प्रकारका कोष र आर्थिक सहायता बन्द हुनेछ ।

नेपालका फिफा मान्यता प्राप्त रेफ्रीहरूले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने छैनन् । साथै, एन्फाका पदाधिकारी वा कर्मचारीले फिफा र एएफसीद्वारा सञ्चालित तालिम, प्रशिक्षण वा विकास कार्यक्रममा भाग लिन पाउने छैनन् ।

सन् १९५१ मा स्थापना भएको एन्फा सन् १९७२ मा फिफाको सदस्य राष्ट्र बनेको थियो । सदस्य बनेको ५२ वर्षको इतिहासमा नेपाल फिफाबाट निलम्बित भएको यो पहिलो ऐतिहासिक घटना हो ।

फिफाले आगामी कंग्रेस बस्नुअघि कुनै पनि समयमा फिफा काउन्सिल ब्युरोले यो निलम्बन फुकुवा गर्न सक्ने पत्रमा उल्लेख गरेको छ । तर त्यसका लागि तेस्रो पक्षको हस्तक्षेप अन्त्य भई फिफाको मापदण्ड अनुसार निर्वाचन वा कार्यसमिति सञ्चालन हुनुपर्ने फिफाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर