२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

देउवालाई प्रधानमन्त्रीमा रोक्ने प्रयास

ADV
शिव विक
२०८१ साउन २७ गते ०६:५५
देउवालाई प्रधानमन्त्रीमा रोक्ने प्रयास

काठमाडौं : एक व्यक्ति कतिपटक प्रधानमन्त्री हुन पाउने भन्ने प्रस्तावले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक तरंगित भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा एक व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने उल्लेख छ । 

महामन्त्री शर्माले समसामयिक विषयको प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन् । महामन्त्री शर्माले नेतृत्व बहिर्गमनका लागि राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक हुन पाउने प्रस्ताव बैठकमा छलफलका लागि पेस गरेका छन् । 

त्यसपछि नेताहरू कतिपटक प्रधानमन्त्री हुने कुरा पार्टीको विधानमै तोक्न जरूरी छ वा छैन भन्ने बहसमा उत्रिएका हुन् । वर्तमान सत्ता समीकरणमा समस्या नआए दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । 

प्रतिनिधि सभामै सुनाइएको यस्तो सहमति कार्यान्वयनमा असर गर्न सक्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत भएपछि नेताहरू पक्ष र विपक्षमा प्रस्तुत भएका हुन् ।

शुक्रबारको बैठकमा डा. प्रकाशशरण महत र परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेसकी नेतृ आरजु राणा देउवाले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरामा समय किटान गर्न नहुने तर्क गरे ।

नेताहरूका अनुसार राणाले भनेकी छन्, ‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा व्यक्तिको प्रभावकारिताका आधारमा हुने हो ।’ 

आरजु राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत हुन् । राणाको प्रश्न छ, ‘संविधानले जति पटक पनि प्रधानमन्त्री बन्न दिन्छ, कांग्रेसले कसरी रोक्न मिल्छ ?’ 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि महामन्त्री शर्माको दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्तावको विरोधमा उत्रिएका छन् । प्रवक्ता महतले देउवालाई प्रधानमन्त्रीमा रोक्नकै लागि यस्तो प्रस्ताव गरिएको टिप्पणी गरे । 

‘एक्जिट पोलिसी व्यावहारिक छैन । यसलाई पारित गर्ने हो भने सभापति देउवाले फेरि प्रधानमन्त्री बन्न पाउनुहुन्न । यो प्रस्ताव सभापतिलाई फेरि प्रधानमन्त्री बन्न नदिने उद्देश्यले आएको हो भनेर सहजै बुझ्न सकिन्छ’ डा. महतले भनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise