२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विश्वकप २०२६ : राउण्ड अफ ३२ मा कुन देश कोसँग भिड्दै ?

Nada
२०८३ असार १४ गते १२:०१
Shares
विश्वकप २०२६ : राउण्ड अफ ३२ मा कुन देश कोसँग भिड्दै ?

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू समाप्त भएसँगै राउण्ड अफ ३२ (नकआउट चरण)को समीकरण पूरा भएको छ । आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरियाबीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको हो ।

ncell

विश्वकपको इतिहासमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएको यस संस्करणमा समूह चरणमा मात्रै अहिलेसम्मकै धेरै ७२ खेल सम्पन्न भएका छन् । १२ वटा समूहबाट विजेता र उपविजेता बनेका २४ टोली र तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट ८ टोलीले अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

यस पटकको नकआउट समीकरणमा युरोप र अफ्रिकी टोलीहरूको वर्चस्व देखिएको छ । युरोपबाट सहभागी १६ मध्ये १२ टोली नकआउट चरणमा पुग्न सफल भएका छन् । त्यसैगरी, अफ्रिकाबाट सहभागी १० मध्ये ९ टोली (दक्षिण अफ्रिका, मोरक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, डिआर कंगो, घाना र अल्जेरिया)ले अर्को चरणको यात्रा तय गरेर इतिहास रचेका छन् ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिलसहित ५ टोली अगाडि बढ्दा पूर्व विजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ । आयोजक तीनवटै राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडा नकआउट चरणमा पुग्न सफल भएका छन् । एसियाबाट भने टिम संख्या ९ पुगे पनि नकआउटमा जापान र अस्ट्रेलिया गरी दुई टोली मात्र पुग्न सकेका छन् । ओसियानाबाट सहभागी एक मात्र टोली न्युजिल्यान्ड भने बाहिरिएको छ ।

समूह 'ए' बाट मेक्सिको र दक्षिण अफ्रिका, 'बी' बाट स्विट्जरल्याण्ड र क्यानडा, 'सी' बाट ब्राजिल र मोरक्को, 'डी' बाट अमेरिका र अस्ट्रेलिया, 'ई' बाट जर्मनी र आइभोरी कोस्ट, 'एफ' बाट नेदरल्याण्ड्स र जापान, 'जी' बाट बेल्जियम र इजिप्ट, 'एच' बाट स्पेन र केप भर्डे, 'आई' बाट फ्रान्स र नर्वे, 'जे' बाट अर्जेन्टिना र अस्ट्रिया, 'के' बाट कोलम्बिया र पोर्चुगल, 'एल' बाट इंग्ल्यान्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट प्रवेश गरेका हुन् ।

तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्विडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नकआउटमा पुगेका हुन् ।

यस विश्वकपमा डेब्यु गरेको केप भर्डे समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेर सबैलाई आश्चर्यचकित पारेको छ । क्यानडाले पनि पहिलो पटक विश्वकपमा जित निकाल्दै घरेलु मैदानमा नकआउटको यात्रा तय गरेर इतिहास रचेको छ । साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्स जस्ता दिग्गज टोलीहरूले आफ्नो दाबेदारी कायमै राखेका छन् ।

नकआउट चरणका खेलहरू सोमबारदेखि सुरु हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र सह-आयोजक क्यानडा भिड्नेछन् । नकआउट चरणमा पराजित हुने टोली सिधै बाहिरिनेछन् भने विजयी हुने १६ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

राउन्ड अफ ३२ को खेल तालिका

दक्षिण अफ्रिका भर्सेस क्यानडा : असार १५ गते सोमबार बिहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान : असार १५ गते सोमबार राति १०:४५ बजे
जर्मनी भर्सेस पाराग्वे : असार १६ गते मंगलबार बिहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को : असार १६ गते मंगलबार बिहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे : असार १६ गते मंगलबार राति १०:४५ बजे
फ्रान्स भर्सेस स्विडेन : असार १७ गते बुधबार बिहान २:४५ बजे
मेक्सिको भर्सेस  इक्वेडर : असार १७ गते बुधबार बिहान ६:४५ बजे
इंग्ल्यान्ड भर्सेस डिआर कंगो : असार १७ गते बुधबार राति ९:४५ बजे
बेल्जिया भसेस सेनेगेल : असार १८ गते बिहीबार बिहान १:४५ बजे
अमेरिका भर्सेस बोस्निया : असार १८ गते बिहीबार बिहान ५:४५ बजे
स्पेन भर्सेस अस्ट्रिया : असार १९ गते शुक्रबार बिहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया : असार १९ गते शुक्रबार बिहान ४:४५ बजे
स्विट्जरल्यान्ड भर्सस अल्जेरिया : असार १९ गते शुक्रबार बिहान ८:४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट : असार १९ गते शुक्रबार राति ११:४५ बजे
अर्जेन्टिना भर्सेस केप भर्डे : असार २० गते शनिबार बिहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना : असार २० गते शनिबार बिहान ७:१५ बजे

सम्बन्धित खबर