२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

इन्डो नेपाल कराते प्रतियोगिताका विजेता १३ खेलाडी सम्मानित

Nada
माधवप्रसाद घिमिरे
२०८३ असार १४ गते १९:०४
Shares
इन्डो नेपाल कराते प्रतियोगिताका विजेता १३ खेलाडी सम्मानित

ललितपुर : इन्डो नेपाल कराते प्रतियोगिताका विजेता आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका १३ खेलाडी सम्मानित भएका छन् । आइकेओ क्योकुसिनकाई डोजो नखिपोटले आइतबार एक कार्यक्रम आयोजना गरी विजेता खेलाडीलाई सम्मान गरेको हो । 

ncell

यही जुन १३ र १४ तारिखमा भारतकाे उत्तर बंगालकाे मैनागुरीमा भएको इन्डाे नेपाल आशिहारा कराते प्रतियोगितामा नेपालले १० स्वर्ण सहित २ रजत १ काश्य पदक प्राप्त गर्न सफल भएको थियो । 

खेलाडीहरूलाई सम्मान पश्चात् मन्तव्य राख्दै ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतले अन्तर्राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा गरेर जित हासिल गर्न सकेकोमा बधाई दिँदै आत्मअनुशासन र प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढ्न सकेकोमा खुसी व्यक्त गरे । उनले खेलको माध्यमबाट राष्ट्रलाई चिनाउन आग्रह गर्दै अझै थप प्रतिस्पर्धामा भाग लिएर सफलता हासिल गर्न आग्रह गरे । उनले त्याग, मिहिनेत र समर्पणले दैनिक जीवन समेत सफल बनाउन आग्रह गर्दै सफलताको लागि डोजो व्यवस्थापन  र प्रशिक्षकको महत्त्वपूर्ण भूमिका रहेको धारणा राखे ।

आइकेओ क्योकुसिनकाई कराते नेपालका ब्राञ्च चिफ एवं डोजोका प्रमुख सेन्सेई दिपक लामाले दैनिक अभ्यासले जस्तोसुकै खेल प्रतिस्पर्धामा पनि सफलता लिन सकिने भन्दै सफल खेलाडी हुने संकल्पसहित अगाडि बढ्न आग्रह गरे ।

डोजोका प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठले खेल र खेलाडीहरूको पहिचान र सम्मान कायम राख्न सफल भएकोमा बधाई व्यक्त गर्दै प्रशिक्षकहरूले बाटो मात्रै देखाउने भएकोले जीत हासिलका लागि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिए ।

क्योकुसिन प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेकोले धेरै प्रतियोगितामा भाग लिन आग्रहका साथ निमन्त्रणा आएको जानकारी गराउँदै प्रमुख प्रशिक्षक श्रेष्ठले भारतको पाँच वटा प्रदेशका ३ सय ५० भन्दा बढि खेलाडीहरूलाई जित्न सक्नु महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

इन्डाे नेपाल आशिहारा कराते च्याम्पियनसिपमा आइकेओ. क्योकुसिनकाई नेपालका १३ जना खेलाडीहरूले प्रतियोगितामा भाग लिएको नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले जानकारी गराए । 

आइकेओ क्योकुसिनकाई नेपालका ब्रन्च चिफ दिपक लामाका अनुसार उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली खेलाडीहरू खुला केजी तौल समूहमा साहिर श्रेष्ठ, ६५ केजी तौल समूहमा सोनाम मोक्तान, ५५ केजी तौल समूहमा रेशाङ सुनुवार, ५० केजी तौल समूहमा निलष्ट देव रेग्मी, ४५ केजी तौल समूहमा शेसेहाङ यौंग्य लिम्बु र ३५ केजी तौल समूहमा तिर्थमान जिम्माले स्वर्ण पदक हासिल गर्न सफल भएका हुन् ।

त्यस्तै महिलातर्फ ५० केजी तौल समूहमा विनिशा राई, ४० केजी तौल समूहमा अञ्जु श्रेष्ठ, ३५ केजी तौल समूहमा आसिया श्रेष्ठ र उषा रानामगरले स्वर्ण पदक हासिल गरेका हुन् ।
३५ केजी तौल समूहमा बुधेश तामाङ र सुरन तामाङले रजत पदक हात पार्दा ४० केजी तौल समूहका नियोग मगरले काश्य पदक प्राप्त गर्न सफल भएका थिए ।

सम्बन्धित खबर