–खगेन्द्र छन्त्याल
मानिसका सपना अनेकन हुन्छन् । मानिसले बोकेका सपनाहरु केही एकलरूपमा पुरा गर्न सक्ने खालका हुन्छन् त केही हुँदैनन् । कतिपय सपना पुरा गर्नको निम्ति व्यक्तिलाई सामूहिक पलह तथा सहयोगको आवश्यकता पर्दछ । समाजमा सपना मिल्नेहरुबीच एक आपसमा सहकार्य हुन्छ । ती व्यक्तिहरुले आफ्नो सपना पुरा गराउन मिलेर योजना बनाउँछन् । उनीहरुले आफ्नो सपना पुरा गर्न केही साधनको पनि निर्माण गर्छन् । तपाईँहरुले देख्ने राजनीतिक दल पनि मानिसहरुको सपना पुरा गर्ने एउटा साधन हो ।
विपी कोइरालाको आत्मकथामा भनिएअनुसार उनको सपना “हरेक नेपाली किसानको चार बिघा जमिन होस्, उससँग एक हल गोरु होस्” भन्ने थियो । विपीले यही सपनालाई मुख्य कडी बनाएर प्रजातान्त्रिक समाजवादको व्याख्या गरेका थिए । विपीको सपनामा सहमत हुनेहरु वा विपीको जस्तै सपना देख्नेहरु मिलेर त्यो सपनासम्म पुग्ने साधनको रूपमा ‘कंग्रेस’को निर्माण गरेका थिए । विपीलगायतको सपना साध्य र कांग्रेस साधन हो । सपनासम्म पुग्नको निम्ति साधन निर्माण वा प्रयोग गरिन्छ । सपनाको यात्रामा जब साधनमा खराबी देखिन्छ, जब साधनले गडबड गर्दछ तब, पहिलो कुरा त्यही साधनको मर्मतमा लागिन्छ । जब साधन निकम्मा भैसकेको र त्यसले साध्यसम्म पुर्याउने कुनै सम्भावना देखिँदैन तब, मानिस बाध्यात्मकरूपमै अर्को साधनको व्यवस्थापन गर्न लाग्दछ । तसर्थ, साध्य प्रधान र साधन गौण हो भन्ने बुझ्दा हुन्छ । राजनैतिक दलहरु गौण चीज हुन् । ती दल गठन गर्ने तथा ती दलहरुमा समाहित भएका नेता, कार्यकर्ताहरुको देश, समाज र संसार बदल्ने सपना प्रधान कुरा हो ।
हामीले बुुझ्नुपर्ने विषय, साध्यले व्यवस्थापन गर्ने चीज हो साधन । त्यसकारण साधन सधैँ साध्यको अधिनस्थ हुनुपर्ने हो । तर, कहिलेकाहीँ त्यस्तो हुँदैन र साधनको अधिनमा साध्य हुन्छ । जब साधनको अधिनमा साध्य हुन्छ तब, साध्य र साधनबीच अन्तरविरोध पैदा हुन्छ । जब त्यहाँ अन्तरविरोध पैदा हुन्छ तब, यात्रामा गतिरोध हुन्छ । दल र दलका सदस्यबीच द्वन्द्वात्मक सम्बन्ध त्यही कोर्षबाटै सुरु भएको हुन्छ । दलका आमसदस्यहरुको विचार, भावना र सपनालाई दलले सम्बोधन गरेर दलको नीति निर्माण हुनुपर्दछ । त्यसरी निर्माण भएको नीतिको आधारमा दलका सबै सदस्यहरु दलको अधीनमा हुनुपर्दछ । यसको अर्थ हो दलका आमसदस्यहरुको सपनाको अधीनमा दल र दलको अधीनमा दलका सबै सदस्य ।
सदस्यहरुलाई परिचालन गर्नको निम्ति एकाएक आकाशबाट बर्सेको वा धर्तीबाट उब्जेको चीज होइन दल । संसार बदल्ने सपना पूरा गर्नका निम्ति सदस्यहरुले निर्माण गरेको साधन हो दल । त्यसकारण दल सामन्तको विर्ता जस्तो बन्नु हुँदैन । आमसदस्यहरुको भावना, सपना र योजनामा दल चल्नुपर्दछ । दलका बैठक, भेला र सम्मेलनहरु औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुनुहुँदैन । हरेक बैठक, भेला र सम्मेलनहरुमा हरेक दलका सदस्यले ढक फुकाएर, छाती खोलेर ढुक्कसँग आफ्ना कुरा राख्न पाउनुपर्दछ । दल र दलको नेतृत्वमा देखिएका गलत प्रवृतिका विरुद्ध तलदेखि माथिसम्म लड्ने अधिकार हरेक दलका सदस्यलाई सुरक्षित हुनुपर्दछ । गलत प्रवृतिका विरुद्ध विधिसम्मत ढंगले आवाज उठाउने, उजुरी गर्ने असहमति जाहेर गर्ने र असन्तुष्टि व्यक्त गर्ने दलका सदस्यहरुको असहमति र असन्तुष्टिका बारेमा दलमा बहस छलफल चलाउने र सम्बोधन गर्ने गर्नुपर्दछ । त्यसप्रति उदासीन बन्ने, बेवास्ता गर्ने र उल्टो दलका त्यस्ता सदस्यहरुमाथि विविध बहानामा कारवाहीको डण्डा चलाउने हो भने दल र दलका सदस्यका सपनाबीच अन्तर्विरोध पैदा हुन्छ । यो अन्तरविरोधले सपनाका यात्रीहरुको महान यात्रामा गतिरोध सिर्जना गर्दछ ।
यात्रामा यात्रीहरुले प्रयोग गरेको साधन बदल्नु पर्ने विविध बाध्यता हुनसक्दछन् । उनीहरुले विकल्पको खोजी गर्न सक्छन् । साधन निकम्मा भयो भने, यात्री स्वयम् आफ्नो सपनाबाट विचलन र स्खलन भयो भने यात्रीहरुले साधन फेर्न सक्छन् । सुन्दर सपना देखेर त्यसलाई प्राप्त गर्न हिँडेका सपनाका यात्रीहरु सबै गन्तव्यमा पुुग्छन् भन्ने हुँदैन । त्यो लामो र कठिन यात्रामा कैयौ यात्रीहरुबीचमा थाक्ने र भाग्ने गर्दछन् । अवश्य त्यो बेला पनि कतिपय सपनाका यात्रीहरुले आपूm अनुकूलको साधनको खोजीका निम्ति प्रयोग गरिराखेको साधन बद्ली गर्दछन् । डा केशरजंग रायमाझी, शैलेन्द्रकुमार उपाध्य, कमलराज रेग्मीलगायत कैयौ मान्छेहरु कुनै दिन खुँखार कम्युनिस्ट नेता थिए । तर, पञ्चायती शासनकालमा उनीहरु यात्रामा टिक्न सकेनन् । आफ्ना सपनाबाट उनीहरु बिचलित र स्खलित भए । उनीहरुले आफ्नो साधन बदलेर पञ्चायती बने । कम्युुनिष्ट आन्दोलनमा लागेका उनीहरु एउटा सपना छाडेर पञ्चायती बन्न पुुगे । यस्तै, यात्राको क्रममै कतिपय सपनाका यात्रीहरुको सपनाको विकास हुने गर्दछ । उनीहरुले पहिलेभन्दा अझै माथि र झन् सुन्दर सपना देख्छन् र त्यहाँसम्म पुग्न चाहन्छन् । त्यो बेला पहिलेको सपना प्राप्तिको निम्ति प्रयोग गरेको साधन अयोग्य हुनसक्दछ । अवश्य पनि त्यो बेलासपनाका यात्रीहरुले उपयुक्त साधनको खोजीमा प्रयोग गरिराखेको साधन बदल्न सक्दछन् ।
नेपालमा कुनै दिन कम्युनिस्ट पार्टी नै थिएन । त्यतिबेला श्रमजीवि वर्गको सपना विद्यमान बुर्जुवा पार्टीहरुले नै पुरा गर्दछ भन्ने सबै श्रमजीविहरुलाई लाग्दथ्यो र उनीहरु बुर्जुवा पार्टीको सदस्य बन्दथे । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात पनि निर्मल लामा, मोहनविक्रम सिंहलगायत कैयौँ नेताहरु उहिले नेपाली कांग्रेसको सदस्य थिए । नेपाली कांग्रेसमा काम गर्दै जाने क्रममा उक्त पार्टीको लक्ष्य उद्देश्यभन्दा उहाँहरुको सपनाको विकास धेरैमाथि पुग्यो । अब उहाँहरुको सपना प्राप्तिको निम्ति कांग्रेसबाट सम्भव देखिएन । त्यसकारण उहाँहरुले कांग्रेस परित्याग गरेर कम्युनिस्ट पार्टीमा लाग्नुभयो र कम्युनिस्ट पार्टीको अत्यन्तै सम्मानित नेता बन्नुभयो ।
माथि चर्चा गरिएका कुराहरु सैद्धान्तिक हुन् । त्यसबाहेक कतिपय व्यवहारिक कारणले पनि कैयौ मान्छेहरु दलबदल गर्न बाध्य हुन्छन् । कुनै दिन मातृकाप्रसाद कोइराला पनि कांग्रेसको नेता थिए तर, उनले कांग्रेस त्यागे । त्यसको कारण थियो, आफ्नै भाइ विपी कोइरालासँगको व्यक्तिगत टक्कर । त्यस्तै कांग्रेसले लौहपुरुष उपनाम र सर्वमान्य उपाधि दिएका गणेशमान सिंहले जीवनको पछिल्लो चरणमा कांग्रेस त्यागे । कांग्रेस त्याग्नुको कारणबारे उनले भनेका थिए, “उपाधि चाहिँ सर्वमान्य तर, कसैले पनि आपूmलाई नमान्ने नै मैले यो निर्णय गर्नुको कारण हो ।” गणेशमानले पार्टी छाडेकोबारे कतिपयले गिरिजाप्रसाद कोइरालासँगको टक्कर र कोइराला पक्षबाट बारम्बारको अपमान मुख्य कारण हो । कांग्रेसमा मात्र होइन देशका लगभग सबै पार्टीमा बिना कुनै सैद्धान्तिक राजनैतिक मतभेद यही कारणले अर्थात् पटक–पटक अपमानित र अपहेलित हुनुको कारणले आफैँ जन्माएको, हुर्काएको दल परित्याग गर्न बाध्य हुन्छन् ।
राजनीतिमा एउटा तप्का पार्टीभित्रको अपमान, पार्टीको नेतृत्वमा हुने वैचारिक स्खलनलगायतका प्रताडनमा परेर पार्टी त्यागेका हुुन्छन् भने अर्कोतप्का निहीत स्वार्थपूूर्तीका लागि दल अदलबदल गरिरहन्छन् । दल अदलबदल गरिरहने पंक्ति निकै व्यक्तिवादी र स्वार्थी हुन्छन् । उनीहरुलाई दलबदलसम्बन्धी कुनै सैद्धान्तिक, राजनैतिक नजिरको अर्थ हुँदैन । जहाँ जसरी, जुनसुकै समयमा अवसर प्राप्त हुन्छ, त्यहाँ समर्पित हुनु नै अवसरवादीहरुको धर्म हो । कतिपय एक दिनमै दुुई वटा राजनीतिक दल फेर्ने पनि मानिस छन् । एउटा दलमा सपथ खाएको २४ घण्टा नहुँदै अर्को दलमा जाने पनि मानिस छन् । संसदीय प्रणालीमा अझ यस्तो घटना बढी देखिन्छ । केही व्यक्ति लाभ देख्ने वित्तिकै दल अदल बदल गर्ने प्रवृत्तिका मानिसको पनि संखया सामान्य छैनन् । यस्ता निच अवसरवादीबाट पार्टी र पार्टी नेतृत्व सजग रहन आवश्यक हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies