२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार १५ गते ११:४७
Shares
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहट : रौतहटको गढीमाई नगरपालिकामा बागमती नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । नदीमा पौडी खेलेर बगेर आएको दाउरा निकाल्ने क्रममा दुवै जना बेपत्ता भएका थिए ।

ncell

​प्रहरीका अनुसार गढीमाई नगरपालिका वडा नम्बर १ हरैया घाटस्थित बागमती नदीमा आइतबार दिउँसो स्थानीय भन्टु रायका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव डुबेर बेपत्ता भएका थिए ।

​स्थानीयले घटनाबारे जानकारी गराउनासाथ समनपुरस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक राजु खत्रीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित ७ जना र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुन्ना कुमार पासवानको कमाण्डमा ४ जनाको टोली खोजी कार्यमा जुटेको थियो ।

​सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । वर्षायामसँगै नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र बालबालिकालाई नदी किनारमा एक्लै नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित खबर