
काठमाडौं : स्टार फरवार्ड केलियन एमबाप्पेले विश्वकपको नकआउट चरणमा नयाँ इतिहास रचेका छन् । उनको दुई गोलको मद्दतले फ्रान्सले स्विडेनलाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै सन् २०२६ को विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
२७ वर्षीय फ्रान्सेली कप्तान एमबाप्पेले यस खेलसँगै विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका छन् । उनले नकआउट चरणमा १० गोल पुऱ्याउँदै ब्राजिलका दिग्गज खेलाडीहरू रोनाल्डो र लियोनिडासको ८ गोलको कीर्तिमानलाई पछाडि छोडेका हुन् ।
यस प्रतियोगितामा एमबाप्पेको गोल संख्या ६ पुगेको छ, जसका कारण उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग बराबरीमा रहेका छन् । समग्र विश्वकपको तथ्यांक हेर्दा १८ खेलमा १८ गोल गरेका एमबाप्पे, मेस्सीको १९ गोलको सर्वकालीन कीर्तिमान भन्दा मात्र एक गोलले पछि छन् । मेस्सीले २९ खेल खेल्दै उक्त रेकर्ड बनाएका हुन् ।
मेटलाइफ स्टेडियममा ८० हजार ६ सय ६३ दर्शकका बीच भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको ४५औं मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा माइकल ओलिजको पासमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा एमबाप्पेले ओलिजकै पासमा आफ्नो दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

माइकल ओलिजले खेलमा दुई असिस्ट गर्दै यस विश्वकपमा आफ्नो कुल असिस्ट संख्या ५ पुऱ्याएका छन्, जुन सन् १९९४ पछि कुनै पनि खेलाडीले एउटै विश्वकपमा गरेको सर्वाधिक असिस्ट हो ।
आफ्नी आमाको अन्त्येष्टिमा सहभागी भएर टोलीमा फर्किएका प्रशिक्षक डिडियर डेसच्याम्प्सका लागि पनि यो जित विशेष रह्यो । उनले विश्वकपमा प्रशिक्षकका रूपमा १८औं जित दर्ता गर्दै हेलमुट शोनको १७ जितको कीर्तिमान तोडेका छन् । गोल गरेपछि एमबाप्पेले प्रशिक्षकलाई अंकमाल गर्दै उनीप्रति सम्मान र समर्थन प्रकट गरेका थिए ।
खेलपछि प्रतिक्रिया दिँदै एमबाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सामूहिक लक्ष्य ठुलो भएको बताएका छन् । एमबाप्पेले भने, 'हाम्रो मुख्य लक्ष्य भनेको जुलाई १९ को फाइनलमा पुग्नु र यही रंगशालामा पुनः फर्किनु हो ।' उनले आफूहरू एक पटकमा एक कदम मात्र अघि बढ्ने रणनीतिमा रहेको स्पष्ट पारे । 'तपाईंले जति धेरै गोल गर्नुहुन्छ, वरीयतामा त्यति नै माथि पुग्नुहुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर म पाराग्वे जस्ता अबका प्रतिद्वन्द्वी र हाम्रो फाइनलको लक्ष्यमा बढी केन्द्रित छु,' एमबाप्पेले भने ।
मेस्सीसँगको प्रतिस्पर्धाबारे टिप्पणी गर्दै एमबाप्पेले भने, 'मलाई विश्वास छ कि लियो (मेस्सी) ले अझै धेरै गोल गर्नेछन्, त्यसैले म त्यसमा धेरै ध्यान दिन्नँ, तर मलाई ट्रफी जित्नु छ ।'
आफ्नो व्यक्तिगत जादुमयी प्रदर्शनका बाबजुद एमबाप्पेले टोलीको योगदानलाई जोड दिए । उनले भने, 'म को हुँ र मैले के गर्नुपर्छ भन्नेमा म सचेत छु, तर यो मेरो बारेमा मात्र होइन । पूरै टिमलाई आफ्नो जिम्मेवारी थाहा छ ।'
क्वार्टरफाइनलमा प्रवेशका लागि फ्रान्सले अब शनिबार फिलाडेल्फियामा पाराग्वेको सामना गर्नेछ । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै अप्रत्याशित रूपमा अन्तिम १६ मा स्थान बनाएको थियो ।