२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

विद्यालयमै लागुऔषधविरुद्ध सचेतना

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २२ गते १४:४३
Shares
विद्यालयमै लागुऔषधविरुद्ध सचेतना

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–१ स्थित माध्यमिक विद्यालय चिकना जेठरहियामा अध्ययनरत विद्यार्थीहरूका लागि लागुऔषध नियन्त्रण तथा जनचेतनामूलक तालिम सञ्चालन गरिएको छ ।

ncell

विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत करिब २०० विद्यार्थी सहभागी कार्यक्रममा लागुऔषध दुर्व्यसनका जोखिम, त्यसले स्वास्थ्य, समाज र भविष्यमा पार्ने असर तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।

वडा नं. १ का अध्यक्ष नन्दलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी गौतमले लागुऔषधले व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्ने बताए । उनले लागुऔषधको सेवनले केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष प्रभाव पारेर व्यक्तिको चेतना, व्यवहार र दैनिक जीवनमा नकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे ।

उनका अनुसार लागुऔषधको लतमा परेका व्यक्तिहरू आवश्यकताको पूर्ति गर्न तथा मानसिक सन्तुलन गुमाउँदा आपराधिक गतिविधितर्फ समेत आकर्षित हुने जोखिम बढ्ने भएकाले किशोरकिशोरीलाई समयमै सचेत बनाउन आवश्यक छ ।

तालिममा सहभागी विद्यार्थीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतका प्रमुख कानुनी प्रावधानबारे पनि जानकारी दिइएको थियो । कार्यक्रममा औषधोपयोगी गाँजा, अफिम, कोकाको झार तथा नेपाल सरकारले प्रतिबन्ध लगाएका विभिन्न मनोद्विपक पदार्थहरूको अवैध खेती, उत्पादन, खरिद–बिक्री, ओसारपसार, सञ्चय वा सेवन कानुनअनुसार दण्डनीय अपराध रहेको र त्यसमा कैद तथा जरिवानाको व्यवस्था रहेको विषयमा समेत स्पष्ट पारिएको थियो ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष यादवले विद्यालयस्तरमा सञ्चालन हुने यस्ता सचेतनामूलक कार्यक्रमले विशेषगरी सीमावर्ती क्षेत्रमा बढ्दै गएको लागुऔषधको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि गाउँपालिका, प्रहरी प्रशासन र विद्यालयबीच समन्वय गर्दै लागुऔषधमुक्त समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो । सहभागी विद्यार्थीहरूले लागुऔषधविरुद्ध आफ्नो घरपरिवार र समुदायमा समेत जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर