२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

धार्मिक झन्डाको विवादले झडप, सुनसरी दिनभर तनावग्रस्त

Nada
तेज बन
२०८३ साउन १२ गते ०६:२५
Shares
धार्मिक झन्डाको विवादले झडप, सुनसरी दिनभर तनावग्रस्त

इटहरी : सुनसरीको देवानगन्ज नगरपालिका–३ कप्तानगन्जमा एक महिनादेखिको धार्मिक झन्डा विवादले दुई समुदायबीच हिंसात्मक झडप निम्त्याएको छ । 

स्थानीयका अनुसार, मोहरम पर्वका क्रममा सो झन्डा राखिएको थियो । पर्व सकिएपछि झन्डा हटाउन अर्को समुदायले आग्रह गर्दै आएको थियो । यो विवाद देवानगन्जका मेयर बेचनकुमार मेहतासम्म पनि पुगेको थियो । उनले पनि झन्डा हटाउन आग्रह गरेका थिए । तर, प्रशासन र सुरक्षा निकायले आवश्यक पहल नगरेको स्थानीयको गुनासो छ ।

आइतबार बेलुका बोलबम पूजाको तयारीस्वरूप डिजेसहित सांगीतिक कार्यक्रम चलिरहेको थियो । राति करिब ९ बजे अर्को समुदायका केही व्यक्तिले ठुलो आवाजले असहज भएको भन्दै विरोध जनाए । त्यसपछि दुई पक्षबीच भनाभन सुरु भई तनावको स्थिति उत्पन्न भएको हो । घटनास्थलमै रहेका सुनसरी–२का सांसद लालविक्रम थापाले विवाद चलिरहेका बेला अचानक विद्युत् आपूर्ति अवरुद्ध भएको र करिब दुई घण्टापछि मात्रै विद्युत् आउँदा अवस्था तनावग्रस्त भइसकेको बताए । 

विवाद नियन्त्रणका लागि नेपाल प्रहरी घटनास्थल पुगे पनि स्थिति सहज हुन सकेन । प्रहरी पुगेपछि एक पक्ष त्यहाँबाट हटेको थियो । लगत्तै प्रहरी र बोलबमको तयारीमा रहेको समूहबीच झडप भएको थियो । नेपाल प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार प्रदर्शनकारीले सुरक्षाकर्मीलाई घेरेर ढुंगामुढा गरेपछि सुरुमा हवाई फायर र पछि २५ राउन्ड गोली चलाएको थियो । 

घटनापछि सोमबार दिनभर सुनसरीको अवस्था तनावग्रस्त रह्यो । देवानगन्जमा आइतबार राति दुई समुदायबीच भएको सामान्य विवाद हिंसात्मक झडपमा परिणत भएपछि सोमबार दिनभर प्रदर्शन भएको हो । 

झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् । 

घटनामा सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएका छन् । बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज, हरिनगरा, घुस्की र भुटाहा क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । तर, स्थानीयले कफ्र्युको अवज्ञा गर्दै दिनभर प्रदर्शन जारी राखे । प्रदर्शनका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भए । 

स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ । सेना सडकमा उत्रिए पनि प्रदर्शन रोकिएको छैन । इनरुवासहित विभिन्न क्षेत्रमा प्रदर्शनकारीले तोडफोडसमेत गरेका छन् । इनरुवामा दुईवटा पसल र एउटा निजी भवनमा तोडफोड गरिएको छ भने मुख्य चोकमा टायर बालेर प्रशासनविरुद्ध नाराबाजी गरिएको छ । 

प्रदर्शनकारीले इनरुवा क्षेत्रमा दुईवटा पसल र एक निजी भवनमा तोडफोड गरेका छन् । मुख्य चौकमा टायर बालेर प्रशासनविरुद्ध नाराबाजी पनि गरे । 

सोमबार सर्वपक्षीय छलफलमा भएको थियो । त्यसबेला बेला सुरक्षा निकायका प्रमुखहरू आफ्नो कार्यक्षेत्रमै नरहेको विषय उठेको थियो । सम्बद्ध अधिकारीका अनुसार कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरे, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेवे तथा सशस्त्र प्रहरीका एसपी श्याम कार्की घटना भएका बेला जिल्लामा थिएनन् । 

डिआइजी घिमिरे काम विशेषले बिदामा रहेको, एसपी थेबे भने बुवाको उपचारका लागि पाँच दिनदेखि जिल्ला बाहिर रहेका थिए । सशस्त्र प्रहरीका एसपी कार्की भने केही दिनअघि नै गृहमन्त्रीको निर्देशनमा छानबिनका लागि प्रधान कार्यालय तानिएका थिए । उनको स्थानमा नयाँ कमान्डर खटाइएको थिएन । 

गत असार अन्तिमतिर गृहमन्त्री पूर्वी सीमा क्षेत्रको निरीक्षणमा जाँदा एसपी कार्कीले तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकाल्दै उनलाई फिर्ता बोलाएका थिए । 

सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील मानिने कप्तानगन्ज देवानगन्ज क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रदेश प्रहरी तीनै तहका प्रमुख जिल्ला बाहिर रहनुले प्रशासनिक कमजोरी उजागर गरेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । 

भारतीय सीमासँग जोडिएको सुनसरी जिल्ला गाँजा तथा अन्य लागुऔषध तस्करी, सीमापार आपराधिक गतिविधि र धार्मिक संवेदनशीलताका कारण लामो समयदेखि सुरक्षा निकायको ‘रेड जोन’मा पर्दै आएको छ । यस्तो जिल्लाको दक्षिणी सीमाको जिम्मेवारी रहेको सशस्त्र प्रहरीको प्रमुख पद नै खाली रहनुले सुरक्षा संयन्त्रको तयारीमाथि पनि प्रश्न उठाएको छ ।

सुरक्षा प्रमुख फेरेर छानबिन 

गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई एक साताभित्र सत्यतथ्यसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ऊर्जा मन्त्रालयका प्रतिनिधि सदस्य छन् भने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहेका छन् । 

सुरक्षा प्रमुखको जिम्मेवारी खोसेर छानबिन समिति गठन गरिएको हो । घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेको हो ।

सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई पठाउने निर्णय गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको ठाउँमा त्यहीँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।

सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई पनि फिर्ता बोलाएर प्रधान कार्यालयका एसपी लवकुमार सापकोटालाई सुनसरी पठाइएको छ । कप्तानगन्जस्थित सशस्त्र प्रहरी बलका डिएसपी नन्दकिशोर महतोलाई हटाएर प्रधान कार्यालयका डिएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ ।

विराटनगर र जनकपुरमा पनि प्रदर्शन 

सुनसरीको देवानगन्ज घटनाको विरोध विराटनगर र जनकपुरसम्म फैलिएको छ । दोषीमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै युवाहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मुख्य बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान बन्द गराउँदै विरोध जनाएका थिए । जसका कारण विराटनगरको जनजीवन केही समय प्रभावित बनेको थियो । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । मुख्य बजार क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ । जनकपुरमा प्रधानमन्त्री वालेन्द्र शाह र उनका प्रमुख सल्लाहकार असिम शाहको तस्बिर जलाइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले मध्यान्हसँग कुरा गर्दै विराटनगरको शान्ति–सुरक्षालाई ध्यानमा राखेर सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा राखिएको र सम्भावित जोखिमको निरन्तर निगरानी भइरहेको बताए ।

पूर्वसंघीय राज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र गम्भीर छानबिन गर्न माग गरेका छन् । 

सोमबार जारी प्रेस विज्ञप्तिमा निकालेर उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा नागरिक र प्रहरीबीच भएको रात्रिकालीन झडपलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । 

हुसैनले ‘घटनाको वास्तविक दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन, घाइतेहरूको उच्चस्तरीय उपचारको व्यवस्था गर्न तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन’ सरकारसँग आग्रह गरेका छन् । 

नेपाल धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मानको साझा भूमि भएको उल्लेख गर्दै उनले ‘धर्म, जाति वा कुनै पनि बहानामा घृणा, हिंसा, द्वन्द्व र अशान्ति फैलाउने गतिविधि स्वीकार्य हुन नसक्ने’ बताएका छन् ।

सम्बन्धित खबर