२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

माओवादी स्थायी समिति बैठक : अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध हुन आग्रह

shivam cement
२०८१ साउन २९ गते १८:५७
Shares
माओवादी स्थायी समिति बैठक : अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध हुन आग्रह

काठमाडौं : पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा माओवादी केन्द्रको गतिविधिलाई  प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संगठिन हुनुपर्नेमा जोड दिइएको छ । 

माओवादी केन्द्रको स्थायी समितिको आजको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमै एकताबद्ध आग्रह गरेका थिए ।

उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्नका लागि पनि पार्टी अध्यक्ष प्रचण्डले नै खास पहल लिनुपर्ने र उहाँको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा राखेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाका अनुसार पार्टी नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधनका उठाएको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्नेमा विकल्प खोज्ने विषय उठाउनु गलत हुने बताएका थिए ।

बैठकमा खासगरी, उच्चस्तरीय जनवादको अभ्यास भएको र सोही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लानुपर्नेमा नेताहरूले जोड दिएको बताए । 

यस्तै विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा जोड दिनुपर्ने एवम् आन्तरिक एकतालाई जोड दिँदै अगाडि बढ्नुपर्नेमा नेताहरूको साझा मत रहेको थियो । त्यस्तै पार्टी कार्यकर्ताको व्यवस्थापन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेलगायत विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यको धारणा थियो ।

अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणा समेटेर एउटा प्रस्ताव तयार पार्ने र केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय समितिको बैठकलगत्तै स्पष्ट कार्ययोजनाका साथ माओवादीले संगठन सुदृढीकरण र जनपरिचालन गर्ने तयारी गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा ११ जना स्थायी समिति सदस्यले धारणा राखेका थिए । स्थायी समिति सदस्यको धारणा राख्नेक्रम सकिएपछि आवश्यक तयारी गरेर बिहीबार अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची तय भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।  

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव हरिबोल गजुरेल नेताहरू कुवेर ओली, सत्य पहाडी, खगराज भट्ट, डिलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, नन्दकुमार प्रसाईंले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले अगाल्नुपर्ने नीति तथा कार्यक्रम, सांगठनिक विषयमा आफ्नो धारणा राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर