२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कोकिन तस्करीमा प्रहरी आक्रामक : एक सातामा २५ करोडको कोकिन बरामद

ADV
खिलानाथ ढकाल
२०८१ साउन २९ गते २१:१९
कोकिन तस्करीमा प्रहरी आक्रामक : एक सातामा २५ करोडको कोकिन बरामद

काठमाडौं : काठमाडौंबाट ठूलो परिमाणमा कोकिनसहित भरियाहरू पक्राउ पर्न थालेका छन् । एक सातामा प्रहरीले तीन जना भरियालाई झण्डै २५ करोडको कोकिनसहित पक्राउ गरेको छ । 

यसक्रममा प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित होटलबाट कोकिनसहित भरिया र भारतीय तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय तस्कर के जुचोबेनी सोपोई रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले दुबैलाई सोमबार पक्राउ गरेको हो । उनीहरू अलग–अलग होटलमा बसेका थिए । ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो । उनका अनुसार उनीसँगै भारतीय महिलालाई पक्राउ गरिएको हो । उक्त क्याप्सुल बुझ्न महिला भारतबाट नेपाल आएर बानेश्वरकै अर्को होटलमा बसेकी थिइन् । 

बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ । एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै कतार एयरको जहाजमा नेपाल आएका थिए । दुबईबाट आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए । 

आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन् । उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन् । 

‘ती महिलाले कसका लागि लागुऔषध लिन काठमाडौं आएकी थिइन् खुलिसकेको छैन,’ आचार्यले भने, ‘हामी लागुऔषध पुग्ने ठाउँ र कारोबारीबारे अनुसन्धान गरिरहेका छौं ।’

गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए । उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ । 

लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौं आइपुगेका थिए । दुवै जनालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइ अनुसन्धान थालिएको छ ।

२०८१ वैशाखयता प्रहरीले कोकिन तस्करीमा आक्रामक बन्दै ‘अपरेसन’ चलाइरहेको छ । यी दुई घटनाअघि प्रहरीले ३५ करोड ७९ लाख रुपैयाँ बराबरको कोकिन बरामद गरेको थियो । यो करोडौंको कोकिन लिएर आउने भरियाहरूले पेटमा निलेर आएका थिए । 

अहिले तान्जानियाबाट आएका व्यक्तिले पनि कोकिनका क्याप्सुल निलेका थिए । काठमाडौं आएपछि उनले कोकिन दिसाबाट ‘अनलोड’ गरी झोलामा प्याक गरेका थिए ।

लाट्भियाका नागरिकले भने उक्त कोकिन सुटकेसमा बोकेर आएको देखिएको एसएसपी आचार्य बताउँछन् । 

‘उनले त्यत्रो कोकिन दुई तीन वटा विमानस्थलबाट कसरी छिराए भन्ने कुरा आश्चर्यको विषय छ,’ आचार्यले भने, ‘त्यो कोकिन पनि भारततर्फ पठाउन लागेको तर भारतबाट मानिस आइनपुग्दै उनी पक्राउ परेका थिए ।’

युरोपियन मुलुक लाट्भियाका नागरिकलाई प्रहरीले कोकिनसहित पहिलो पटक पक्राउ गरेको थियो । वैशाखयताका घटनामा अधिकांश दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू प्रायः कोकिन निलेर नेपाल आउने क्रम बढ्दो देखिन्छ । कोहीले भने लुगामा फल्स बटम बनाएर आउने गरेका छन् । 

यस्ता क्याप्सुल निल्दा स्वास्थ्य जोखिम उच्च रहेपनि बेवास्ता गर्दै ती भरियाहरू पेटमा कोकिन बोकेर आइरहेकै देखिन्छन् । 

कोकिन एक प्रकारको कडा लागुऔषध हो, जुन कोका बिरुवाको पातबाट रासायनिक प्रशोधनद्वारा तयार गरिन्छ । 

कोकिनको बिरुवा दक्षिण अमेरिकी मुलुकका पहाडी र जंगल क्षेत्रमा पाइन्छ । मुख्यतया पेरु, कोलम्बिया, बोलिभिया र चिलीको दक्षिणी भेगमा कोकिन प्रशोधन गरिन्छ । 

पश्चिमी मुलुकबाट भरियामार्फत् पठाइने कोकिन नेपाल ट्रान्जिट भएर दक्षिण एसियाली मुलुक भारततर्फ तस्करी भइरहेको दाबी प्रहरीको छ ।  

कोकिन लागुऔषध सभ्रान्तहरूले प्रयोग गर्छन्। कोकिन एक ग्राम ३५ देखि ४० हजार रुपैयाँसम्म पर्ने प्रहरीको दाबी छ । 

नेपालमा कोकिन प्रयोग गर्ने व्यक्ति प्रहरीले अहिलेसम्म पत्ता नलागेको दाबी गर्दै प्रहरी यसको बजार भारत नै रहेको बताउँछ । कोकिन पठाउने अन्तर्राष्ट्रिय संगठित समूहले भारत तस्करीका लागि भरियाहरू खटाइरहेको दाबी प्रहरीले गरिरहेको छ । 

अहिलेका अधिकांश घटनामा भरियाहरूबाट कोकिन बुझ्न भारतीय नागरिक नेपाल आइरहेको प्रमाणित नै भएको एसएसपी आचार्य बताउँछन् । ‘कोकिन कारोबारका संगठितहरूले भारतसम्म पुर्‍याउने सुरक्षित स्थान नेपाल ठानिरहेका छन्,’ आचार्य भन्छन्, ‘यसका केही कारणहरू पाइन्छन्, हामी कारण पहिचान गरी नियन्त्रण र रोकथाम गर्न लागिपरेका छौं ।’

ADVADV

सम्बन्धित खबर

Advertise