
काठमाडौं : नेपालमा थरका आधारमा समुदाय छुट्याउने अभ्यास छ । थरकै आधारमा समावेशी प्रतिनिधित्वको अध्यास पनि छ । थरकै आधारमा सम्बन्धित व्यक्तिको परिवार, समुदाय र सामाजिक पृष्ठभूमिबारे अनुमान गर्ने र थरकै आधारमा जातको अनुमान गर्ने प्रवृत्ति छ ।
तर, थरकै आधारमा पहिचान थाहा नलाग्ने सरकारी तथ्यांकले नै देखाउँछ । राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूची तयार पारेको छ । जसले एउटै थर भएका दुई व्यक्ति फरक जातीय समुदायका हुन सक्छन् भन्ने देखाउँछ ।
आयोगको तयार पारेको विवरणमा पहाडी दलित समुदायले प्रयोग गर्ने थरहरूको सूची छ । आयोगको तथ्यांकअनुसार गैरदलितका थर २१४ वटा थर पहाडी दलित समुदायले प्रयोग गर्छन् । जसमा अधिकारी, आचार्य, उपाध्याय, ओली, कँडेल, कोइराला, गौतम, जोशी, खनाल, दाहाल, पाण्डे, पोखरेल, पन्त, पौडेललगायत पर्दछन् । यी थर नेपाली समाजमा सामान्यतया अन्य समुदायसँग पनि जोडिएर चिनिन्छन् । तर, आयोगको दस्ताबेजमा तिनै थर दलित समुदायले पनि प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
यसको अर्थ एउटै थर भएका सबै व्यक्ति एउटै जातका हुन्छन् भन्ने सामाजिक बुझाइ सही नरहेको देखाउँछ । उदाहरणका लागि, पाण्डे भन्ने थर सुन्दा एउटा निश्चित समुदायको मानिस भन्ने अनुमान लगाउन सकिन्छ । तर, आयोगको तथ्यांकमा पाण्डे थर दलित समुदायले पनि प्रयोग गर्ने थरका रूपमा सूचीकृत छ । यस्तै अधिकारी, आचार्य, उपाध्याय, ओली वा गौतमजस्ता थर पनि दलित समुदायले प्रयोग गर्दै आएको आयोगको तथ्यांक छ ।
तथ्यांकअनुसार पहाडी दलितले प्रयोग गर्ने थरहरूमा विश्वकर्मा समुदायले प्रयोग गर्ने थरहरूको संख्या ३५८ छ । परियार समुदायले प्रयोग गर्ने थरहरू २९६, मिजार समुदायले प्रयोग गर्ने थरहरू २३३, बादी समुदायले प्रयोग गर्ने थरहरू ४०, गन्धर्व समुदायले प्रयोग गर्ने थरहरू १६, च्यामे समुदायले प्रयोग गर्ने थरहरू ४ र पोडे समुदायले प्रयोग गर्ने थरहरू ५ रहेका छन् । यसबाहेक पहाडी दलितले प्रयोग गर्ने गैरदलितका थरहरू २१४ वटा रहेका छन् ।
यस्ता साझा थरलाई समाजले निश्चित समुदायका रूपमा बुझ्ने मात्रै होइन । सरकारले दिने सहुलियत र समावेशी प्रतिनिधित्वमा समेत पहिलो आधारका रूपमा थरलाई लिने गरिन्छ । केहीगरी थर साझा प¥यो भने तीन पुस्ता हेरेर निक्र्योल गर्ने अभ्यास छ । साझा थर प्रयोग गर्ने दलित व्यक्तिले आफ्नो दलित पहिचान प्रमाणित गर्न चाहेमा सम्बन्धित स्थानीय निकायबाट तीनपुस्ते दलित खुलेको प्रमाण आवश्यक पर्ने कानुनी व्यवस्था छ ।
मधेसी दलित समुदायको सूची अझ फराकिलो संरचनामा छ । आयोगको तथ्यांक अनुसार चमार समुदायले प्रयोग गर्ने थरहरू ३१, मुसहर समुदायले प्रयोग गर्ने थरहरू १७, दुसाध समुदायले प्रयोग गर्ने थरहरू ११, तत्मा समुदायले प्रयोग गर्ने थरहरू ६, खत्वे समुदायले प्रयोग गर्ने थरहरू ११ वटा रहेको छ ।
धोबी समुदायले प्रयोग गर्ने थरहरू ४२, बाँतर समुदायले प्रयोग गर्ने थरहरू ९, कोरी समुदायले प्रयोग गर्ने थरहरू ९, डोम समुदायले प्रयोग गर्ने थरहरू १९, खटिक समुदायले प्रयोग गर्ने थरहरू ४, नटुवा समुदायले प्रयोग गर्ने थरहरू २, ढाँडी समुदायले प्रयोग गर्ने थर एउटा रहेका छन् ।
चिडिमार समुदायले प्रयोग गर्ने थरहरू ६, ककैहिया समुदायले प्रयोग गर्ने थरहरू २, कलर समुदायले प्रयोग गर्ने थरहरू ३, धन्का समुदायले प्रयोग गर्ने थरहरू ४, पासी समुदायले प्रयोग गर्ने थरहरू ७, मेस्तर समुदायले प्रयोग गर्ने थरहरू १२, सरभंग समुदायले प्रयोग गर्ने थरहरू १३ र उरौव समुदायले प्रयोग गर्ने थरहरू ६ वटा रहेका छन् । मधेशी दलितले प्रयोग गर्ने गैरदलितका थरहरू ४१ वटा रहेका छन् ।
पहाडी र मधेशी दुवै दलित समुदायले प्रयोग गर्ने साझा थर प्रयोग गरेका छन् र दलित समुदायको पहिचान खोज्दा प्रशासनिक झन्झटसमेत व्यहोर्नुपर्ने हुन्छ । बाबु, बाजे वा अघिल्ला पुस्तासम्मको सामाजिक पहिचान हेरेर प्रमाणित गर्न सकिने व्यवस्था छ । आयोगका अनुसार यसमा थपघटसमेत हुन सक्छ । अद्यावधिकका लागि यो विवरणमाथि राय मागिएको छ ।
कानुनतः दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्करणमा पारिएका, श्रम, सीप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय हुन् । आयोगका अनुसार समुदायको सही पहिचान गर्न सकियोस् र राज्यले दिने सुविधा लक्षित वर्गले सहजै प्राप्त गर्न सकोस् भन्ने उद्देश्य छ ।