
प्युठान : प्युठानमा माडी र लुङ्ग्री खोलाको किनारमा एकै दिन पाँच जना व्यक्तिका शव फेला परेका छन् । मृतकहरूको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । फेला परेका शवमध्ये एक जना करिब १२/१३ वर्षका बालकसमेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान करिब साढे ७ बजे स्थानीयले स्वर्गद्वारी नगरपालिका क्षेत्रमा माडी खोलाको किनारमा बेवारिसे अवस्थामा शवहरू फेला परेको जानकारी गराएका थिए । सूचनापछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो ।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षका एक बालक उत्तानो अवस्थामा मृत फेला परेका छन् । त्यसैगरी स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी नगरपालिका–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ । तीनवटै शवको पहिचान खुल्न सकेको छैन ।
त्यसैगरी बिहान करिब साढे ९ बजे स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउकोको खप्पर नभएको तथा बायाँ खुट्टा घुँडादेखि तल नभएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
बिहान करिब १० बजे माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा पनि एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शवहरूको पहिचान तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान अघि बढाएको छ । शवहरू एउटै घटनासँग सम्बन्धित हुन् वा फरक–फरक घटनाका हुन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ ।
घटनाबारे थप विवरण तथा मृतकहरूको पहिचान अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । पाँचवटै शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको छ ।