
अमेरिकी लेखक मार्क ट्वाइनले कतै भनेका छन् –‘यात्राले पूर्वाग्रह, कट्टरता र संकीर्ण सोचलाई समाप्त पार्छ ।’ तसर्थ कुनै पनि यात्रा हरेक मानिसका लागि फरक सोच, अनुभूति र फरक उद्देश्यका लागि अवश्य हुने गर्दछन् । मेरा लागि यसपटकको यात्रा नर्वेसम्मको मात्र थिएन । यो त पश्चिम नेपालको पुरानो सहर नेपालगन्जदेखि विश्वमञ्चसम्म पुग्ने एउटा सपना र संघर्षको यात्राको प्रतिनिधित्व थियो ।
हुन त, जीवन आफैंमा यात्रा हो । कहिले कता, कहिले कहाँ । जीवनको यात्रा चलिरहन्छ । संघर्ष, सफलता, खुसी र सन्तुष्टिका लागि । जीवनका केही यात्रा गन्तव्यका लागि गरिन्छन्, केही यात्रा अनुभवका लागि । म केही नयाँ सिक्न, आत्मविश्वास बढाउन र समाजमा केही योगदान गर्ने हेतुले सकेसम्म यात्रा गर्छु । तसर्थ यात्राका उद्देश्य फरकफरक हुन्छन् । तर, विरलै यस्ता यात्रा पनि हुन्छन्, जसले एकैपटक सपना, संघर्ष, सम्मान र आत्मविश्वास सबैलाई नयाँ अर्थ दिन्छन् । सन् २०२६को नर्वे यात्रा मेरो जीवनको त्यस्तै एउटा अविस्मरणीय अध्याय बन्यो । यो यात्रा मेरा लागि तीन कारणले विशेष थियो । पहिलो, नेपालगन्ज म्याराथनले प्राप्त गरेको एम्स सोसल अवार्ड २०२६ ग्रहण गर्ने गौरवमय क्षण । दोस्रो, मध्यरातसम्म पनि आकाशमा चम्किरहने सूर्य आफ्नै आँखाले हेर्ने बाल्यकालदेखिको कौतुहल । र, तेस्रो, जीवनमै पहिलोपटक १० किलोमिटर दौड पूरा गर्ने व्यक्तिगत संकल्प ।
नेपालगन्ज म्याराथनको यात्रा सुरु गर्दा हामीसँग न त ठुलो बजेट थियो, न अन्तर्राष्ट्रिय पहुँच । थियो त केवल एउटा विश्वास । दौडले समाजको सोच बदल्न सक्छ भन्ने अटल विश्वास । सामाजिक रूपान्तरणको महत्त्वपूर्ण औजार सडक दौड बन्न सक्छ भन्ने सोच । दौड पदक जित्ने खेल मात्र होइन, यसले स्वास्थ्य, पर्यटन, सामाजिक एकता, महिला सहभागिता र स्थानीय पहिचानलाई एकैसाथ अघि बढाउन सक्छ । यही विश्वासलाई आधार बनाएर सुरु भएको अभियानले ११ वर्षभन्दा बढी समयपछि विश्व रनिङ समुदायबाट सामाजिक प्रभावको सम्मान पाउनु मेरा लागि शब्दमा व्यक्त गर्न गाह्रो क्षण थियो ।
वल्र्ड रनिङको विश्वव्यापी छाता संगठन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)मा विश्वका १२० देशमा नियमित आयोजना हुने दौडका ४६० भन्दा बढी सदस्य छन् । यसअर्थमा सायद यो विश्वव्यापी ठुलो संगठन पनि हो । नेपालबाट एम्सको पहिलो सदस्य नेपालगन्ज म्याराथन नै हो । संयोगले जापानको ओसाकामा २०२३मा २३औं वल्र्ड कंग्रेस हुँदा नेपालगन्ज म्याराथनको प्रतिनिधि भएर मैले पहिलोपटक वल्र्ड कंग्रेसमा सहभागिताको अवसर प्राप्त गरेको थिएँ । एम्सको चार दशकको इतिहासमा नेपालबाट पहिलोपटक प्रतिनिधित्व हुँदा आयोजक आफैं दंग थिए । त्यसपछि २०२४मा भियतनामको हनोइमा २४औं वल्र्ड कंग्रेस हुँदा नेपालगन्ज म्याराथनको तर्फदेखि मैले नै सहभागिता जनाएँ । यसपटक पोखरा म्याराथनका प्रतिनिधिका रूपमा हरि पराजुली दाइ पनि साथमा हुनुहुन्थ्यो । र, यसपटक नर्वेको टम्सोमा २५औं वल्र्ड कंग्रेसमा मैले तेस्रोपटक सहभागिता जनाएको थिएँ । खेलकुदको भाषामा यसलाई ह्याट्रिक भन्छन् । नर्वे यात्रामा नेपालबाट एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाण्डे पनि साथमै हुुनुहुन्थ्यो ।
नर्वेको ट्रम्सोमा आयोजित त्यही एम्सको २५औं वल्र्ड कंग्रेसमा विश्वका सयौं प्रतिष्ठित म्याराथन आयोजकको बीच नेपालगन्ज म्याराथनको नाम उच्चारण हुँदा मेरो मनमा एउटै कुरा आइरहेको थियो– यो पुरस्कार कुनै एक व्यक्तिको होइन । यो हजारौं स्वयंसेवक, धावक, स्थानीय समुदाय, सहयोगी संस्था, प्रायोजक र नेपालगन्जलाई माया गर्ने सबैको साझा सम्मान हो । त्यो क्षणमा मैले नेपालको नाम र आफ्नो सहरको नाम विश्व मञ्चमा गर्वका साथ देखेँ । एउटा सानो सहरबाट सुरु भएको सपना संसारले सुनेको अनुभूति आफैंमा अवर्णनीय थियो ।
तर, नर्वे यात्रा पुरस्कार ग्रहण गर्ने औपचारिक कार्यक्रममा मात्र सीमित रहेन । बाल्यकालमा भूगोलका किताबमा पढेको एउटा कुरा सधैं मनमा बसिरहेको थियो, पृथ्वीका केही ठाउँमा गर्मीयाममा सूर्य राति पनि अस्ताउँदैन ।
त्यो कुरा सुन्दा कुनै कथाजस्तै लाग्थ्यो । ट्रम्सो पुगेपछि त्यो कल्पना यथार्थ बन्यो । घडीले रातको समय देखाइरहेको थियो, तर आकाश उज्यालै थियो । मध्यरात नजिकिँदै गर्दा पनि सूर्य क्षितिजमाथि सुनौलो मुस्कानसहित झलमल्ल गरिरहेको थियो । त्यो दृश्य हेर्दा समय नै रोकिएको जस्तो लाग्यो । हाम्रो जीवन घडीको सुइले चल्छ, तर प्रकृतिको आफ्नै समय रहेछ भन्ने अनुभूति भयो । संसार साँच्चै कति विशाल छ, र हामीले अझै कति कुरा देख्न, सिक्न र बुझ्न बाँकी छ भन्ने भावना मनभरि भरियो । त्यो रात क्यामेराले कैद गरेको दृष्यभन्दा धेरै सुन्दर सम्झनाले मेरो मनमा कैद ग¥यो ।
तेस्रो अनुभव भने पूर्ण रूपमा व्यक्तिगत थियो । एघार वर्षदेखि म्याराथन आयोजना गरिरहेको भएर पनि मैले कहिल्यै आफूलाई धावकका रूपमा परीक्षण गरेको थिइनँ । हजारौं धावकलाई स्टार्ट लाइन र फिनिस लाइनमा स्वागत गर्ने अवसर धेरै पटक पाएँ, तर यसपटक मैले आफैं स्टार्ट लाइनमा उभिने निर्णय गरेँ । जीवनमा पहिलोपटक १० किलोमिटर दूरी दौडने निर्णय सामान्य लाग्न सक्छ, तर मेरा लागि त्यो आत्मविश्वासको परीक्षा थियो ।
दौड सुरु हुँदा उत्साह निकै थियो । केही किलोमिटर सहजै दौडेँ । तर, दूरी बढ्दै जाँदा शरीरले आफ्ना सीमा सम्झाउन थाल्यो । त्यसबेला मैले बर्सौंदेखि नेपालगन्ज म्याराथनमा सहभागी धावकहरूको अनुहार सम्झिएँ । उनीहरू पनि यस्तै थाकेका थिए होलान्, तर हार मानेनन् । मैले आफैंलाई भनेँ, ‘तिमीले अरूलाई निरन्तर प्रेरित गरेका छौ, आज आफैंलाई पनि प्रेरित गर ।’ अन्ततः फिनिस लाइन पार गर्दा घडीमा देखिएको समयभन्दा धेरै मूल्यवान् मेरो अनुहारको मुस्कान थियो । त्यो कुनै प्रतिस्पर्धामा जितेको विजय थिएन, त्यो आफ्नै डर, आफ्नै सीमा र आफ्नै शंकामाथिको विजय थियो । यो यात्राले मलाई एउटा सत्य सिकायो । पुरस्कारले प्रेरणा दिन्छ, प्रकृतिले विनम्र बनाउँछ, र दौडले आफ्नै क्षमता चिनाउँछ ।
नेपाल फर्कंदा मेरो झोलामा एउटा अन्तर्राष्ट्रिय पुरस्कार थियो । मोबाइलमा मध्यरातको सूर्यका तस्बिर थिए । घाँटीमा १० किलोमिटर दौडको पदक पनि थियो । तर, ती सबैभन्दा मूल्यवान् मेरो मनमा बोेकेको नयाँ विश्वास थियो, यदि एउटा सानो सहरबाट सुरु भएको अभियानले ग्लोबल स्टेजमा उभिएर विश्व रनिङको एकमात्र प्रतिष्ठित अवार्ड जित्न सक्छ भने नेपालका असंख्य सपना पनि एक दिन विश्व मञ्चमा पुग्न सक्छन् ।
सायद यही कारणले म आज पनि भन्छु, नर्वे यात्रा मेरो लागि विदेश भ्रमण मात्र थिएन । त्यो मेरो जीवनका तीन सपनाहरू एउटै यात्रामा साकार भएको अविस्मरणीय अध्याय थियो । र, ती तीन सपनाले मलाई फेरि एउटा नयाँ सपना देख्न सिकाएका छन्, नेपाललाई विश्व रनिङ नक्सामा अझ उचाइमा पु¥याउने सपना ।
(ठकुरी एम्सका सद्भावना दूत र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष हुन् ।)