
नेपालको अटोमोबाइल्स क्षेत्र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । सवारी साधन विलासीबाट अनिवार्य साधनको रूपमा विकसित भइरहेको छ । निजी सवारी साधन हुने व्यक्ति सम्पन्नताको श्रेणीमा हुने गरेका थिए, तर पछिल्लो समय नेपालीको जीवनशैलीमा आएको परिवर्तनसँगै घरमा सवारी साधन हुनु अनिवार्यता जस्तै भएको छ । नेपालको सडक विस्तारदेखि बैंक तथा वित्तीय संस्थाले सहजै सवारी साधन खरिद गर्नका लागि कर्जा प्रवाह गर्ने हुँदा समेत आम नागरिकमा सवारी साधन खरिदमा मोह बढ्दै गएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा अटोमोबाइल क्षेत्रको महाकुम्भको रूपमा रहेको ‘नाडा अटो शो’ भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ । नाडा स्थापनाको ५०औं वर्ष पुगेको स्वर्ण जयन्तीसँगै १८औँ संस्करणको यो अटो सो विशेष बनाउन आयोजकको व्यस्तता बढिरहेको छ । यसै सन्दर्भमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग मध्यान्हका छवि सापकोटाले गरेको कुराकानी :
मंगलबारदेखि ‘नाडा अटो शो’सुरु हुँदैछ । संस्थाको स्वर्ण जयन्तीसँगै ‘नाडा अटो शो २०२६’ कस्तो हुन्छ ?
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले १८औं संस्करणको ‘अटो शो’ गर्दैछ । अटो क्षेत्रमा दिग्गज व्यवसायी कम्पनीको सहभागितामा २ सयभन्दा बढी अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित स्टलहरू तयारी भइरहेको छ । ‘नाडा अटो शो’ले नै सवारी साधन किन्ने, हेर्ने, अनुभव गर्नेदेखि प्रविधिको जानकारी प्राप्त गर्न सक्ने थलोको रूपमा विगतदेखि नै हुने गरेको छ । नाडामा प्रदर्शनमा राखिने सवारी साधनले नै नेपालको अटोमोबाइल्स क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरेको छ । ‘नाडा अटो शो’ले गाडी किनबेचलाई पक्कै पनि पठाइरहेको छ । त्योभन्दा धेरै अटो क्षेत्रलाई चलायमान गराउने काम अटो शोमार्फत व्यवसायीहरूले गर्नुभएको छ । नाडा अटो क्षेत्रको इतिहास बोकेको संस्था हो । नाडाले नै अटोमोबाइल्स क्षेत्रलाई लिड गर्दै आएको छ । स्थापनाको ५० वर्षदेखि नै विश्वमा लञ्च भइरहेका अटो प्रविधिलाई नेपाल भित्र्याउने काम नाडाले गर्दै आएको छ । यस्तै नाडाले प्रत्येक वर्ष गर्ने ‘नाडा अटो शो’ले मुलुकभित्र आर्थिक गतिविधि हेर्नका लागि एक गन्तव्यको रूपमा विकास गर्दै आएको छ । यो वर्ष ‘उद्योगदेखि रोजगारसम्म’का गतिविधि ‘नाडा अटो शो’मा देखिन्छ । नेपालमा अहिले विद्युतीय सवारीसाधन (ईभी)तर्फ अटो क्षेत्र अगाडि बढेको छ ।
‘नाडा अटो शो २०२६’मा नयाँ ब्रान्ड र नयाँ प्रविधिका कस्ता सवारीसाधन देख्न पाइन्छ ?
नाडा अटो शो यो १८औं संस्करण हो । हामीले हरेक संस्करणमा नयाँ–नयाँ विश्वचर्चित ब्रान्ड भित्र्याउने, नयाँ प्रविधिलाई सधैँ दिने गरेका छौं । नाडा अटो शो–२०२५ मा नेपालमै पहिलो डिपलको ईभीटीओएल उड्ने कार प्रदर्शनमा राखेका थियौं । यो वर्ष हामीले विश्व बजारमा लञ्च भएको उच्च प्रविधिका सवारी साधनलाई प्राथमिकता दिएका छौं । यसपटक करिब २०० स्टल र १५० भन्दा बढी ब्रान्डको सहभागिता हुन्छ । नाडामा यो वर्ष पनि धेरै ब्रान्डको सहभागिता हुँदैछन् । नयाँ सवारीसाधनको लन्च, उच्च प्रविधिका सवारी साधनदेखि यो वर्ष विशेष आकर्षक अफरसमेत नाडामा उपभोक्ताले पाउनुहुने नै छ । तर त्यससँगै हामीले मुख्य रूपमा देखाउन खोजेको कुरा नयाँ–नयाँ इनोभेसन हो । अबको दिनमा अटोमोबाइल क्षेत्र कस्तो हुन सक्छ, यो क्षेत्र कतातर्फ जान सक्छ र नेपालमा यसको सम्भाव्यता के छ ? भन्ने कुरा नाडामा आउने अवलोकनकर्तालाई हामीले देखाउन खोजेका छौं । त्यही सन्दर्भमा यसपटक हामीले ‘मेड इन नेपाल’लाई बढी फोकस गरेका छौं । ‘रोजगारदेखि उद्योगसम्म’ भन्ने अवधारणासहित नेपालमा उत्पादन भएका, नेपालमा ‘एसेम्बल’भएका तथा नेपालमै बनेका सवारीसाधनका कम्पोनेन्टहरूलाई पनि एउटै छानामुनि ल्याएर प्रदर्शन गर्दैछौं । यसको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा सम्भावना छ भन्ने देखाउनु रहेको छ । नेपालमा यात्रीले उत्पादन सुरु गरिसकेको छ, अन्य कम्पनीहरूले एसेम्बलिङ सुरु गरिरहेका छन् । त्यसलाई देखेर अन्य कम्पोनेन्ट उद्योगहरू पनि यस क्षेत्रमा आउन थालेका छन् ।
‘अटो शो’का लागि प्रदर्शनीस्थल सानो भयो भन्ने गरिन्छ । भृकुटीमण्डपको विकल्प खोज्नुपर्ने बेला भएको हो ?
नयाँ ठाउँको आवश्यकता छ । प्रदर्शनीस्थल अभाव अटो व्यवसायीले मात्र होइन अन्य व्यवसायी क्षेत्रले गरिरहेका छन् । अब आधुनिक प्रदर्शनीस्थल खोजी गर्न समेत आवश्यक छ । तर नेपालमा तत्काल अर्को विकल्प नै छैन । हामीलाई विकल्प नभएका कारण स्टलको संख्या बढाउन सक्ने अवस्था छैन । सरकारले प्रदर्शनीस्थलको संरचनाको पुनर्निर्माण वा आवश्यक पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने हुन्छ ।
नेपालमा अटोमोबाइल क्षेत्रको दीर्घकालीन सम्भावना र लगानी वातावरण कस्तो देख्नुहुन्छ ?
अबको १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रले ठूलो फड्को मार्नेछ । यसले राज्यलाई ठूलो राजस्व दिनेछ, ठूलो रोजगारी सिर्जना गर्नेछ र नेपालमा आयातको निर्भरता पनि धेरै हदसम्म घट्न सक्छ । हामीले यही सम्भाव्यता देखाउन खोजिरहेका छौं । नेपालको अटोमोबाइल क्षेत्र एसेम्बलिङसँगै उत्पादनतर्फ गइरहेको छ । हामी अब उत्पादनमै जाँदै छौं भन्ने कुरा पनि यसपटकको नाडा अटो शोमार्फत देखाउन खोजिरहेका छौं । नेपालको अटोमोबाइल्स क्षेत्रको बजार विस्तार तीव्र गतिमा भइरहेको छ । अटोमोबाइल्स क्षेत्र विस्तारले पूर्वाधारलाई समेतसँगै लगिरहेको छ । अटोमोबाइल्सको व्यापार विस्तार नेपालको जनसंख्याका आधारमा बजार पर्याप्त छ । त्यसका लागि सडकको विस्तार हुनुपर्छ । सहर–सहर जोड्ने र अन्तरसम्बन्धित सडक सञ्जालको विकास गर्नुपर्छ । ठूला सडकहरू निर्माण भएका र काठमाडौंबाट कुनै पनि सहरमा सहज रूपमा यात्रा गर्न सकिने अवस्था बनेमा नेपालको अटोमोबाइल्स क्षेत्रले ठूलो फड्को मार्नेछ । त्यस अवस्थामा नेपालमा उत्पादन भएका सवारीसाधनले बजारको माग पूरा गर्न सक्छन् ।
नेपालको अटोमोबाइल बजारमा अहिले माग र ग्राहकको रुचि कस्ता सवारी साधनमा धेरै रहेको छ ?
त्यसमा दुई तरिकाले हेर्न सकिन्छ । कोही लक्जरी गाडी चढ्ने पनि छन्, कोही आफ्नो सपनाको गाडी चढ्ने पनि छन् । कोही आफ्नो आवश्यकताअनुसार मजबुत र उपयुक्त सवारीसाधन रोज्छन् । त्यसैले सवारीसाधनका विभिन्न प्रकार छन् । कोही मोटरसाइकलमा छन्, कोही थ्री–ह्विलरमा, कोही सार्वजनिक सवारीसाधनमा र कोही निजी सवारीसाधनमा छन् । निजी सवारीसाधनमा पनि मूल्य र क्षमताअनुसार विभिन्न प्रकारका गाडी प्रयोग भइरहेका छन् । तर म के भन्छु भने, सबैजनाले गाडी किन्नुभन्दा अगाडि आफ्नो आवश्यकता हेरेर किन्नुपर्छ । तपाईं कति रनिङमा जानुहुन्छ, तपाईंको आवश्यकता के हो भन्ने कुरा हेरेर छनोट गर्नुभयो भने सबैभन्दा राम्रो हुन्छ । नेपालीहरूको क्षमता र आवश्यकताअनुसार बजारमा विभिन्न विकल्प उपलब्ध छन् । तर नेपाली ग्राहकको रुचि पछिल्लो समय मध्यम बजेटको चार पांग्रे सवारी साधनमा बढ्दै गएको छ । चार पांग्रे विद्युतीय साधनको सफल हुँदै गर्दा नेपाली उपभोक्ताहरू बैंकिङ प्रोसेसिङ गरेर भएपछि सवारी चार पांग्रे सवारीसाधनतर्फ आकर्षित भइरहेको देखिन्छ ।
अन्त्यमा, ‘नाडा अटो शो’का लक्ष्य र प्राथमिकता के छन् ?
नाडाले अटोमोबाइललाई गाडी बिक्री गर्ने विषयमा मात्र सीमित गर्दैन । हामी त्यहाँ सम्पूर्ण अटोमोबाइल इकोसिस्टम देखाउँछौं । सवारीसाधन किनेर मात्रै हुँदैन । सवारीसाधन बिक्रीपछिका पनि धेरै चुनौती हुन्छन् । सर्भिसका कुरा आउँछन्, कम्पोनेन्टका कुरा आउँछन् र अन्य धेरै विषय हुन्छन् । त्यसलाई व्यवस्थित गर्नुपर्छ र उपभोक्ताले पनि बुझ्नुपर्छ । ग्राहकले सवारीसाधन खरिद गरिसकेपछि भविष्यमा दुःख नपाऊन् भन्नका लागि पनि यी सबै कुरा बुझ्नु आवश्यक छ । नाडा अटोमोबाइल्स भनेको सबै क्षेत्रका व्यवसायीले बनाएको साझा संस्था हो । यसमा स्पेयर पाट्र्स व्यवसायी छन्, गाडीका डिलर व्यवसायी छन्, इम्पोर्टर छन् र म्यानुफ्याक्चरर पनि छन् । सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेटेको कारणले नै नाडा एउटा साझा संस्था बनेको हो । अहिले पनि सवारी साधन किन्न चाहने व्यक्तिले हरेक वर्षको नाडा अटो शोको पर्खाइ हुने गरेको छ ।