–केहर सिंह गुरुङ
लामो हवाई–यात्रा झेल्दै जेटल्यागको ढङ्ढङ्गी सहेर छ वर्षे प्रवास बसाइँपछि २००८ नोभेम्बरमा पोखरामा हुने छोरीको बिहेमा सपरिवार सहभागी हुन मातृभूमिमा पाइलो टेक्दा यो राष्ट्रघाती प्रवासी नेपाली छाती प्रफुल्ल भए पनि काठमाडौ–पोखराको टुरिष्ट बसको यात्राको प्रारम्भमै बाटोको धुलो, बाहनको धुवाँ–ध्वनि प्रदुषणले अनुपम सुन्दर प्राकृतिक मनोरम दृश्यको रसपानमा व्यस्त मेरा दर्शनालाभि लाशी नेत्रहरुलाई भने भाँजो हालिरहेका थिए । लङकीमा आएर बस रोकिँदा मेरो बगलको सिटमा कानमा गीत सुन्ने इयरफोन हालेको युवक आएकोले मैले खुम्चिएर उसलाई जान दिँदा ऊ मौन मुद्रामा छिरेर बस्यो । बाहिर हेर्दै सोचमग्न भएँ, “ओइरिएको जनसंख्याको चाप, जिर्ण सीमित भौतिक पूर्वाधारहरुले कसरी थेगिरहेछन्, यो काठमाडौं नगरीमा । मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक धुने नेताको उडन्ते उद्घोषणको लहमा काठमाडौंबासी काकाकुल भएर बाँचेको गोडा वर्षौं बित्दैछ । वैदेशिक एशो–आरामबाट लालायित मुग्लान भास्सिएका हामीहरुको निम्ति बिच्छट्टैसँग पानी, बिजुली, यातायात तथा अन्य सुबिधाजस्तै नितान्त व्यक्तिगत तत्वको कमी राष्ट्र प्रेमभन्दा बढी सरोकारको विषय हुनेरहेछ । हुन पनि मात्र राष्ट्रप्रेमको फुको राग अलापेर देशले फड्को मार्ने भए ३० वर्षे पञ्चायतकालिन ‘राष्ट्रप्रेम’ इतिहासकै उत्सर्गमा हुँदा ख्यै, विकासको गति ? दमन, शोषण, भ्रष्ट्राचार, विभेद, स्वतन्त्रता, न्यायका चित्कारहरु जबजब सतहमा देखिन्छन्, तिनलाई निष्तेज पार्नु यस्ता ‘राष्ट्रप्रेम’ का गगनभेदी दुन्दुभि बजाउने चलन नयाँ भने होइन ।”
हाम्रो बस अघि बढ्ने दौरानमा अब भने मानव–बस्ती छिपछिपे अनि मनोरम प्राकृतिक दृश्यहरु घना हुँदै गएकोले त्यतिका वर्ष यस्ता प्राकृतिक छटाहरु दृष्टिपात गर्नु नपाएका आँखालाई भने हेर्न भ्याई नभ्याई थियो । तर, दुई–तीन घण्टाको सफरपछि आँखाले साथ दिएनछन्, सुत्नु पुगेछु ।
“बाजे !” हमसफर युवकको आवाजले म झस्किएँ । लाग्यो, उमेरको हिसाबले ‘बाजे’ भनिन लायक नभए पनि दोष असरल्ल फुलेका कपालको थियो, उसको थिएन । कालो पार्ने ओखतीले इलर्जी गरेकोले कालो पार्नु छोडेको दिनदेखि मसँगै हिँड्दा आफ्नो पनि उमेरको भेउ उदाङ्गो हुने त्रासले श्रीमतीले मलाई सकभर टोप लगाउनु सल्लाह नदिएकी पनि होइनन् । म निस्किएँ, मलेखु काटेर सानो ठाउँमा नास्ताको लागि गाडी रोकेको रहेछ । नास्तापछि गाडी अघि बढ्यो । छेवैको युवक अझै कानमा गीत सुनिरहेको थियो । मुग्लिङ काटेर पुनः बस अडियो, खाना खान एउटा रेस्टुरेन्ट जस्तोमा । पुनः म सिटबाट निस्किएर बाहिर गएँ । अनअपेक्षित परिवर्तनका केही अनुभव गरियो, ६÷७ वर्षको अन्तरालमा । पहिलाजस्तो एकचोटी थाल राखेर नसुन्ने होटलवाल्नीको मुग्लिङका होटेलहरुमा बस रोकिन छाडेछ, बफे सिस्टम भएको रेस्टुरेन्टजस्तामा नास्ता र लन्चको लागि रोकिने प्रबन्ध रचिएछ । खाना खाएर बसभित्र बसिरहँदा त्यो लाटो युवक आएर “माफ गर्नुहोला, बाजे !” भन्दै बौरियो ।
“केही छैन !” उसको शिष्टाचारबाट प्रभावित मैले आफू खुम्चिएर उसलाई जानदिएँ ।
“बाजे कहाँबाट ?” अब भने बसिबियाँल्नु उसले प्रश्न गर्यो ।
“छोरीको बिहेमा सपरिवार टाढा क्यानाडाबाट !”, मैले भनें ।
“ए, शुभ–कार्यमा पो पाल्नु भा रै छ !”, उसले हाँसेर भन्यो ।
“नाम के नि, बाबुको ?”, कुतूहलतावश प्रश्न गरें मैले ।
“नाम मेरो जीवन गुरुङ ! पोखरा जाँदैछु, बाजेकोमा ।” लामो कालो जुल्फीलाई पछि सार्दै उसले भन्यो ।
मैले त्यो केटोमा मेरो आफ्नो प्रतिविम्ब देखें र सोचमग्न भएँ “ठ्याक्कै यतिकै उर्जाशील उमेरको हुँदो हुँ, जब म रुमानी भविष्य निर्माणको सपनाको पुन्तुरो बोकेर यस्तै बसमा सफर गर्दै पिएन क्याम्पस, पोखरा एक्लै आएको थिएँ । यो केटा पनि आफ्नो भविष्य निर्माणमा जुटेको हुनुपर्छ । के बन्ने रुमानी सपना बुनेको होला, यो स्वप्नशील ठिटोले ? डाक्टर, इन्जिनियर, सैनिक, प्रहरी, प्रशासक, वकिलमध्ये कुनै एक त जरुर होला !”
“केही अध्ययन, तालिम वा इलम गर्दै हुनुहुन्छ ?” मैले साखुल्य हुनु सोधें ।
“अँ, खासै आवश्यकता नै परेन, बाजे ।” युवकले लामो सास फेर्दै भन्यो ।
“के नहुने कुरा गर्छ, यो जुल्फिवाला ?” मनमनमा झस्किएँ र सोचमग्न भएँ “भविष्य निर्माणको फौलादी आधारशीला स्थापना गर्नुपर्ने यो संघर्षशील पहरमा निष्क्रिय बसेर जीवनको जँघार कसरी तर्ने ? अहोरात्र जुट्दा त, फुका केही कामयावी मुश्किलले हात लागेको थियो, मलाई ।”
“किन बाबु ? मन नलागे, नभने पनि हुन्छ !” मैले रिसाउला भनेर डराएँ ।
“बाजे ! यदि तपाईंसँग दुई÷ढाई करोडको चल–अचल सम्पति छ भने तपाइँ जागिर खाने कष्ट गर्नुहुन्थ्यो ?” उसको असान्दर्भिक प्रश्नले एकछिन त म किङ्कर्तब्यविमूढ भएँ । अब भने “ठूलै युवा व्यापारी फेला परिएछ कि” जस्तो मलाई लाग्यो । गफमा यात्रा रमाइलो हुने ठाने ।
“हँ, सायद मैले गर्थें, तर त्यो भन्दा पहिले” मैले जानेरै लामो सास लिएँ ।
“के नि, बाजे ?” ऊ उपद्रोसँग आत्तियो ।
“मलाई बौलाहा कुकुरले टोक्नुपर्छ !” मैले वाक्य पुरा गर्दा ऊ ठहका लगाएर हाँस्यो ।
“बाजेको कुरा गराइ मन पर्यो !” उसको चित्त बुझेकोले ऊ खुल्दै गयो “त्यै त भनेको ! तीन–तीनचोटि बृटिश आर्मीमा भर्ती हुनु खोज्दा भाग्यले साथ दिएन, आखिर उमेर पनि घर्कियो । यता पढाइ बिग्रिएर एसएलसी तेस्रो चोटिमा पास भएँ । कलेजै गएर पनि आखिर केही हजारको जागिर न, खाने हो ! केही गर्नु मन लागेन, त्यसै बसेको छु !”
“अनि दुई–ढाई करोडको चल–अचल” मैले कुरोको छेउटुप्पो पाउनु सकिनँ । बसले विजयपुर खोला पार गर्दै हाम्रो यात्रा छोट्याउँदै थियो । “बाजेको मतलब मैले बुझें । संसारकै केही भाग्यमानी प्राणीमध्ये म पनि पर्छु कि सायद, भर्ती र पढाइ छोडेर !” उसले उन्मादी मुद्रामा भन्यो । “कसरी नि बाबु ?” किस्मत अलिखानको अपूरो कुरो सुनेर मेरो उत्सुकताको पारो चड्नु थाल्यो ।
“हेर्नोस्, कलेजमा पाँच÷छ वर्ष दिमाग घोटेर मैले अधिकृत लेबलमा जागिर खाएँ भने पन्ध्र÷बीस हजार महिनावारी पाउँछु होला ! त्यति जाबो त मैले महिनावारी जेव खर्च अहिलै पाउँछु, बाबा–आमाबाट !” उसले भन्यो । “भनेसी, बाबा सचिव वा भन्सारको हाकिम हुनुहुन्छ ?” मैले अड्कलको तीर अध्याँरोमा चलाएँ, लागे लाग मुहुनी नत्र भनेजस्तै । “होइन, होइन ! अहिले बाबा युकेमा क्याप्टेन हुनुहुन्छ, मम्मी पनि उतै ।”
उसले मलाई सच्यायो । पल्टने भनेपछि आफ्नो एउटा रोचक घटना बताउँदै एक पल्टने भाइले भनेको थियो “छोरालाई काठमाण्डुको बेस्कन नाम चलेको साला एउटा स्कुलमा एडमिसन गर्नु खोज्दा सबै मनले खाए जस्तो थियो, दाइ ! तर जाने बेलाँ साला प्रिन्सिपलले “यहाँ तपाइँजस्तै धेरै पल्टनेका केटाकेटी छन्” भनेपछि “भोलि आउँछु” भनेर टाप कसें । झन् हाम्रा पल्टनेका केटाकेटी नभएको जग्गा रोज्दै हिडेको त !”
“किन त आफ्नै पल्टने नम्बरी दाज्यूभाइका बच्चाहरु, कुरा मिल्ने ?” मैले घाउमा नून छर्किएँ । “कहाँ दाइ, यी क्षेत्री–बाहुनका बच्चाहरुसँग पढाए पो हाम्रा छाउराहरु जान्नेसुन्ने हुन्छ !” उसले भन्यो । “कसरी ?” मैले उसलाई परख्नु चाहें ।
“के भने नि दाइ ! यिनका घरमा एमए घटिका कोही नहुने हुँदा पढाइ–लेखाइ, राजनीति, असल चालचलनका कुरा–बहस चल्छ अनि त्यहि कुरो लिएर तिनका बच्चाहरु स्कुलमा आउँदा हाम्रा गोबर गणेशहरुले पनि ती राम्रा कुराहरु सिक्छन् ।” उसले भन्यो ।
“अनि पल्टनेको घरमा नि ?” मैले कुरा कोट्याएँ ।
“बिजोग छ, दाइ ! गाइको मासु खानु, धेरैजसो बाह्रखरी पास पल्टने आमा–बालाई देशको राजनीतिको ‘र’ पनि आउँदैन भने सुसंस्कृत सभ्य भाषा–संस्कारको आशा गर्नु गोरु ब्याउनुजस्तै हो । उही मोबाइल, मोटरबाइक, गरगहना र फेसनको मात्र कुरा हुन्छ । अनि पढ्छ त, मशानेहरुले ?” उसले उग्र हतासको मुद्रामा भन्यो ।
“अनि पछिको लागि केही गर्ने ?” मैले मेरो सहयात्री मित्रलाई सोधें ।
“मान्नोस्, बाजे पर्दैन ! म अहिले २२ को छु । पाँच वर्षपछि बाबा पेन्सन आउँदा म २७ को हुन्छु । अन्य पेन्सनवाला झैं उहाँ फेरि बृटिश रिजर्ब युनिट ब्रुुनेईमा कम्तिमा पाँच सालको लागि पक्कै जानुहुन्छ । यहाँ त्यसै हल्लिएर कामै छैन । ब्रुुनेईबाट रिटायर्ड हुँदा म ३२ को हुन्छु । नेपालमा बसे बियर–तासभन्दा उहाँले गर्ने अरु केही होइन । त्यसैले अहिले चलेको “धेरै पैसा पाउने पानी–जहाजमा कम्तिमा पाँच वर्षै गर्नुभयो रे” भने पनि म त्यसवेला ३७ को नजिक हुन्छु ।”
“अति उत्तम सोचाइ बाबुको ! घर कुर्ने तपाइँ भएपछि किन बस्नुप¥यो बूढालाई ?” म हौसिएँ उसको दिब्यवाणी सुनेर ।
“अँ, फेरि यी क्याप्टेनको पेन्सन दह्रो ४०/५० हजार हुने, बाजेलाई थाहै छ । कथंकदाचित दशै वर्ष बाँच्नुभयो भने पनि म ४७ को हुन्छु । बाबापछि फेरि पेन्सन आमाको हाता पर्छ । आमा दश वर्ष बाँचिञ्जेल म ५७ को भएपछि मात्र मलाई केही गर्नुपर्ने हुन्छ । नेपालको रिटायर्ड एज, तपाईंको ६० होला ! भनेसी त्यसबेलासम्म ३० हजार प्रतिमहिना वर्षको साँढे तीन लाख हुन्छ । एभरेज लाइफ स्प्यान नेपालीको ७० मानौं !” उसले धाराप्रवाह भन्दै गयो, म सुन्दै गएँ ।
उसले पहिले बसको कण्डक्टरतिर आँखा तिखार्दै भन्यो “ओ, दाइ ! म अमरसिङ चोकमा झर्ने है !” र फेरि शुरु ग¥यो “अँ, म कहाँ थिएँ ? ए, मेरो जागिरे लाइफ भनेको तीन वर्ष ३० हजार प्रति महिनाकै दरले ११ लाख र १० वर्ष रिटायर्ड लाइफको लागि पेन्सन १५ हजार प्रतिमहिना गरेर १८ लाख पाउने देखिन्छ । यसरी जम्मा जम्मी बाँच्न मलाई बढीमा २९ लाखको आवश्यकता देखियो बाँचिञ्जेल । त्यो अब कहाँबाट आउँछ ? सोध्नुस्, सोध्नुस् !”
“फेरि तपाईंको बाबाले १५ वर्ष जागिरको कमाईको पैसा पनि छ !” मैले केही सम्झेजस्तो गरी थपेँ ।
“धन्यवाद, तपाइँको मुखमा दूध–भात, बाजे ! त्यो पनि हिसाब नगरौँ ! एउटै घर बेच्यो भने मेरो जाबो १३ वर्ष सुतीसुती उपरखुट्टी लाएर मलाई खानु पुग्छ । त्यसैले जाबो २९ लाखको लागि जीवनभरिको पापड बेल्ने काम गर्ने मुर्खता म गर्नुसक्दिनँ ! जीवन त रिल्याक्स गर्नु पो दिइएको हो ! कि कसो, बाजे ?” गुणग्राही मुद्रामा सुनिरहेको मलाई पो उसले प्रतिप्रश्न गर्यो ।
“जरुर रिल्याक्स गर्नुपर्छ ! आमाबाउले कमाइदिएकै छन् ! बस्, समस्या भनेको कसरी खर्च गर्ने भन्ने मात्र देख्छु म त !” मात्र मेरो मुखबाट निस्किएछ ।
समय भने घर्किंदै थियो, उसको रुचिकर वार्तालापले सकिने नामोनिशान लिएन । “अमरसिङ चोक !” कण्डक्टर करायो । “हवस् त, बाजे ! तपाइँको छोरीको विवाहको शुभकामना र तपाईंको नेपाल बसाइँ मंगलमय होस् !” भनेर ऊ उठ्यो ।
“लौ बाबु, खुसी लाग्यो भेट्दा !” भन्दै मेरा आँखाहरुले मेरो युवा मित्रको आकृतिलाई ओझेलमा नपरिञ्जेल पछ्याइ रहे । कन्डक्टरले ढ्याक–ढ्याक गरेर चालकलाई अघि बढ्न संकेत गरेपछि बस अघि बढ्यो ।
यत्तिकैमा एउटा लोमहर्षक विचारले मेरो जीऊका रौँहरु ठाडा भए । चिन्तामग्न भएँ म “जीवन, भलै विरासतबाट प्राप्त वैभवै भए पनि सँधै रिल्याक्स गर्दै बाँच्ने चीजको नामै होइन । आफू र आफ्ना परिवार, समाज र राष्ट्रको उत्तरोत्तर विकास गर्नु र तिनका कर्तव्य र जिम्मेवारीहरु पूरा गर्नु सदैव क्रियाशील रहने वस्तुको नाम हो, जीवन ।
फेरि यस्ता मापाका दुर्लभ किस्मत अलिखानहरुका सन्ततीहरुले कालान्तरमा कसका चाहिँ घर–खेत बेचेर रिल्याक्स गर्ने ? “सन्तानलाई ‘माछा होइन, माछा मार्ने औजार–सिप’ दिएमा पसिनाको कमाइको मोल बोध हुन गई परिश्रम गर्दै उन्नति गर्नु सक्षम हुन्थे कि ?” भनेर सोच्नु किन नसकेका होलान्, यी पल्टनेहरुले ? फेरि “सपुत का धन संचय, कपुत का धन संचय”भने जस्तो यस्ता कुपुतहरुलाई बैभव सुम्पेर कसरी ढुक्कसँग मर्नुसकेका होलान् ?”
बस धुलो उडाउँदै अघि बढ्दै थियो । “म सितिमिति कसैको उडन्ते फतुरमा झट्टै बहकिने बिब्ल्याँटो व्यक्तिमध्ये पर्दिनँ” भन्ने आत्मविश्वास राख्छु । तर, आज भने कुनै ज्यादै चतुर गुरुङ मापाको चङ्गुलमा फस्नु पुगेछु, भावनामा बगेर ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies