– कल्पना छेत्री
अन्तरालाई आज छिट्टै निद्राले छोड्यो । राति पनि ढिलोसम्म निन्द्रा लागेको थिएन । उनी सोचमा डुबेकी थिइन् । “पक्कै पनि नाम जस्तै काम त्यस्तै नै हुनुपर्ने । अङ्ग्रेजी ढाँचाको नाम रहेछ । मैले सोचेकै हुनुपर्छ । मेरी बुहारी, अलिक आधुनिकताले छोएकी नै हुनुपर्छ । मलाई मन पर्दैन गाउँको ढाँचा । आफुँले कति खपियो । भन्न त भने नी धेरै नाम चलेका गोमनध्वज महाजनकि बुहारी । ठूला घरकी बुहारी । अभाव भन्ने केही छैन, तर सासु ससुराको, समाजको नीति नियमले वाक्क भएकि छु । आफ्नो खुसीले न लाउन, मिल्ने न खान । त्यसैले बुहारी त आफुले सोचेकै ल्याउँछु । हे प्रभु, आज चाहीँ मिलाइ देउ” भन्दै ढोग्न थाल्छिन ।
आज समेत सात ठाउँ पो हुन्छ कुरा चलाको । कतै केटी अंग्रेजी मिडियम तर, जीउडाल नमिलेको । कतै जीउडाल मिलेको बोली नमिठो । कतै के, कतै के नमिल्दो । मेरो छोरो अविनाश देख्नमा जस्तो राजकुमार त्यस्तै उसको जागिर पनि उस्तै त्यहीमाथि कम्पनीले तीन महिना पछि अष्ट्रेलिया पठाउँदै छ । उसलाई मिल्दो अंग्रेजी बोल्ने बुहारी खोजेकी । अन्तरा उनको श्रीमान् छोरो अनि आफ्नी एकदमै मन मिल्ने साथी चार जना भएर समयमा नै केटीको घर पुगे ।
घरको भित्र पस्नासाथ अन्तराको मन एक बुझाउन नसक्ने खुशीले उतफुल्लित भयो । केटीका माता, पिता, अरुपनि आफन्तले उनीहरुलाई न्यानो अभिवादन गरे । एकछिन पछि नै केटी “हाई अंकल, हाई आन्टी, हाई अविनाश, आई एम प्रिन्सी” भन्दै निस्कन्छिन् । पहिरनमा प्यान्ट अनि टिसर्ट । कपाल त झन बयजकाट । अन्तराको मनमा त लड्डु फुट्न थाल्छ । “आहा मेरो बिन्ती भगवानले सुनेछन् यसबार । मलाई त सारै मन प¥यो ।” उनलाई मन परे पछि अरुको के चल्छ र ? श्रीमान् र छोरा तिर हेरेर मन परेको ईशारा गरिन् । खाना पिनाको साथै पण्डित बोलाएर केटा केटीको चिना हेराउने जुराउने मिलाउने जम्मै भयो । अन्तराले केटीका घरकालाई आफ्नो घर आइदिन आग्रह गरिन् । डेढ महिनामा त अन्तराले बुहारी पनि भित्राइन् । अन्तराले चिताएजस्तै बुहारी भेट्दा खुट्टा भुइँमा न भाँडामा भए । आधुनिकताले उनलाई पनि छोयो । उनको पहिरन फेरियो । कपाल छोटियो । अर्डर गरेर खाना घरमा आउन थाल्यो । खुसीको माहोल बनियो । अलिक दिन मा छोरा बुहारी अष्ट्रेलिया उडे ।
दिन बित्दै गयो । सबै ठीकै थियो । अचानक एक कार अक्सिडेन्टमा अन्तराका श्रीमानको मृत्यु हुन्छ । भर्खरै गएकाले छोरा बुहारीको आउन मिलेन । धेरै कोशिश गरे । यता देवरको छोराले नै जम्मै मृतकको कर्म गर्नुपर्यो । बर्खान्तमा पनि उनिहरूको आउन मिलेन रे ! पिताको श्राद्धको अघि अघि आइपुग्ने खबर दिए छोरा बुहारीले । अन्तरा एक्लै थिइन् । सारै दुःखी पनि थिइन । यो खबरले उनका आँखामा खुशी झलकायो । श्राद्धको अघिल्लो दिन । एकछाक खानु पर्छ भन्दै छोरा बुहारीलाई बोलाउँछिन् । बुहारी कोठाभित्रैबाट भन्छिन्, “मम टेन्सन नलिनुहोस् । मैले ब्रेकफास्ट अर्डर गरी सकेकी छु । तपाईं फ्रेश हुनु । एकसाथ ब्रेकफास्ट गरेर भोली श्राद्धको लागि मेनु रेडी गर्न छ । सबै भेज नै होला नि ? अर्डर गरिदिन्छु । पण्डितको लागि पनि । तपाईं अलिक रेस्ट गर्नु । हामी चै मेरो साथीले पार्टी राखेको रैछ । त्यतै इनभाइट छ । अटेण्ड गरेर आउँछौं ।”
कुरा सुनेर अन्तरको वाक्य रुद्ध भइन् । चाहेर पनि केही बोल्न सकिनन् । कानमा पनि अरु केही परेन । आँखाले अँध्यारो देखिन । टाउको भननन्न गरो । भुइँमा थ्याच्च बस्छिन् । उनलाई त्यसबेला चारैतिरबाट आधुनिकता र अङ्ग्रेजी पनले गिज्ज्याएको अनुभव भयो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies