२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

पितृसत्ता र नेपाली समाज

Nada
विपेन आदिमा
२०८३ भदौ २५ गते ०६:००
Shares
पितृसत्ता र नेपाली समाज

पितृसत्ता एक सामाजिक व्यवस्था हो, जसका माध्यमबाट सम्पूर्ण सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक हक, अधिकार तथा निर्णय गर्ने शक्ति पुरुषको हातमा केन्द्रित गराइन्छ । यसले पुरुषलाई उच्च, पवित्र, निर्णायक र शक्तिशाली मान्ने तथा महिलालाई नीच, कमसल, अपवित्र, सहायक र शक्तिहीन ठहराउने विभेदकारी विचारधारा समाजमा स्थापित गरेको हुन्छ । तर, यसको तात्पर्य पुरुष मात्रै पितृसत्तावादी हुन्छन् भन्ने बिल्कुलै होइन । पितृसत्तावादी चेतना बोकेका व्यक्ति महिला वा पुरुष जुनसुकै लिंगका हुन सक्छन् । जसरी बाहुनवादको विरोध गर्नु भनेको कुनै निश्चित बाहुन जातको मान्छेको विरोध गर्नु होइन, त्यसैगरी पितृसत्ताको विरोध गर्नु पनि व्यक्ति पुरुषको विरोध गर्नु होइन । यसर्थ, पितृसत्ता भनेको पुरुषको प्रभुत्व, हैकम वा एकाधिकारलाई स्वाभाविक मानेर स्वीकार गर्ने एउटा सामाजिक प्रवृत्ति र संरचनात्मक शोषण प्रणाली हो ।

ncell

मानव समाज विकासको प्रागैतिहासिक इतिहासलाई हेर्दा महिलाहरू कहिल्यै पनि पुरुषभन्दा प्राकृतिक रूपमा कमजोर वा असक्षम थिएनन् । तर आज विश्वका अधिकांश महिलालाई पुरुषको तुलनामा शारीरिक र मानसिक दुवै रूपमा कमजोर देखाइएको छ र कतिपय सामाजिक अवस्थामा बनाइएको पनि त्यस्तै छ । यदि कुनै पनि समाजका महिलाले आफूलाई पुरुषको तुलनामा स्वतः कमजोर महसुस गर्छन् भने त्यो पुरुषसत्ता तथा नारी उत्पीडनकारी व्यवस्थाले महिलामाथि हजारौं वर्षदेखि गर्दै आएको शोषण र क्रूर दमनको उपज हो ।

गर्भाशयको सिद्धान्त र सिकारी सिद्धान्तजस्ता जीववैज्ञानिक तथा मानवशास्त्रीय सिद्धान्तको आड लिएर नारीलाई प्राकृतिक रूपमै कमजोर साबित गर्न खोजिनु सर्वथा भ्रमपूर्ण छ । यही प्रसंगमा नारीवादी अध्येता एभलिन रिडले आफ्नो पुस्तकमा उल्लेख गरेझैं, स्त्री जातिमा मात्र विद्यमान मातृत्व अंग र मातृत्वसँग सम्बन्धित शारीरिक क्रियाकलापले उनीहरूलाई पुरुषभन्दा भिन्न तुल्याएको कुरामा शंका छैन । तर महिला उत्पीडनका निम्ति प्रकृति वा जैविक बनावट जिम्मेवार छ भन्ने कुरा सही होइन । यसले के पुष्टि गर्छ भने पुरुष र नारीबीचको प्राकृतिक तथा शारीरिक भिन्नता हुनु नै कमजोरीको आधार होइन । महिलामा पाठेघर हुनु, रजस्वला हुनु र बच्चा जन्माएर स्तनपान गराउनु जैविक प्रक्रिया मात्र हुन् । यिनै जैविक कारण देखाएर महिलालाई पुरुषभन्दा कमजोर, अपवित्र र दोस्रो दर्जाका हुन् भन्नू पूर्णतः गलत छ ।

पितृसत्ताको ऐतिहासिक पृष्ठभूमि

मानव समाजको विकासक्रमलाई सूक्ष्म रूपले अध्ययन गर्दा आदिम साम्यवादी युगमा मातृसत्ता कायम थियो । यहाँ मातृसत्ता भन्नाले महिला शासक बनेर पुरुषमाथि उत्पीडन गर्ने व्यवस्था भनिएको होइन, बल्कि लैंगिक समानता र महिलाको नेतृत्वदायी भूमिका रहेको समाज मानिएको हो । मातृसत्तात्मक समाजमा माताको गोत्रअनुसार वंश चलाइन्थ्यो र माताकै सन्तान (विशेषगरी छोरीहरू) उत्तराधिकारी हुन्थे । त्यसबेला पुरुषको कुनै बेग्लै गोत्र हुँदैनथ्यो र पिताको कुनै एकाधिकार वा हैकम चल्दैनथ्यो । बच्चा जन्माउने, हुर्काउने, खाद्यान्नको संकलन, भण्डारण र न्यायोचित वितरण गर्ने तथा परिआएको अवस्थामा पुरुषसँगै सिकार गर्नसमेत जाने हुँदा महिलाप्रति समाजमा उच्च सम्मान थियो ।

बर्बर युगको उत्तरार्धतिर आदिम साम्यवादी युगको पतन हुँदै कृषिको विकास र पशुपालनको सुरुवात हुन थाल्यो । यसै समयमा समाजमा निजी सम्पत्तिको अवधारणाको सुरुवात भएको देखिन्छ । निजी सम्पत्तिको विकाससँगै समाजमा वर्गहरू देखा परे । पुराना युगल परिवारको पतन हुँदै एकनिष्ठ (एकल) परिवारको विकास हुन थालेसँगै सम्पत्तिमा स्वामित्व कायम गर्न पुरुषहरूले एकाधिकार जमाउन थाले । उनीहरूले मातृगोत्रअनुसार चल्ने वंश परम्परालाई भत्काई पिताको गोत्रअनुसार वंश चलाउने र उक्त पिताको पुत्रलाई मात्रै सम्पत्तिको उत्तराधिकारी बनाउने नियम बसाले । फलस्वरूप मातृसत्ता भंग भयो र पितृसत्ताको सुदृढ स्थापना हुन पुग्यो ।

सिमोन द बोवुआरले स्त्रीको स्वतन्त्रता र अधिकार कसरी खोसियो भन्नेबारे उल्लेख गरेअनुसार, बच्चाहरूको जन्मको श्रेय माताभन्दा बढी पुरुषको शुक्राणुलाई दिनासाथ नै परिवार र कबिलामाथि स्त्रीको सहज अधिकार समाप्त भयो । हेनरी मोर्गनको अवधारणाअनुसार पनि गोत्रभित्र विवाहमा प्रतिबन्ध हुन्थ्यो, जसका कारण बच्चा सम्भावित पिताको गोत्रभन्दा भिन्न हुन्थे । तर जब पुरुषहरूले आफ्नो व्यक्तिगत सम्पत्ति आफ्नै सन्तानलाई हस्तान्तरण गर्ने इच्छाका कारण धेरै स्त्रीहरूलाई विवाह गरेर राख्न थाले, त्यसले पितृसत्तावादी परिवारको जग बसालेको हो ।

भारतीय अध्येता नरेन्द्र कुमारका अनुसार इ.पू. ६०० देखि ४०० वर्षको समय निरंकुश केन्द्रीय सत्ताको उदयको समय थियो, जुन बेला कबिला समाज तीव्र रूपमा नगरीय सभ्यतामा रूपान्तरण हुँदै थियो । नगरीय सभ्यताको विकाससँगै पुरुषहरू यौन सम्बन्धका मामिलामा स्वतन्त्र भइसकेका थिए । एकातिर कबिला समाजका स्त्रीहरू पुरुषबाट परित्यक्त हुन थाले भने अर्कोतर्फ युद्धमा मारिएका सैनिकका श्रीमतीहरू जीवनयापन र बच्चाको पालनपोषण गर्न नसक्ने स्थितिमा पुगे । यही विषम परिस्थितिमा आफ्ना कबिला जनजातीय परिवारबाट उपेक्षित तथा नगरीय परिवेशबाट परित्यक्त स्त्रीहरूको एउटा नयाँ वर्ग निर्माण भयो । यी स्त्रीहरूले नै भरणपोषणका लागि बाध्य भएर वेश्यावृत्ति अपनाएका थिए ।

यसरी पितृसत्ताको उदयले महिलामा परनिर्भरता जन्मायो र यसले वेश्यावृत्तिको बाध्यात्मक स्थिति पैदा गरायो । इ.पू. ४०० देखि १०० सम्म आइपुग्दा दासप्रथाको तीव्र विकास भइसकेको थियो । यसै समयमा स्त्रीलाई आर्थिक रूपमा पूरै परनिर्भर तुल्याइयो र उनीहरूलाई पुरुष (पिता, पति वा पुत्र) को आश्रयविना बाँच्नै नसक्ने स्थितिमा पुर्‍याइयो । धार्मिक ग्रन्थमा नारीलाई घटिया प्राणीका रूपमा चित्रित गरियो र समाजमा उनीहरूको अवस्था पतिको सेवा गर्ने दासीजस्तो बन्यो ।

फ्रेडरिक एंगेल्सले आफ्नो चर्चित कृति ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ मा यसै परिघटनालाई व्याख्या गर्दै लेख्छन्— मातृसत्ताको पतन नारी जातिको विश्व–ऐतिहासिक स्तरको पराजय थियो । पतिले घरमा शासनको बागडोर आफ्नो हातमा लियो, पत्नी अधिकारच्युत भइन्, दासी बनिन् र सन्तान उत्पादन गर्ने सामान्य यन्त्रमा परिणत भइन् ।

राज्य स्वयं निजी सम्पत्तिकै चरमोत्कर्ष रूप हो । राज्यको स्थापना र विकाससँगै धर्महरूलाई राज्यले आफ्नो हातमा लिएर पितृसत्तालाई थप कठोर र मजबुत बनायो भने पछि त कानुन बनाएरै महिलामाथिको उत्पीडनलाई संस्थागत गरियो । यसर्थ, पितृसत्ता लागू गर्ने मूल अस्त्र धर्म र कानुन हुन् । निजी सम्पत्तिको रक्षाका लागि पुरुषले गर्ने व्यभिचारलाई सामान्य मानिने तर महिलाको चरित्रमाथि प्रश्न उठाई कठोर सजाय दिने दोहोरो मापदण्ड खडा गरियो ।

ढुंगेयुग, दासयुग, सामन्ती युग हुँदै आजको पुँजीवादी युगसम्म आइपुग्दा संसारका सबैजसो मुलुकमा पितृसत्ताकै दबदबा चलेको छ । युग र प्रविधिको परिवर्तनसँगै पितृसत्ताले पनि आफ्नो रूप परिवर्तन (अपडेट) गरेको छ । अत्याधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत यसले आज पनि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र कानुनी सबै क्षेत्र र तहहरूमा आफ्नो वर्चस्व कायम राखेको छ ।

नेपाली समाजको सन्दर्भ

नेपाली समाजको प्राचीन इतिहासलाई अध्ययन गर्दा यहाँ कुनै समय मातृसत्तात्मक समाज थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । नेपालमा चीनको ह्वाङ्हो र याङ्सी नदीकिनारमा विकसित भएको मंगोलियन सभ्यताका मानिसहरू आएर बसोबास गरेको इतिहास भेटिन्छ । प्राचीन नेपालमा रहेका किरातलगायत जनजाति समाजमा मातृसत्तात्मक प्रणाली विद्यमान थियो ।

वामपन्थी विश्लेषक मोहन वैद्य ‘किरण’ले ‘नेपाली समाज र संस्कृति’ पुस्तकमा उल्लेख गरेअनुसार, नेपालमा मातृसत्ताबारे सम्पूर्ण लिखित सामग्री नभए पनि उपलब्ध सांस्कृतिक आधारले यसको पुष्टि गर्छन् । आज पनि मगर, गुरुङ, थारू, तामाङ, लिम्बू, राई र नेवारलगायत जनजातिहरूमा मातृसत्तात्मक समाजका अवशेष प्रशस्तै भेटिन्छन् ।

नेपाली समाजमा सामाजिक तथा सांस्कृतिक रूपमा मातृसत्ताका केही विशेषता अझै जीवितै छन् । महिलालाई प्रकृति, भूमि, लक्ष्मी वा देवीका रूपमा पूज्य मान्नु, राई, नेवार र थारू जातिमा नारीलाई कुलको प्रमुख मान्नु, लेप्चा जातिमा महिला पुरोहित हुनु, कुमारी पूजा र भगवती पूजाको परम्परा हुनु, तथा केही समुदायमा विधवा विवाह, पारपाचुके (सम्बन्धविच्छेद) र मामाचेली–फुपूचेला विवाह प्रथा हुनु यसैका ऐतिहासिक प्रमाण हुन् ।

यद्यपि, वर्तमान नेपाल पूर्णतः पितृसत्तात्मक सामाजिक व्यवस्थामा आधारित छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा ५१ प्रतिशतभन्दा बढी जनसंख्या महिलाको छ, तर उनीहरू अपवादबाहेक हरेक क्षेत्रमा दोस्रो दर्जाको नागरिक बनाइएका छन् । ‘मर्दका दसवटी’जस्ता विभेदकारी उखानहरूको व्यावहारिक प्रयोग अझै मेटिएको छैन । धार्मिक र सांस्कृतिक सत्ताले महिलालाई घरभित्रै कैद गरेको छ । राजतन्त्रकालमा महिला राजा हुन नपाउने परम्परा थियो । गणतन्त्र स्थापनापछि महिला राष्ट्रपति र प्रधानमन्त्रीजस्ता शीर्ष पदमा पुगे तापनि तिनको सोच र कार्यव्यवहार पितृसत्तात्मक ढाँचामै सीमित रह्यो ।

नेपालमा आज लोकप्रियतावादी र उपभोक्तावादी संस्कृति तीव्र रूपमा फैलिरहेको छ । यसका साथै बाहुनवाद, धार्मिक अतिवाद, जातव्यवस्था र वर्गीय उत्पीडनको मार पनि चर्को छ । यी सबै तत्त्वहरू मिलेर पितृसत्तालाई झन् कडा र निर्मम बनाएका छन् । प्रविधिको दुरुपयोग गरी महिलालाई केवल वस्तुकरण गरेर व्यापारिक विज्ञापनको साधन बनाइएको छ ।

आजका महिला बाहिर अफिस वा कार्यस्थलको काम सकेर फेरि घरको सम्पूर्ण काम सम्हाल्न बाध्य छन्, जुन नियम पुरुषका हकमा लागू हुँदैन । कानुनी रूपमा केही अधिकार दिइए तापनि सामाजिक प्रतिष्ठा, परम्परागत मूल्यमान्यता र पारिवारिक दबाबका कारण तिनको प्रभावकारी उपयोग हुन सकेको छैन । अधिकांश नेपाली महिला अझै पनि घरभित्र बेतलबी श्रम गर्दै दास वा अर्धदासजस्तै जीवन जिउन विवश छन् । पितृसत्ता नै नेपाली समाजको अग्रगतिको प्रमुख बाधक बनेको छ ।

निष्कर्ष

विश्व परिप्रेक्ष्यमा प्राचीन इतिहासदेखि वर्तमानसम्म पितृसत्ताकै कारण महिलाको समग्र अवस्था थिलथिलो बनेको छ । नेपालजस्तो आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा परम्परावादी मुलुकमा यो समस्या अझ पेचिलो र जटिल बनेको छ । पितृसत्ताको समूल उन्मूलनबिना अन्य संरचनात्मक सुधार मात्र गरेर महिलामुक्ति सम्भव छैन । र, महिलाको वास्तविक मुक्तिबिना समग्र मानव समाजकै विकास र समृद्धि पूर्ण हुन असम्भव छ ।

ताजा खबर

सम्बन्धित खबर