
क्वालालम्पुर : किरात राई यायोक्खा विदेश संगठन, मलेसियाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ हजार रुपैयाँ जम्मा गरेको छ ।
यायोक्खाको कोषमा रहेको रकम तथा तेस्रो राष्ट्रिय अधिवेशनका क्रममा संकलन गरिएको रकमबाट उक्त ५१ हजार रुपैयाँ राहत कोषमा जम्मा गरिएको अध्यक्ष छविधन राईले जानकारी दिए ।
नेपालमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको राईले बताए । अधिवेशनका क्रममा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो ।
अधिवेशनस्थलमा राहत संकलनका लागि दानपेटिका समेत राखिएको थियो । प्राकृतिक विपत्तिसम्बन्धी भिडियो प्रदर्शन तथा दीप प्रज्वलनमार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको आयोजकले जनाएको छ ।
किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट छविधन राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।