
क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौं अधिवेशन तथा २१औं वार्षिकोत्सवमा सांगीतिक प्रस्तुति दिन गायक प्रकाश तितुङ तामाङ मलेसिया आइपुगेका छन् ।
मलेसिया आइपुगेका गायक तितुङलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका संरक्षक राजु तामाङ र अध्यक्ष बिक्रम वाईबा तामाङ लगायतले स्वागत गरेका छन् ।
आगामी ४ अक्टोबरमा क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना हुने अधिवेशन तथा वार्षिकोत्सवमा गायक तितुङले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा मलेसियास्थित तामाङ समुदायको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ । वरिष्ठ उपाध्यक्ष छेवाङ लामाले अधिवेशन तथा वार्षिकोत्सवलाई सफल बनाउन मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।
पाँचौं अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन हुने भएकाले मलेसियास्थित तामाङ समुदायमा अधिवेशनप्रति विशेष चासो देखिएको छ । नयाँ नेतृत्वले समुदायको एकता, संगठन सुदृढीकरण तथा सामाजिक गतिविधिलाई आगामी कार्यकालमा कसरी अघि बढाउँछ भन्ने विषयलाई समेत महत्वका साथ हेरिएको छ ।
अधिवेशन तथा वार्षिकोत्सव ४ अक्टोबरमा दिउँसो १२ बजे होटल ग्रान्ड कन्टिनेन्टल, क्वालालम्पुरमा हुनेछ ।