२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

फेसबुक टिप्पणीमा श्रीलंकाली श्रमिकलाई साउदीमा मृत्युदण्डको फैसला

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज २० गते १२:५५
Shares
फेसबुक टिप्पणीमा श्रीलंकाली श्रमिकलाई साउदीमा मृत्युदण्डको फैसला

दोहा, कतार : साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठहरिएको टिप्पणीसम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक सिभराजा अनोजनलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । यसअघि अल–अहसा आपराधिक अदालतले उनलाई पाँच वर्ष कैद र ३० लाख साउदी रियाल जरिवाना सुनाएको थियो ।

ncell

अनोजनविरुद्ध फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदसम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा मुद्दा चलाइएको थियो । प्रारम्भिक अदालतले साइबर अपराधसम्बन्धी कानुनअन्तर्गत सजाय सुनाए पनि साउदी अभियोजन पक्षले सजाय बढाउन माग गर्दै पुनरावेदन गरेपछि पुनरावेदन अदालतले मुद्दालाई थप गम्भीर अपराधका रूपमा व्याख्या गर्दै मृत्युदण्ड सुनाएको श्रीलंकाका विदेश मन्त्री विजिथा हेराथले संसद्‍मा जानकारी दिएका छन् ।

फैसलापछि श्रीलंकाली सरकार अनोजनको सजाय रोक्न सक्रिय भएको छ । परराष्ट्र, वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले रियादस्थित श्रीलंकाली दूतावासमार्फत साउदी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ । श्रीलंकाले कानुनी प्रक्रियाबाट मृत्युदण्ड घटाउन तथा रोक्न पहल गर्नुका साथै साउदी नेतृत्वसमक्ष क्षमा याचनाको कूटनीतिक प्रयाससमेत अघि बढाएको छ ।

अनोजनको पक्षबाट फैसलाविरुद्ध थप कानुनी अपिल गर्ने तयारी भइरहेको छ । श्रीलंकाबाट कानुनी टोली साउदी अरब पठाउने तयारीसमेत गरिएको छ। श्रीलंकाली अधिकारीहरूले मृत्युदण्डको फैसला भए पनि कानुनी प्रक्रिया अझै बाँकी रहेकाले तत्कालै सजाय कार्यान्वयन हुने अवस्था नरहेको बताएका छन् ।

यस घटनाले साउदी अरबमा सामाजिक सञ्जाल प्रयोग गर्दा स्थानीय कानुन तथा धार्मिक संवेदनशीलतालाई बेवास्ता गर्दा उत्पन्न हुन सक्ने गम्भीर कानुनी जोखिमलाई समेत उजागर गरेको छ । विदेशी श्रमिकले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिमाथि समेत स्थानीय कानुनअनुसार कडा कारबाही हुन सक्ने भएकाले सम्बन्धित देशमा रहेका आप्रवासीलाई थप सचेत रहनुपर्ने अवस्था देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर