
युवाहरूको श्रम, जोस, जाँगर, साहस र हिम्मतको उपयोग गर्न नसकेसम्म देशले विकासको बाटो लिन सक्दैन । राष्ट्रिय विकासको रथ हाँक्ने युवाशक्तिको ठुलो संख्या दिनहुँ विमानस्थलको बाटो हुँदै बिदेसिएको छ । उनीहरूले पठाएको रेमिट्यान्सले घर, परिवार र देशको अर्थतन्त्रलाई थेगेको छ । युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्न नसकेकै कारण आयआर्जनका लागि युवापुस्ता बाहिरिएको हो ।
हाम्रो देशमा श्रम गर्ने युवा उमेर समूहको संख्याको कमी छैन । बरु राज्यसँग युवा श्रमलाई देशभित्रै उपयोग गर्ने र उनीहरूलाई उत्पादनको क्षेत्रमा जोड्ने वैज्ञानिक कार्ययोजनाको कमी रहेको देखिन्छ ।
अधिकांश युवाले रोजगारीको स्थायी समाधान सरकारी सेवालाई बुझ्ने गरेको पाइन्छ । सबै जनताले सरकारी जागिर पाउने कुरा कुनै पनि देशमा सम्भव हुँदैन । सरकारी जागिरअन्तर्गत निजामती सेवा, सुरक्षा निकाय, सरकारी विद्यालय तथा विश्वविद्यालय, सरकारी अस्पताल, स्वास्थ्य संस्था, स्थानीय, प्रदेश र संघीय सरकारका अन्य सेवा पर्दछन् । उल्लिखित क्षेत्रमा रोजगारीको अवसर हाम्रो देशको जनसंख्याको आधारमा सीमित छ ।
सरकारी जागिरपछिको ठुलो सम्भावनाको क्षेत्र भनेको निजी उद्योग, व्यापार, निजी शैक्षिक संस्था, निजी अस्पताल, बैंक, बिमा, वित्तीय संस्था, होटल, मोटेल, रेस्टुरेन्ट, पर्यटन क्षेत्र, निर्माण कम्पनी, ई–कमर्स, एनजिओ, आइएनजिओलगायत क्षेत्र पर्दछन् ।
एकातिर हाम्रोजस्तो विकासोन्मुख देशले सबै नागरिकलाई रोजगारी दिन सक्दैन भने अर्कोतिर नागरिकले रोजगारीलाई सरकारी तथा गैरसरकारी क्षेत्रलाई मात्र बुझ्ने गरेको पाइन्छ । युवाहरू स्वरोजगारतर्फ आकर्षित भएको देखिँदैन । बरु वैदेशिक रोजगारीलाई विकल्पका रूपमा देख्ने गरेको पाइन्छ ।
यस सन्दर्भमा राज्यले सबैलाई रोजगारी प्रदान गर्ने सम्भावना नभएता पनि स्वरोजगार बन्ने वातावरण बनाउने काम गर्नुपर्दछ । लगानीमैत्री वातावरण, लगानीमैत्री नीतिनिर्माण, गुणस्तरीय शिक्षा, व्यावसायिक तथा प्राविधिक सीप, सहज वित्तीय पहुँच, उद्यमशीलताको पहुँच, श्रम बजारले खोजेको ज्ञान तथा सीपलगायत युवाहरूमा सिर्जनशीलताको विकास गर्न ठोस रूपमा काम गर्नुपर्दछ । यसो हुन सकेको छैन ।
देशमा राजनीतिक अस्थिरता, विकासमा सुस्तता, सुशासनको अभावजस्ता कारणले गर्दा गाउँदेखि सहरसम्मका युवाहरूले देशभित्र भविष्य देख्न नसकेको अवस्था छ । शिक्षित युवापुस्ताले सरकारी जागिर र वैदेशिक रोजगारीका लागि मरिहत्ते गर्ने मनोविज्ञानलाई बदलेर उत्पादन, उद्यम, प्रविधि र सिर्जनशीलताका क्षेत्रलाई आयआर्जनको आधार बनाउनु आजको आवश्यकता हो । युवाहरूले पनि आफ्नै माटोमा आयआर्जनका बाटा र पाटाहरूको खोजी गर्नुपर्दछ ।
देशमा बेरोजगारी एउटा ठुलो सामाजिक समस्याका रूपमा देखिएको छ । राजनीतिक दलबाट नेतृत्वमा पुग्ने व्यक्तिहरूले देश विकासको स्पष्ट मार्गचित्र तय गर्न सकेनन् । राजनीतिक नेतृत्वले विकासको जतिसुकै कुरा गरे पनि विकास योजनाको छनोट, चुस्त विकास प्रशासन र युवाजनशक्तिको परिचालन गर्ने वैज्ञानिक योजना किन बनाउँदैन ?
युवाहरूलाई स्वदेशमै आयआर्जन गर्ने अवसर नभएसम्म युवापलायन रोकिन सक्दैन । गणतन्त्रपछिको अवधिमा विदेश जाने युवाहरूको तथ्यांक हेर्दा कहालीलाग्दो छ । स्वदेशमा बाँकी भएका युवाहरू पनि बेरोजगारीले सताइएका छन् । यसरी हेर्दा राज्यले मुलुकलाई तीव्र विकासको बाटोमा अगाडि बढाउन युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्ने कार्य नगर्नु विडम्बना हो ।
रोजगारीका लागि स्वरोजगार तथा उद्यमशीलतालाई जोड दिन आवश्यक हुन्छ । हाम्रोजस्तो देशमा स्वरोजगारका लागि कृषि तथा पशुपन्छीपालनको क्षेत्र सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो । निर्वाहमुखी कृषिले युवाहरूलाई आकर्षित गर्न सकिरहेको छैन । यसर्थ कृषि क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिक प्रविधिमा जोड्नुपर्दछ । कृषि र पशुपालनलाई बीउ, प्रविधि, सिँचाइ, यान्त्रीकरण, उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसँग जोडेर आयआर्जनको क्षेत्र बनाउनुपर्दछ ।
हाम्रो देशमा पर्यटन अर्को ठुलो रोजगारीको सम्भावना बोकेको क्षेत्र हो । हिमाल, पहाड, तराई, विविध धर्म, भाषा, साहसिक गतिविधि, मौलिक जीवनशैली, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरू पर्यटकहरूका लागि महत्त्वपूर्ण क्षेत्र हुन् ।
पर्यटन क्षेत्रको विकाससँगै होटल, रेस्टुरेन्ट, यातायात, गाइड, हस्तकला, चित्रकला, स्थानीय उत्पादन, सांस्कृतिक कार्यक्रम, डिजिटल सेवा लगायतका क्षेत्रमा हजारौंको संख्यामा रोजगारी र स्वरोजगारको सिर्जना हुन सक्छ । परन्तु यस क्षेत्रको विकास हुन सकेको छैन ।
देशभित्र रोजगारीका सम्भावना अध्ययन गर्ने, खोजी गर्ने तथा अवसर सिर्जना गर्ने दिशामा युवाहरूको ध्यान गएको देखिँदैन । बरु युवापुस्ता अन्तर्राष्ट्रिय बजारमा कामदारका रूपमा पलायन भएको छ । वैदेशिक रोजगारीबाट आउने विप्रेषण हरेक वर्ष बढेको छ । विदेशमा संलग्न नेपाली श्रमिकको श्रमले राष्ट्रिय अर्थतन्त्रमा टेवा दिएको छ ।
विदेश जानु आफैंमा समस्या होइन । वर्तमान अवस्थामा वैदेशिक रोजगारीमा गएका युवाहरूको आर्थिक स्तर सबल भए तापनि दीर्घकालीन रूपमा वैदेशिक रोजगारी समस्याको समाधान होइन । वैदेशिक रोजगारीले न त व्यक्तिको स्थायी आर्थिक विकासको आधार हुन सक्दछ, न त देश विकास नै । आर्थिक विकासको आधार स्वदेशमै उत्पादनमा आधारित अर्थतन्त्र हो ।
शिक्षित युवा बेरोजगार हुनु भनेको देशको शिक्षा प्रणाली र राज्यको प्राथमिकतासँग जोडिएको विषय हो । हाम्रो शिक्षा रोजगारमूलक बन्न सकेन । विश्वविद्यालयसम्मको डिग्री हासिल गरेर पनि शिक्षित जनशक्तिमा व्यावसायिक दक्षताको अभाव हुनु भनेको शिक्षा र रोजगारी वा उत्पादनको सम्बन्ध नजोडिनु हो ।
देशमा हजारौंको संख्यामा शिक्षालय खोलिएका छन् । राज्यले शिक्षामा ठुलो लगानी गरेको पनि छ । तथापि शिक्षा व्यावसायिक तथा रोजगारमूलक बन्न नसकेको अवस्था छ । शिक्षामा परिवर्तन समयसापेक्ष हुन नसक्दा विश्व बजारमा आविष्कार भएका प्रविधिको प्रयोग गरी देशमा भएको अथाह प्राकृतिक स्रोत र साधनको उपयोग हुन सकेको छैन । रोजगारीको सिर्जना हुन सकेको छैन ।
देशका शिक्षालयबाट उत्पादित जनशक्तिमा पेसागत दक्षताको अभाव छ । स्वरोजगारमैत्री सीपको कमी छ । फलतः बौद्धिक पलायन बढ्दो छ ।
युवाहरूलाई स्वदेशमै रोक्ने उपाय भनेको उनीहरूलाई स्वदेशमै रोजगारीको अवसर दिने भन्ने भाषण वा आश्वासन होइन । बेरोजगार युवाहरूले सरकारको आश्वासनलाई विश्वास गरी पर्खेर बस्दैनन् । बरु राज्यले कृषि, पर्यटन, घरेलु उद्योग, हर्टिकल्चर, फ्लोरिकल्चर, बागबानीलगायतका क्षेत्रमा बेरोजगार युवाहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्न अल्पकालीन तालिम तथा दीर्घकालीन योजना बनाई उद्यमशीलतामा जोड दिनुपर्दछ ।
उद्यम गर्न चाहने युवाहरूलाई सहज ऋण, प्रविधि, बजार, बिमा, करसम्बन्धी सहज कानुन बनाउनुपर्दछ । विद्यालय तहदेखि नै शिक्षालाई रोजगारीसँग जोड्नुपर्दछ । यसो हुन सकेमा स्वदेशमै आयआर्जन गर्ने अवस्थाको सिर्जना हुन सक्दछ ।
अन्त्यमा, नेपाली युवाहरू रहरले बिदेसिएका होइनन् । स्वदेशमा आयआर्जन गर्न नसक्दा युवाहरू काम, माम र जीवनयापनका लागि छिमेकी वा टाढाका मुलुकमा भौंतारिइरहेका हुन् । कान्छा र बहादुरका नाममा विदेशी भूमिमा श्रम र श्री बेच्न बाध्य भएका हुन् ।
आफ्नै गाउँठाउँमा आयआर्जनका अवसर सिर्जना हुन सकेमा युवाहरू देशमै बस्न सक्ने अवस्था रहन्छ । आफ्नै गाउँघरमा आयआर्जनका व्यवसाय खोज्ने, रोज्ने र टिकाउने कार्यमा युवाहरू लाग्दछन् । रोजगारीका लागि विदेश जाने क्रम रोकिन्छ । विदेशमा भएका युवाहरू बिस्तारै फर्कन सुरु गर्दछन् ।
गाउँहरू आफ्नै उत्पादनमा आत्मनिर्भर हुन थाल्दछन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुको किनबेचको कारोबारले आर्थिक समृद्धि बढ्दै जान्छ । देशले विकासको गति लिन थाल्दछ । तसर्थ राज्यले युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रूपमा चलाउनुपर्दछ ।