२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जनतामा जानुको विकल्प छैन : प्रचण्ड

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १३:११
जनतामा जानुको विकल्प छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवम् शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन ।”

उनले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाए । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।

पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताए । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उनले उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताए । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उनले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गरे । उनले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए । 

अध्यक्ष दाहालले भने, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”

तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा शहीद भएका थिए । कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise