२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनीमा बलियो सरकार, कमजोर प्रतिपक्ष

ADV
भावना पाठक
२०८१ भदौ ५ गते ०६:३५
लुम्बिनीमा बलियो सरकार, कमजोर प्रतिपक्ष

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट ८०.४५ प्रतिशत मत पाएका छन् । 

मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले दुईतिहाइ बढी विश्वासको मत पाएका हुन् । आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीले प्रदेशसभामा जानकारी गराए । 

आचार्यलाई नेकपा एमाले र नेपाली कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी (नाउपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३/३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्य छन् । प्रदेशसभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । राप्रपा तटस्थ बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश सभामा माओवादी केन्द्रको ११ मत रहे पनि यसमध्ये सभामुखले मत दिन मिलेन भने माओवादीका एक सांसद कृष्णा केसी अनुपस्थित भइन् । माओवादीका ९ र एकीकृत समाजवादी र जनमोर्चाका एक/एक गरी विपक्षमा ११ मत खसेको प्रदेशसभाले जनाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट ८०.४५ प्रतिशत मत लिएर बलियो सरकार बनाएका हुन् । प्रभावशाली सरकार बन्दा संसदीय अंकगणितका दृष्टिमा प्रतिपक्ष कमजोर भएको छ । गत साउन ७ गते लुम्बिनी प्रदेश सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा ८०.४५ प्रतिशत विश्वासको मत प्राप्त गरेका हुन् । सरकार बनाउन भने ८७ सदस्यीय प्रदेश सभामा ४४ सांसद भए पुग्थ्यो । 

लुम्बिनी प्रदेशमा रहेका ११ दलमध्ये ७ दलका सांसदले विश्वासको मत दिएका कारण आचार्यको नेतृत्वमा बलियो सरकार बनेको हो । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिए । विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई भ्रष्टचार मुक्त प्रदेश बनाउने संकल्प गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise