२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १७:५६
राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् । राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए ।

दुई देशबीचका राष्ट्रपतिज्यका तहबाट भ्रमण भएको र विभिन्न समयमा संसदीय टोली, राजनीतिक टोली लगायतको नियमित भ्रमण भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले यस्ता भ्रमणले सांस्कृतिक विविधताबारे जानकारी हुने, विकासका नयाँ आयामहरूको विस्तार हुने र पर्यटन प्रवर्द्धनमा सघाउने बताए ।

चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । बिआरआइलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आफ्नो गहिरो विश्वास रहेको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुने बताए ।

नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ पर्यटकहरूको ठूलो भूमिका रहेको चर्चा गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान सञ्चालन गर्न सके नेपालको पर्यटन उद्योगको वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

जलवायु परिवर्तनबाट हिमाली देशहरू निकै प्रभावित भएको भन्दै अध्यक्ष दाहालले हिमाल र प्रकृति बचाउन पनि हिमाली देशहरूबीच सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताए । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन विश्व समूदायको महत्त्वपूर्ण सहयोग रहेको र त्यसमा चीनको विशिष्ट भूमिका रहेको भन्दै अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे ।

सो अवसरमा राजदूत सोङले राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमैत्री सम्बन्ध कायम रहेको भन्दै राजदूत सोङले चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाइमा उठेको बताए ।

शान्ति प्रक्रियाको बाँकी कामको रूपमा रहेको टिआरसी विधेयक संसद्बाट पारित हुन लागेकोमा निकै खुसी लागेको भन्दै राजदूत सोङले यसले नेपालको शान्ति, स्थिरता र विकासमा नयाँ फड्को हान्ने बताए ।

नेपालमा हालै निर्माण सम्पन्न भएका पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान गर्न चीन इच्छुक रहेको भन्दै राजदूत सोङले त्यसले नेपालमा चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने बताए । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise