२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिवृद्धि भएको छः परराष्ट्रमन्त्री

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १८:१५
भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिवृद्धि भएको छः परराष्ट्रमन्त्री

काठमाडौंः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छिन् । 

भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताइन् ।

मन्त्री डा. राणाले भनिन्, ‘भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।’ 

उनले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताइन् । उनले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिइन्। 

भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन् । साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा. राणाले बताइन् । 

सोही दिन मन्त्री डा. राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उनले जानकरी दिइन् । यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौं आइगेकी हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise